काठमाडौंदेखि भक्तपुरसम्म यात्रा गर्दा बसमै खाजापानी



काठमाडौं उपत्यकामा सार्वजनिक बसमा तपाईंको यात्रा कस्तो हुन्छ ? खचाखच ठेलामठेल हुनेगरी सिट क्षमताभन्दा बढी यात्रु, यात्रु भित्र ठेल्दै अनि ओराल्दै गर्ने सहचालक, सहचालकलाई धेरै यात्रु बोलाउन हौस्याउने चालक, बसभित्र असरल्ल सुन्तला, बदामका बोक्रा, पानीका बोतल र धूलो । यात्रुले भोग्ने प्राय समस्या यिनै हुन् ।

काठमाडौं भक्तपुर रुटमा गाडी चलाउने एक यस्ता चालक भेटिए, जो चालक नभई सरसफाइ अभियानकर्मी हुन् कि भन्ने जोकोहीलाई लाग्न सक्छ । काठमाडौं बागबजार बसपार्कबाट गाडी छुट्न लाग्दा आफ्नो सिटबाटै सानो माइकमा उद्घोष गर्छन्, ‘यहाँहरूलाई स्वागत छ । सूचना/प्लेकार्डको सन्देश पढ्नुहोला । गाडीमा पानी, चाउचाउको पनि व्यवस्था छ । पैसा तिरेर किन्न सक्नुहुन्छ । तर, फोहोर ढोका नजिकैका डस्टबिनमा राख्नुहोला । धन्यवाद ।’

यति भन्दै गर्दा यात्रु भित्र पसेपछि गाडीको ढोका आफैं बन्द हुन्छ । बसमा सहचालक छैन । हँसिलो मुहारसहितको उनको यो स्वागत तथा जानकारी सुन्दा लाग्छ– यो यात्रुलाई विशेष सुविधासहितको डिलक्स बस हो र कतै कुनै पर्यटकीय क्षेत्रमा घुम्न लैजाँदै छ । तर, त्यसो होइन । यो त सामान्य मिनिबस हो– बा४ख २७२४ नम्बरको, जुन काठमाडांै बागबजारबाट नयाँबाटो भक्तपुर, क्यान्सर हस्पिटल हुँदै व्यासी रुटमा चल्दै आएको छ ।

यी बस चालक भक्तपुरका गंगाराम खाइजू हुन् । दुई दशक अनुभवपछि उनले यो नयाँ प्रयोग गरेका हुन् । सन्देशमूलक प्लेकार्डले भरिभराउ उनको यो बसमा खानेपानी र चाउचाउ पनि उपलब्ध छ । खान मनलाग्ने जोकोही यात्रुले किनेर खान सक्छन् । तर प्लास्टिकका बोतल, चाउचाउको खोल भने बसभित्र फ्याँक्न मनाही छ । उनको बसको अघिल्तिर भित्ताको प्लेकार्डमा लेखिएको छ, ‘फलफूल, कुरकुरे, लेज, बदाम तथा अन्य खाद्यवस्तुबाट बोक्रा, प्लास्टिकजस्ता फोहोर वस्तु डस्टबिनमा हाली आफूलाई सभ्य नागरिकको पहिचान दिऊँ ।’

पानी प्रतिबोतल २० तथा चाउचाउ प्रतिप्याकेट २० मा उपलब्ध छ । यो बसमा चाउचाउको खोल, बदामको बोक्रा, प्रयोग गरेको पानीको बोतल राख्न चालक खाइजूले ढोकाछेउमा डस्टबिन पनि राखेका छन् ।

तपाईंकोमा सहचालक छैन नि भन्ने प्रश्नमा उनले भने, ‘गाडीको ढोका अटोमेटिक खुल्छ, बन्द हुन्छ । उनले सहचालक राख्न छाडेका छन् । सहचालक राख्दा यात्रु ढोकामा झुन्डिने, ढोकानिर बढी भीड हुने र दुर्घटना पनि हुन सक्ने भएकाले मैले स्वचालित ढोका प्रयोगमा ल्याएँ ।
‘गाडीबाट निस्कने फोहोर धूलो जथाभावी नफालौं, प्रत्येक गाडीमा डस्टबिन प्रयोग गरौं, व्यवसायी चालक सहचालकज्यूहरूलाई अनुरोध गर्दछु । धन्यवाद,’ यो बसका अरू सन्देशमूलक प्लेकार्ड यस्ता छन्, ‘गाडीभाडा आफू चढेको ठाउँ भनेर चालकलाई दिनुहोला । एक हजार तथा ५०० को रकम भए खुद्राका लागि पहिल्यै चालकलाई भन्नुहोला ।’

खाइजूको जानकारी तथा सन्देशले यात्रुलाई रमाइलो नलाग्ने कुरै भएन । बसका यात्रु सुजन सुवेदी भन्छन्, ‘म यो बसमा दोस्रोपटक यात्रा गर्दै छु । म यी प्लेकार्डमा लेखिएका सन्देशबाट निकै प्रभावित भएँ ।’ अर्की यात्रु निशा मगर भन्छिन्, ‘मलाई यी सन्देश पढ्दा निकै रमाइलो लाग्यो । वास्तवमा सबै बसमा यस्तै हुनुपर्ने हो । यसबाट हामी यात्रु पनि सुध्रनुपर्छ जस्तो लाग्छ ।’

चालक खाइजू आफू काठमाडौं उपत्यकाको फोहोर देखेर दिक्क लागेको बताउँछन् । उनी थप्छन्, ‘यदि हरेक व्यक्तिले आ–आफ्नो ठाउँबाट सरसफाइका लागि सानो प्रयास गरे पनि राम्रो हुन्छ जस्तो लाग्छ ।’

 

 

प्रतिक्रिया दिनुहोस्