दुई विषयमा एमए गरेका वडाध्यक्ष


‘अहेब पढें,’ काठमाडौंको बागबजारमा रहेको एक क्याफेमा भेटिएका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम खोटाङका वडाध्यक्ष रमेश तिवारीले सुनाए, ‘सिद्धार्थ वनस्थली इन्स्टिच्युटबाट १८ महिने अहेब अध्ययन पूरा गरें । ओजेटीसहित जोड्ने हो भने २१ महिनामा अहेब सकें ।’ यो संवत् २०५७/०५८ को कुरा हो ।

त्यसपछि ?

‘भरतपुर मेडिकल कलेज चितवनबाट एचए पूरा गरें,’ वडाध्यक्ष तिवारीले अध्ययनबारे बेलिविस्तार लगाए, ‘एचएको पहिलो वर्षमा आईएस्सीमा जे पढ्नुपथ्र्यो, त्यही पढ्नुपर्दोरहेछ । दोस्रो र तेस्रो वर्षमा चिरफार, बायोलोजीलगायत पढाइ जोडिँदै जान्छ ।’ एचएमा नाम निकाल्न पनि त्यति सजिलो थिएन । तर, मिहिनेत खेर गएन । यो ०५९/६०/६१ को कुरा हो ।

अनि ?

‘एमबीबीएस पढ्ने लक्ष्य थियो । एमबीबीएस पढ्न दुईपटक प्रवेश परीक्षा दिएँ । शुल्क तिरेर पढ्न सक्ने अवस्था थिएन,’ उनले थपे, ‘छात्रवृत्ति कोटामा प्रवेश परीक्षा दिएको थिएँ । तर, असफल भएँ ।’

छोरालाई मेडिकल डाक्टर बनाउने बुवाको सपना थियो । सपनाचाहिँ बुवाको मात्रै थियो कि आफ्नो पनि ? ‘मेरो पनि थियो,’ उनले वास्तविकता बताए, ‘अभिरुचि भएरै पढेको हुँ । दुवैको सपना फुलाउन सक्छु कि सक्दिनँ भन्ने चिन्ता होइन, चिन्तन गर्न छाडेको थिइनँ । बुवाका लगानी अथाह थियो । बुवाको लगानी फर्काउन मैले पनि मिहिनेत नगरेको होइन । त्यतिबेला १० लाखवरिपरि खर्च भयो ।’

‘एमबीबीएस प्रवेश परीक्षा तयारी गर्दा कठोर मिहिनेत गरेकै हो । राति धेरै समय पढ्न सकियोस्, निद्रा नलागोस् भनेर पराग खान्थें,’ उनले अतीत सुनाए, ‘राति पढ्न बसेपछि नसुतिन्जेल ५/६ वटा पराग सक्थें । कुनै पराग एक रुपैयाँ पथ्र्यो । कुनैका पाँच रुपैयाँ । दुवै मिलाएर खान्थें ।’ कहिलेकाहीं पढ्दापढ्दै उज्यालो भएको पत्तो हुँदैनथ्यो ।

एमबीबीएस प्रवेश परीक्षासँगै उनले लोकसेवा परीक्षा तयारी गर्दै गए । लोकसेवामा वैकल्पिकसम्ममा नाम निकाले । ‘मेडिकल डाक्टर बन्न नसके सरकारी जागिर खानु भन्ने बुवाको सुझाव थियो,’ उनले नढाँटी भने, ‘बुवाको दुवै सपना साकार पार्न सकिनँ ।’ उनीसँगै एचए पढेका समकक्षीमध्ये कोही काठमाडौंको ओखरपौवा ल्यान्डफिल्डमा जागिर खाइरहेका छन् । कोही स्थायी जागिरे भइसके । कतिपय करारमै कार्यरत छन् ।

दुवैतिर असफल भएपछि काठमाडौंको राम शाह पथ पुतलीसडकमा रहेको शंकरदेव क्याम्पसमा बीबीएसमा नाम लेखाए । अध्ययनसँगै अनेरास्ववियु प्रारम्भिक कमिटीमा आबद्ध भए । प्राक सदस्यदेखि सचिवसम्म भए ।

बीबीएस पूरा गरेपछि त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर (एमए) गरे । ‘राजनीतिक चेतना भए पनि राजनीतितिर लाग्नु भन्ने पारिवारिक सल्लाह थिएन । म आफैं राजनीतिमा लागें,’ ‘वेल एजुकेटेड’ वडाध्यक्ष रमेश तिवारीको भनाइ छ, ‘अध्ययनसँगै राजनीतिमा जोडिएँ । म अनेरास्ववियुको चितवन महाधिवेशनबाट केन्द्रीय सदस्य भएँ ।’

अनेरास्ववियुपछि तात्कालिक प्ररायु संघमा जोडिए । ‘प्ररायु संघका तात्कालिक अध्यक्ष अजम्बर काङमाङसँग भेट भयो । राष्ट्रिय युवा संघ सहसंयोजक रमेश पौडेल र म संघमा जोडियौं । पौडेल केन्द्रीय कमिटी र मैले कार्यालय विभाग सदस्यको भूमिका पाएँ ।’ प्ररायु संघको लहान महाधिवेशनबाट उनी केन्द्रीय सदस्य भए । लहान महाधिवेशनबाट प्ररायु संघ युवा संघ बन्यो । बुटवल महाधिवेशनमा उनले सबैभन्दा धेरै मत पाए ।

महाधिवेशन नभए पनि उनी युवा संघको केन्द्रीय सचिवालय सदस्य भए । विभागीय प्रमुख हुँदै स्थायी कमिटीसम्म पुगे । त्यहाँदेखि अहिलेसम्म राजनीतिक यात्रा धरमर भएको छैन । वडाध्यक्षसँगै उनी राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य र नेकपा खोटाङ जिल्ला कमिटी सदस्यको भूमिकामा छन् ।

पढेपछि जागिर खानैपर्छ भन्ने नहुँदोरहेछ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका वडाध्यक्ष रमेश तिवारीले अहेब, एचएमात्रै अध्ययन पूरा गरेनन्, दुई–दुई विषयमा स्नातकोत्तर तहको अध्ययन पार लगाए । हलेसी तुवाचुङ नगरपालिकाका जनप्रतिनिधिमध्ये दुई विषयमा स्नातकोत्तर गर्ने सम्भवतः उनी एक्ला वृहस्पति हुन् । राजनीति गर्ने मानिस पढेलेखेका हुँदैनन् भन्नेको मुख उनले बुझो लगाइदिएका छन् ।

राजनीतिमा नलागेका भए उनी हिजोआज कुनै अस्पतालमा एचएको भूमिका देखिन्थे । महिनैपिच्छे आकर्षक पारिश्रमिक थाप्थे । त्यतिमात्रै कहाँ हो ? समाजशास्त्र र राजनीतिशास्त्रका विद्यार्थीलाई ‘लेक्चर’ दिइरहेका हुन्थे । तर, उनी सबै–सबै त्यागेर राजनीतिक दौडको लामो यात्रामा निस्केका छन् । यात्रीलाई यात्राबारे जानकारी छँदै छ । यात्रा सुखद, अर्थपूर्ण बनाउन उनी लागिपरेकै छन् ।

प्रतिक्रिया दिनुहोस्