मागेर आमा पाल्ने ६ वर्षीया बालिकालाई आश्रममा पुर्याउँदा


गङ्गा पोखरेल

पहिलो दिन

साँझको ७ बजिसकेको थियो । ६/७ वर्षकी नानी मेरो पसलको ढोकामा उभिइन् । उनले भनिन्, ‘आन्टी १० रुपियाँ दिनुस् न ।’ मैले दिएँ । पैसा पाएपछि उनले पुनः भनिन्, ‘आन्टी हजुरको छोरीको कपडा भए दिनुस् न ।’ म अलमलमा परें । पुरानो कपडा पसलमा थिएनन् । पसलमा भएको नयाँ लेहेङ्गा दिएँ । नयाँ लुगा पाउँदा उनी खुसी देखिन्थिन् । उनको मुहारमा देखिएको खुसी शब्दमा व्यक्त गर्न कठिन हुन्छ । मैले उनलाई हेरिरहें । उसको खुट्टामा चप्पलसमेत थिएन । भोलि आऊ म तिमीलाई चप्पल ल्याइदिन्छु भनें ।

दोस्रो दिन

नभन्दै दोस्रो दिन खुसी हुँदै उनी मेरो पसलमा देखापरिन् । उनलाई देखेर म पनि खुसी भएँ । उनको वास्तविकता बुझ्न मन लाग्यो । मैले राखेको जिज्ञासा उनले यसरी बताउँथिन् कि मानौं वर्षौं अघि छुट्टिएर भेटिएका आफन्तजस्तो गरी । उनकै मुखारविन्दबाट उनको वास्तविकता सुन्दा मन अमिलो भयो । सात वर्षीया बालिकाले भोगेको तीतो यथार्थ सुन्दा मलाई उकुसमुकुस भयो । निर्मला, सम्झनालगायत दुव्र्यवहार खेपेका नानीहरूको निर्दोष अनुहार आँखाभरि घुम्न थाल्यो ।

आश्रममा पुर्याइएकी बालिकासँग लेखक ।

कुराकानी चलिरहँदा उनले भोक लाग्यो भनिन् । चाउचाउ पकाइदिन्छु खान्छ्यौ भन्दा हुन्छ भनिन् । मैले उनलाई हातमुख धुन लगाएँ । त्यसपछि चाउचाउ खान दिएँ । हजुरको त हातै मीठो भन्दै उनले प्रतिक्रिया दिइन् । उनले चाउचाउ खाँदा मैले हेरिरहें । आज मलाई माग्न जानै मन लागेन भन्दै उनी मसँग टाँस्सिन आइपुगी । मलाई के गरूँ, के गरूँ भयो । पसलमा ग्राहकको भीडभाड लाग्न थाल्यो । ग्राहकको सेवामा व्यस्त भएँ । उनी बाहिरिइन् ।

साँझको ७ः३० बजिसकेको थियो । उनी मेरो पसलमा हाजिर भइन् । आज म हजुरको घरमा बस्छु नि भनेर जिद्दी गर्न थाली । मलाई के गरूँ, के गरूँ भयो । म तिमीलाई तिम्रो घरसम्म पुर्याइदिन्छु हिँड भन्दा उनी राजी भइन् । उनले भनेजस्तै गरी मैले स्कुटर गुडाएँ । मागिहिँड्ने उनलाई आफ्नो घरसम्म पुग्ने जाने बाटोसमेत थाहा नहुँदोरहेछ । ६ मिनेटमा पुगिने बाटो उनले स्कुटरमा ४५ मिनेट यात्रा गराइन् । छोटो बाटो थाहा नभएपछि उनी घुमाउरो बाटो प्रयोग गर्दै आउने जाने गर्दिरहिछन् । स्कुटरमै ४५ मिनेट लाग्छ भने उनी दैनिक कति किलोमिटर पैदल यात्रा गर्छिन् भनेर लख काट्न गाह्रो हुन्छ । दैनिकजसो त्यति लामो दूरीको पैदल यात्रा एक्लै गर्दा केटा मानिससँग डर लाग्छ भन्दा म सोचमग्न भएँ ।

उनको घर खोलाकिनारमा रहेछ । स्कुटरमा आएको देखेपछि उनका साथी र छिमेकीले उनलाई ट्वाल्ल परेर हेरेका थिए । उनीचाहिँ दंग परेकी थिइन् । जस्तापाताले बारेको अँध्यारो चिसो कोठा । कोठाभित्र दुई÷तीनवटा बाल्टिन, अलिकति लत्ताकपडा र खाना बनाउने सानो भाँडाबाहेक केही देखिनँ । आमा सुतिरहेकी थिइन् । मलाई देखेर उठेपछि भनिन्, ‘यसले नै पालेकी छे ।’ उनकी आमाको साँचो कुरा सुनेर मन भारी भयो । आफूले दिनभरि मागेर संकलन गरेकी रुपैयाँ आमाको हातमा राखिदिई । मन भारी बनाउँदै म त्यहाँबाट बिदा भएँ । बच्चीले बाहिर निस्केर मलाई देखुन्जेल हात हल्लाइरही ।

