स्थायी शिक्षकको जागिर छाडेर राजनीतिमा ‘होलटाइमर’



‘त्यतिबेला एसएलसी उत्तीर्ण गरेकै थिइनँ,’ एमाले कोसी प्रदेश कमिटी सदस्य खडेन्द्र राईले विगत सम्झे, ‘तर, मैले श्री दूधकोसी प्राथमिक विद्यालय बाहुनीडाँडा जयराममा पढाउँथे ।’ यो संवत् २०४२ सालको कुरा हो । शिक्षक राईले त्यहाँ ६ महिना पढाए ।

शिक्षण पेसा छाडेपछि लाहुरे बन्ने सपना देखे । देखेको सपना फुलाउन, फलाउन दुई/चार वर्ष त्यतै मिहिनेत गरे । देखेको सपना पूरा भएन । मिहिनेत खेर गयो । ०४७ वैशाखदेखि दूधकोसी प्राथमिक विद्यालय जयराममै पुनः पढाउन थाले । त्यतिबेला उनले एसएलसी गरिसकेका थिए । दोस्रोपटक त्यहाँ तीन वर्ष पढाए । त्यहीं पढाउँदा–पढाउँदै स्थायी भए । यो ०५० सालको कुरो हो ।

स्थायी शिक्षक भएपछि दोर्पा पुगे । त्यहाँ डेढ वर्ष पढाए । त्यहाँबाट डाँडागुठ हलेसी आए । डाँडागुठमा तीन वर्ष पढाएपछि घरपायक दामोदर महासिं प्रावि दुर्छिम आइपुगे । यो ०५६ सालको कुरा हो ।

‘आफूसम्बद्ध पार्टीले मलाई ०५६ मै जिल्ला कमिटी सदस्य बनायो । पार्टी अध्यक्ष विशाल भट्टराई हुनुहुन्थ्यो,’ उनले बेलिविस्तार लगाए, ‘०६० मा भएको एमाले जिल्ला अधिवेशनले मलाई उपसचिव निर्वाचित गर्यो । विशाल माननीय सचिव हुनुभयो ।’

राजनीति र शिक्षण पेसाले निरन्तरता पाउँदै गयो । ‘पार्टीको जिल्ला उपसचिव भएपछि नैतिक संकट आइलाग्यो । जागिर खाने कि छाड्ने भन्ने दोधारमा परें,’ उनले प्रस्ट्याए, ‘पार्टीसम्बद्ध नेताले जागिर छाड्न लगाए । त्यसमध्ये परशु लिम्बू (धितुङ) पनि हुनुहुन्थ्यो । सबैको सल्लाह–सुझावअनुसार जागिर छाडें । जागिर छाड्ने निर्णय गर्न अप्ठ्यारो परेन ।’

संवत् ०६१ म जागिर छाडेपछि राजनीतिमै ‘होलटाइमर’ बने । जागिर छाडेको ६ महिनापछि पार्टी उपसचिवको भूमिका छाड्नुपर्यो । ‘बबि चाम्लिङ, कुमार आचार्य, अकिल राई, जुद्ध पुलामीमगर, प्रदीप राईलगायत १७ जना एमालेमा आउने भएपछि मैले उपसचिवको भूमिका छाड्नुपर्यो,’ उनले जानकारी गराए, ‘बबि चाम्लिङलाई उपसचिव दिँदा त्यो समूह आउने भएपछि मैले नै त्याग गर्नुपर्यो । उहाँहरू माले, एकीकृत कम्युनिस्ट पार्टी हुँदै एमालेमा आउनुभयो । उपसचिव छाडेपछि म जिल्ला कमिटी सचिवालय सदस्यमात्रै रहें । यहाँसम्म आइपुग्दा ०६२ साल लागिसकेको थियो ।’

एसएलसी उत्तीर्ण नगरी पढाउन थाले । त्यसपछि लाहुरे बन्न लामबद्ध भए । पुनः पढाउन थाले । स्थायी शिक्षक भए । स्थायी शिक्षकबाट राजनीमा दिएर एमाले खोटाङ उपसचिव भए । छँदाखाँदाको जागिर छाडेर जिल्ला उपसचिव रोजेको ६ महिनामै पाएको भूमिका त्याग्नुपर्दाको कथा खनिखोस्री साध्ये छैन । तर पनि, उनी कहिल्यै दुःखी भएनन् । जे हुन्छ, राम्रैका लागि हुन्छ भन्ने उनको सकारात्मक सोचले राजनीतिक उचाइ लिँदै गयो ।

