घरैमा बसी–बसी ट्याक्टर निर्माण



दुर्छिम (साल्तेम्मा) । हलोजस्ता काठे औजार धेरैले बनाइएकै हुन्छन् । तर, फलामलगायतका मेसिनरी औजार बनाउने काम हाम्रो क्षमताबाहिरको जस्तो मानिन्छ ।

यस्तो सोच्नुभएको छ भने मार्चिन जकुबोस्कीले गलत साबित गरिदिएका छन् । जकुबोस्कीले खेतबारीमा प्रयोग गरिने ट्याक्टर निर्माण गर्न सकिने प्रविधि विकास गरेका छन् । नेपालजस्तो कृषिप्रधान भनिएको देशका लागि यो असाध्यै खुसीको कुरा हो ।

हिजोआज गाउँघरमा गोरु पाल्ने पातलिँदै गएका छन् । किनभने काम गर्न सक्नेसमेत पैसा कमाउन बिदेसिने गरेका छन् । अपवादबाहेक घरमा रहने बूढाबूढी, महिला, केटाकेटीले यो काम गर्न सक्दैनन् ।

मार्चिनले ६ दिनमा ट्याक्टर निर्माण गरेका छन् । उनले निर्माण गरेको ट्याक्टर बनाउन कति खर्च लाग्छ ? यसको डिजाइन कस्तो हुन्छ ? कसरी बनाउने भन्ने विवरण युटुबमा समेत राखिदिएका छन् ।

ओपन सोर्स इकोलजीका संस्थापक प्राविधिक उनी आफैं किसान पनि हुन् । उनले भिडियोमा ५० थरी त्यस्ता कृषि औजार र मेसिन बनाउने तरिका राखेका छन् । त्यो हेरेर हामी पनि त्यस्तै मेसिनरी औजार निर्माण गर्न सक्छौं ।

आफूलाई कृषि सामग्रीका इन्जिनियर बताउने उनले सुरुमा ट्याक्टर किनेर ल्याए । त्यसलाई खोलखाल गरे । फेरि कसकास गरे । फेरि खोले । फेरि कसकास गरे । थुप्रैपटक खोल्ने र कस्ने गरेपछि उनले सस्तो र सजिलोगरी ट्याक्टर बनाउन सकिन्छ भन्ठाने ।

नयाँ मेसिन र औजार बनाएका उनीद्वारा निर्मित ती औजार किसानबीच लोकप्रिय बन्दै छन् । युटुबमा मार्चिन जकुबोस्की भिडियो सर्च गरेर उनको प्रविधिसम्बन्धी आविष्कार हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्