तेस्रो दिन

म पसलमा आइपुग्दा मेरो बाटो हेर्दै उनी पसलबाहिर चिसो भुँइमा बिहानैदेखि सुतिरहेकी रहिछन् । म आत्तिएँ । लगत्तै पसलभित्र लगेर तातो पानी पिउन दिएँ । मरिच राखेको तातो चिया खान दिएँ । तातो पानी तताएर नुहाइदिएँ । उनी पखालेको मुलाजस्तै सफा र राम्री देखिइन् । उनकै लागि भनेर केही कपडा ल्याएकी थिएँ । नुहाइदिएपछि सफा लुगा लगाइदिएँ । हतार–हतार खाना बनाएर ख्वाएँ । म आफूलाई थाहा थिएन म के गर्दै छु भनेर । उनी असाध्यै खुसी भई । ‘मलाई माग्न जानै मन छैन,’ अनि भन्न थाली, ‘पैसा मागेर घरमा नलगे पिटाइ खानुपर्छ ।’ त्यसो भन्दै उनले मलाई छाड्नै मानिनँ ।

लेखक पोखरेलद्वारा उद्धार गरिएकी बालिका ।

मैले उनलाई माग्न जाऊ भन्न सकिनँ । आफूसँगै लैजान पनि मिल्दैनथ्यो । के गरूँ, कसो गरूँ भयो । कुनै अनाथ आश्रममा लगेर राखिदिँदा कमसेकम नमागी दुईछाक खान र आरामले बस्न सक्लिन् भन्ने लाग्यो । उनलाई पेट पाल्नभन्दा आफ्नो शरीर कसरी जोगाउने भन्ने चिन्ताले पिरोलेको थियो । उनको पीडाले मलाई दुखाइरह्यो । उनको आश्रयका लागि एक आश्रम सञ्चालकसँग कुरा गरें । त्यहाँबाट सकारात्मक उत्तर आएन । त्यसपछि कदम नेपालकी अध्यक्ष इन्दिरा आचार्यसँग प्रस्ताव राखें । आचार्य बहिनीले आश्रय दिन सक्ने बताएपछि उनलाई त्यो रात त्यहीं राखिदिएँ ।

चौथो दिन

भोलिपल्ट उनलाई लिएर प्रहरी प्रशासन पुगें । इलाका प्रहरी कार्यालय बुटवल पुगेर डीएसपी सापलाई वास्तविकता सुनाएँ । आमालाई बोलाएर कुरा गर्दा उनले छोरीलाई स्याहार गर्न नसक्ने बुझियो । सानी नानीलाई माग्न पठाउन पाइँदैन भन्ने निष्कर्षसहित उनलाई बालबालिका संरक्षण गर्ने संस्थाको जिम्मामा लगाउने भनेर कदम नेपालको सहयोगमा कोटिहवाको अविनाश अनाथ आश्रममा राख्ने पक्कापक्की भयो । आफूमात्रै होइन, मागेर आमासमेत पाल्नुपर्ने उनले कमसेकम दुईछाक तातो खान, आरामले सुत्न र पढ्न पाउने भएकी छन् । त्यस्तो सुविधा पाउने भएपछि उनीसमेत खुसी छिन् ।

आफ्नो पसलमा आइपुगेकी नानीलाई सफा गराएपछि फेरि फोहोरमा जाऊ भन्न सकिनँ । ६/७ वर्षकी नानीले सहारा माग्दा दिन्न भन्न मनले मानेन । मैले यो काम अन्जानमै गरें । मलाई थाहा थिएन, माग्न आउने दिन उनलाई मैले आश्रमसम्म पुर्याउँछु भनेर सोचेकी थिइनँ । उनका कुरा सुनेपछि नसुनेजस्तो गर्न पनि त सकिनँ । उनलाई एकपटक हातमुख धोएर खाना खान भनेपछि माग्न जाऊ भन्न कसैगरी सकिनँ । यसरी सडकमा मागिहिँड्ने एउटी अन्जान नानीलाई नेपाल अविनाश अनाथ आश्रममा कोटिहवामा राख्न सफल भएँ ।

यस्तो काममा मलाई सहयोग गर्ने कदम नेपालकी अध्यक्ष इन्दिरा बहिनी, डीएसपी प्रतीतसिंह राठौर सर र अविनाश अनाथ आश्रमका अध्यक्ष कृष्ण ज्ञवाली सरलाई हार्दिक धन्यवाद दिन्छु । नानीको भविष्य उज्ज्वल होस् । हार्दिक शुभकामना ।

प्रतिक्रिया दिनुहोस्