जागिर छाडेपछि आर्थिक संकट पर्नु अस्वाभाविक थिएन । आर्थिक संकट हुँदा जागिर नछाडेको भए हुन्थ्यो भन्ने लाग्थ्यो । छँदाखाँदाको जागिर छाडेर राजनीतिमा लागे पनि घरपरिवार चलाउनै थियो । ‘ठेक्कापट्टातिर लागें,’ उनले नढाँटी सुनाए, ‘रुकुम, रोल्पासम्म पुगेर गरेको ठेक्कापट्टाले उँभो लगाएन । झन्डै चार वर्ष त्यता मिहिनेत गरें । ठेक्कापट्टाले उँभो लगाउन नसकेपछि ०७० तिर छाडें ।’

तर पनि राजनीति कहिल्यै छाडेनन् । माओवादी शान्ति प्रक्रियामा आइसकेको थियो । ‘त्यतिबेला माओवादी नेता तथा कार्यकर्ताले दुव्र्यवहार गरे । वैचारिकमात्रै होइन, भौतिक टसल पर्यो,’ उनले थपे, ‘जयराममा टसल परेको थियो । तर, उनीहरूले नै माफी मागे । ०६३ मा भएको टसललाई सामान्य दुर्घटना ठानेको छु ।’

कहिलेकाहीं व्यर्थैमा राजनीतितिर लागियो भन्ने पनि लाग्छ । पार्टीमा गरेको लगानी सम्झँदा उत्साहित बनाउँछ । आर्थिक अभावभन्दा पार्टीमा गरेको लगानी महत्वपूर्ण ठानिन्छ । ‘०३६ मा भूपेन्द्रकुमार राई र खम्बराज राईहरूले अखिलको सदस्यता लिन लगाउनुभयो,’ उनले विगत कोट्याए, ‘मैले लिएँ । त्यहाँदेखि कम्युनिस्ट बनेको हुँ । अहिले पनि छँदै छु ।’

०४६/४७ मा पहिलो जनआन्दोलन जारी थियो । त्यतिबेला बहुदल र निर्दलको जनमतसंग्रह हुन्छ होला भन्ने उनलाई लागेको थियो । ‘हामी बहुदलको पक्षमा उभिनुपर्छ है भनेर गाउँठाउँका युवालाई आह्वान गर्दै हिँड्थें,’ उनले अतीत सम्झे, ‘जनमतसंग्रह नगरी बहुदलीय व्यवस्था प्राप्त भयो । हामी कम्युनिस्ट पार्टीमा लाग्यौं । तर, कुन कम्युनिस्ट पार्टीमा लाग्ने भन्ने थाहा थिएन । बुझ्दै जाँदा हाम्रो नेता झलनाथ खनाल हुनुहुँदोरहेछ । त्यो माले रहेछ ।’

राजनीतिमा थुप्रै हिउँद, वर्षा झेलेका खडेन्द्र राई एमाले कोसी प्रदेश कमिटी सदस्य हुन् । त्यत्तिकै परिपक्व नेता पनि । यस्ता परिपक्व नेता हिजोआज पनि कृषिकर्ममा पसिना बगाउँदै आएका छन् । ‘कृषिमा लागेपछि आनन्द लागिरहेको छ । कृषिमा आम्दानी धेरै हुँदैन । ऋणको पीर पनि नहुने । कृषिमा लागेको थुप्रै भए पनि व्यावसायिक रूपमा श्री भुमा कृषिफर्म ०७७ बाट थालेका छौं,’ व्यावसायिक कृषि र राजनीतिलाई सँगसँगै डोर्याइरहेका राईले गर्व गरे, ‘२७ रोपनी जग्गा भाडामा लिएका छौं । सात रोपनीमा तरकारी खेती गरिरहेका छौं । आवश्यक परेको–परेको बेला दुई–चारजनाले रोजगारी दिएका छौं ।’

व्यावसायिक तरकारी खेतीले उँभो लगाएकै छ । तरकारी खेतीमा बगाएको पसिनाले घरपरिवार चलाउन सजिलो भएको छ । पसिनाको गीत गाएर जीविकोपार्जन गर्नुको मज्जा उनलाई मात्र थाहा होला । ‘यसपटक ?,’ उनले यथार्थ खोले, ‘गोलभेंडा, काउली, बन्दा, साग, बोडी बेचें । मैले बेचेको तरकारी छापडाँडा, हलेसी, अर्खौले, महुरे, नुनथला, हुर्लुङ हुँदै दिक्तेलसम्म पुग्छ । दसैंताका काठमाडौं र लहान पनि पठाउँछु ।’

प्रतिक्रिया दिनुहोस्