झगडालु पत्नीको उपचार गरिने ग्यास



केही शताब्दीअघिसम्म कोइला कारखानामा मिथेन ग्यासमा आगो लाग्नाले अनेकौँ दुर्घटना हुने गर्थे । यी दुर्घटनाका कारण मुख्य रूपमा बत्ती थिए, जो कारखानामा उज्यालोका निम्ति प्रयोग हुने गर्थे । कारखानामा आगलागी हुँदा सयौँ मजदुरको मृत्यु हुने गथ्र्याे । आगलागीबाट सुरक्षा गर्न सर हम्फरी डेबीले अभयदीप आविष्कार गरे, जसले हजारौँको ज्यान जोगायो ।

डेबी आफ्नो समयमा ब्रिटेनका चर्चित रसायनशास्त्री थिए । उनले आगलागी समस्यामाथि गहिरो चिन्तन गरे । उनले एक यस्तो सुरक्षित बत्ती विकसित गर्ने सोच बनाए, जसले अक्सिजनलाई भित्र खिच्न सक्छ तर यसको तापबाट हुने गर्मीले कारखानामा आगलागी नहोस् ।
उनलाई के कुरा थाहा थियो भने कुनै पनि बत्ती जल्नका निम्ति अक्सिजन आवश्यकता पर्छ तर बत्तीबाट निस्कने प्रकाशका कारण यसको चारैतर्फ उपस्थित ज्वलनशील ग्यासमा सामान्यतः आगो लाग्ने गर्छ । उनको मस्तिष्कमा के विचार आयो भने यदि तेलबाट जल्ने बत्तीको लौलाई कुनै तारको जालोले घेरियो भने आगो लाग्ने समस्याबाट छुट्कारा पाउन सकिन्छ । उनलाई थाहा थियो, जालीबाट लौसम्म वायु पुग्न सक्छ तर लौबाट उत्पन्न हुने गर्मी बाह्य ग्यासको सम्पर्कमा आउनुभन्दा पहिले जालीको तार उष्माको लचकताका कारण समाप्त हुनेछ ।

यसप्रकारको व्यवस्थामा बत्तीबाट निस्कने प्रकाश सामान्यतः कम नै हुने गर्छ तर जालीबाट निस्कने प्रकाश कारखानामा काम गर्ने मजदुरका निम्ति फेरि पनि धेरै थियो । डेबीद्वारा निर्मित यसप्रकारको बत्ती आज पनि प्रयोग गरिन्छ । यद्यपि, विद्युत् बल्बको आविष्कारपछि यसको प्रयोग धेरै कम भइसकेको छ ।

हिजोआज यी बत्तीको प्रयोग मुख्य रूपमा खतरनाक ग्यास छ कि छैन भनेर पत्ता लगाउनका निम्ति गरिन्छ । यी बत्तीको लौमा ज्वलनशील ग्यासको प्रभाव पर्ने गर्छ । सर हम्फरी डेबीको आविष्कार केवल अभयदीपसम्म सीमित रहेन । उनले आफ्नो वैज्ञानिक जीवन सन् १७९७ देखि आरम्भ गरेका थिए । उनले आफूलाई खतरामा हालेर बिरामीलाई बेहोश गर्न प्रयोगमा आउने पदार्थ नाइट्रस अक्साइड अर्थात् लाफिङ ग्यासमा धेरै अनुसन्धान गरेका छन् । उनले ग्यासको केही मात्रा तयार गरे, त्यसलाई रेशमको थैलीमा बन्द गरे, आफ्नो नाक खुला राखेर आधा मिनेटसम्म त्यसमा सास लिए ।

पहिले उनलाई रिंगटा लाग्यो अनि बेहोस भए । ग्यासमा सास्र लिएपछि उनलाई आफू हाँसिरहेको अनुभव भयो तर उनी छिट्टै बेहोश हुन पुगे । फेरि उनलाई एक नयाँ संसारमा पुगेको अनुभूति भयो । लाफिङ ग्यासमा सास लिँदाको आनन्दको समाचार विश्वमा फैलियो । यसरी यो ग्यासमा सास लिन एक महिला पनि तयार भइन् । केही समय सास लिएपछि उनी घरबाहिर निस्केर दौडन थालिन्, उनी एउटा कुुकुरमाथि ढलिन् । शौभाग्यवश उनलाई एक मानिसले समातेर बचायो ।

