नुन धेरै प्रयोग गरे विष



नुन भान्छामा नभई हुँदैन । तर, धेरै पनि हुनुहुँदैन भन्ने विचार गर्नुपर्छ । नुन नभएको खाना कति बेस्वादिलो हुन्छ विचार गर्नुस् त ? तर, धेरै नुन भएपछि फेरि अनेक समस्या आइपर्छन् ।

पंक्तिकारले दुई वर्षअघि देखि ढिकेनुन प्रयोग गर्न थालिन् । एकजना पोषणविद्ले मलाई ‘आयो नुन’मा हाम्रो शरीरलाई चाहिनेभन्दा बढी आयोडिन हालिएको छ भनेपछि मेरो भान्छाबाट ‘आयो नुन’ हट्यो ।

टीभी विज्ञापनमा कहिलेकाहीं आउँछ, ‘के तपाईंको मन्जनमा नुन छ ?’ मन्जनमा नुनको प्रयोग हुने कुरालाई धेरैले अचम्मका रूपमा लिन्थे होलान् । तर, दाँत स्वस्थ राख्न नुन औषधि मानिन्छ । गिजा दुखेको बेला मनतातो पानी र नुनले कुल्ला गर्नु भन्ने कुरा यही कारणले हो ।

प्राचीनकालदेखि मासु र खानेकुरालाई लामो समयसम्म सुरक्षित राख्न नुन प्रयोग गरिन्थ्यो । ग्रीक सभ्यतामा नुनलाई यति धेरै महत्व दिएको थियो कि दासहरूको किनबेच पनि नुनमा हुन्थ्यो । प्राचीनकालमा पनि रोमन सिपाहीलाई तलब दिँदा नुन पनि सँगै दिइन्थ्यो भन्ने कथन छ ।

मंगोलियाका मानिस सुन, चाँदीसँग नुन साट्थे । नेपालमा पनि पहिले भोटबाट नुन ल्याइन्थ्योे । प्रायः प्याकेटका खानेकुरामा नुन धेरै हुन्छ । तर, हामीलाई थाहा हुँदैन । स्वास्थकर्मीहरू भन्छन्, ‘नुनको बढी प्रयोग गर्न हुन्न ।’

विशेषगरी प्याकेटमा राखिएका खानेकुरामा नुन बढी भएकाले नखाएकै बेस । तर, खानेकुरा बनाउने कम्पनीचाहिँ स्वीकार्दैनन् । खानेकुरामा नुन बढी प्रयोग गर्दा नुन नै विष बन्छ ।

एकातिर बढी नुनले स्वास्थ्यमा समस्या ल्याउँछ । तर, नुन चिनी पानीले पखाला लाग्दा जीवन बचाउँछ भन्ने कुरा त सर्वविदितै छ । लामो समय हिँडेपछि थकाई लागेका बेला पसिना धेरै जाँदा नुन र कागती पानी प्रयोग गरिन्छ । थाकिने, पिडौंला बाँउडिन्छ । त्यो बेलामा अलिकता पानीमा अलिकति नुन र कागतीको रस हालेर खाए शरीरमा फुर्ती आउँछ ।

गाउँघरमा आधुनिक (औषधि नपाउँदा) मनतातो पानीमा नुन हालेर घाउ सफा गर्ने चलन छ । रुघाखोकी लाग्दा, घाँटी दुख्दा मनतातो पानीमा नुन हालेर दिनमा चार/पाँचपटक घाँटीमा गार्गिल गर्दा दुख्न कम हुन्छ । दाँत गन्हाउँदा, गिजाबाट रगत आउँदा, नुन, बेसार र अलिकति तोरीको तेल लिएर मुख कुल्ला गर्ने र मिदुणले गिजा सफा गर्दा फाइदा पुग्छ ।

नुन औषधि र प्रयोग गर्न नजान्दा विष पनि हो । यसको विभिन्न किसिमका प्याकेटका खानेकुरा चिफ, चाउचाउ, बिस्कुट आदिमा पनि पर्याप्त नुन हुन्छन । यस्ता खानेकुरा प्रयोगले शरीरमा बढी नुन पुर्याउँछन् ।

रक्तचाप, मिर्गौलाका समस्या भएका व्यक्ति, घरमा खाना खाँदा खानेकुरामा नुन कम खान्छन् । तर, बाहिरका खानेकुरामा भएका नुनको चाहिँ वास्तै गर्दैनन् । टिनका बट्टामा राखेका खानेकुरा लामो समय सुरक्षित राख्न नुन प्रयोग गरिन्छ । त्यस्ता खानेकुराले हानि पुर्याउँछ । मिर्गौलाको समस्या भएकालाई झन् बढी समस्या पार्छ ।

नुन औषधि पनि

कहिलेकाहीं केही तातो खानेकुरा खाएपछि मुखभित्र पोल्छ । त्यो बेलामा मनतातो पानीमा अलिकति नुन हालेर एक/दुई घण्टामा कुल्ला गर्नाले आराम हुन्छ । नाक बन्द भएको बेलामा मनतातो पानीमा अलिकता नुन (नुनको आँसुको स्वादजति) मात्र हुनुपर्छ ।

नाकमा थोपाथोपा गरेर हाले नाक चाँडै खुल्छ । यो आँसुको स्वादजस्तो भएको पानी साना नानीहरूको नाकमा हाल्दा फाइदा हुन्छ ।

यसैगरी मोजा र खुट्टा गन्हाउनेका लागि नुन प्रयोगले धेरै मद्दत गर्छ । मोजा फुकालेपछि मनतातो पानीमा नुन हालेर खुट्टा भिजाउने र औंलाको कापमा समेत नुन दल्ने र केही बेर तातो पानीमा खुट्टा राखेपछि सुक्खा पार्नाले खुट्टा गन्हाउन कम हुन्छ ।

जुका लाग्ने ठाउँमा जानुअघि टिमुर र नुनको धुलो हातखुट्टामा दल्नाले जुका लाग्न धेरै कम हुन्छ । थाक्दा पनि मातातो पानीमा नुन हालेर नुहाउनाले शरीरको दुखाइ कम हुने अनुभव धेरैले गरेका हुन्छन् ।

रुघाखोकी लाग्दा तातोपानीमा नुन हालेर बाफ लिँदा शरीर हलुको हुन्छ । नाक बन्द भएको खुल्छ । गर्भवतीले वाकवाक लाग्दा कागती र अलिकति नुन चाट्नाले कम हुन्छ । बसमा यात्रा गर्दा वाकवाक गर्नेलाई कागती र नुन खानाले केही कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्