ग्यास आविष्कारपछि डेबीको ख्याति लन्डनसम्म फैलियो । यस आधारमा सन् १८०० मा उनी रोयल इन्स्टिच्युटमा प्राध्यापक भए । उनले यस ग्यासको गुणको विषयमा सार्वजनिक व्याख्या गरेका थिए । केही श्रोताले ग्यासमा सास लिए र एक विशेष अनुभवको आनन्द प्राप्त गरे । कैयौँ वर्षसम्म यस ग्यासको उपयोग मनोविनोदसम्बन्धी मेलामा भइरह्यो । झगडालु पत्नीको उपचार गर्नका निम्ति यस ग्यासलाई प्रयोगमा ल्याइयो । एक पार्टीमा हौरास वेल्स नाम गरेका एक दन्तचिकित्सकले ग्यास सुँघे । त्यस पार्टीमै डाक्टरले देखे, यो ग्यास एकजना नवयुवकलाई दिइयो ।

ऊ एउटा मेचसँग ठोक्कियो, ठोक्काइका कारण उसको पैतालाको छाला निस्क्यो । तर, उसलाई चोटको कुनै अनुभूति भएन । यस घटनाबाट वेल्सलाई विश्वास भयो यो ग्यास दाँत निकाल्नका निम्ति प्रयोग गर्न सकिन्छ । त्यसबेलादेखि दाँत निकाल्न यो ग्यास प्रयोग गर्न थालियो । यतिमात्र होइन, अनेकौँ सर्जन अपरेसन गर्नुपरेमा बिरामी बेहोश गराउ प्रयोग गर्न थालियो ।

लन्डनको रोयल इन्स्टिच्युटका अनुसन्धानकर्ता र वैज्ञानिकको ख्याति विश्वभरि फैलियो । उनले धातु रन्जन, कृषि रसायन र बोेल्टीय सैलोमाको धेरै अनुसन्धान गरे, जसबाट उनलाई अझ बढी सफलता प्राप्त भयो ।

सन् १८८० मा उनले सोडियम र पोटासियमलाई विद्युत् विश्लेषणद्वारा प्राप्त गरे । सन् १८०९ मा यही विधिबाट उनले अर्को धातु पनि पत्ता लगाए । सुहागलाई पोटासियमसँग तताएर उनले बोरोन निर्माण गरे । उनले नै क्लोरिनको रंग उडाउने क्रिया पत्ता लगाए । यसपछि उनले क्लोरिन पनि एउटा तत्व हो भन्ने कुरा पत्ता लगाए ।

सन् १८१३ मा प्रसिद्ध वैज्ञानिक फेराडेले उनको सहायकका रूपमा काम सुरु गरेका थिए । यही वर्ष दुवैजनाले युरोप यात्रा गरे । यात्राको दौरान आयोडिनको अध्ययन गरे । र, हीरा कार्बनको एउटा रूप हो भन्ने प्रमाणित गरे । त्यसपछिका वर्षमा फेराडेसँग मिलेर गरिएका अध्ययन मुख्यतः विद्युतीय चुम्बकत्वसँग सम्बन्धित थिए । त्यसपछि यी दुवै वैज्ञानिकबीच मतभेद उत्पन्न भयो ।

डेबीले एलिमेन्ट्स अफ केमिकल नामक पुस्तकको पहिलो खण्ड प्रकाशित गरे । उनले ज्वालामुखी फाट्ने र समुद्री पानीमा तामाको उपस्थितिका सम्बन्धमा अनुसन्धान गरे । डेबीलाई अनेक सम्मान र पुरस्कार प्राप्त भयो । सन् १८१२ मा उनलाई ‘सर’को उपाधिबाट विभूषित गरियो । सन् १८२० मा रोयल सोसाइटीको अध्यक्ष चुनियो ।

विभिन्न सफलता प्राप्त गर्दै अगाडि बढेका यी महान् वैज्ञानिकको २९ मई १८२९ मा निधन भयो ।

 

प्रतिक्रिया दिनुहोस्