परमाणु बमका जन्मदाता



सोमबार १६ जुलाई १९४५ को त्यो दिन, जब बिहान ५ः३० बजे विश्वको प्रथम परमाणु बम परीक्षण गरियो, त्यो घटनालाई कसैले पनि बिर्सन सक्दैन । यसको परीक्षणका निम्ति अमेरिकाको लास अलाभोसबाट दुई सय मिल टाढा अलेमोगार्डको उत्तरको मरुभूमिलाई चयन गरियो ।

परमाणु बमको परीक्षणका निम्ति, एक पहाडी भू–भागमा ३२ टन भार भएको सय फिट उँचो धातुको धरहरामा बम राखिएको थियो । यस परीक्षणलाई हेर्न हजारौँ मानिस धेरै टाढादेखि आएका थिए । निर्धारित समयमै बम विस्फोट भयो । एउटा भयानक आवाजका साथै सम्पूर्ण क्षेत्रमा प्रकाश फैलियो ।

नौ मिलको दूरीमा नियन्त्रण कक्षमा बसेका ओपनहिमरलाई गर्मीको अनुभूति भयो । बम विस्फोटले चालीस हजार फिटको उचाइमा धूवाँको विशाल बादल बन्यो । एक सय फिट उचाइ भएको धरहरा ध्वस्त भयो । जमिनको माटो पग्लेर काँचमा परिवर्तन भयो । एक मिलसम्मको दूरीमा सम्पूर्ण जीवजन्तु मरे । कहाँसम्म भने जमिनमुनि लुकेका सर्पलगायत अन्य जीवजन्तु पनि मरे । २० देखि ३० मिलको दूरीमा रहेका पशुका रौँ निस्किए । यो विस्फोटलाई करिब चार सय ५० मिल टाढासम्मका मानिसले देखेका थिए । ओपनहिमरको रेखदेखमा निर्मित यस बमको कथित् सफलताले सम्पूर्ण विश्व कम्पायमान र भयभित भएको थियो ।

मानिसलाई केवल परीक्षणबाट सन्तोष प्राप्त भएन । द्वितीय विश्वयुद्ध चलिरहेको थियो । जापान युद्धमोर्चामा लडिरहेको थियो । जापान कसैका सामु घुँडा टेक्न तथा आत्मसमर्पण गर्न तयार थिएन । ७ अगस्त १९४५ मा युरोनियमबाट निर्मित परमाणु बम अमेरिकाले जापानको हिरोसिमा नगरमा खसाल्यो । यो बम बीस हजार टनबराबरको थियो । यो परमाणु बमलाई १८०० फुटको उचाइबाट विस्फोटन गराइयो, जसबाट ८० हजार मानिसको तत्कालै मृत्यु भयो । करिब ७० हजार मानिस घाइते भए । यस सहरको बर्बादीलाई देखेर कस्तो लाग्ने गथ्र्याे भने मानौँ, मानव सभ्यताको विनाश भइरहेको छ ।

कति क्रूर मानव, यो दृश्य देख्नेले यस्तै भन्थे । अमेरिकालाई यति भयंकर र डरलाग्दो विनाशबाट पनि शान्ति मिलेन । त्यसको तीन दिनपछि अर्थात् ९ अगस्टमा प्लुटोनियमबाट निर्मित अर्को बम जापानको नागासाकीमा खसाल्यो । यसबाट करिब ४० हजार मानिसको मृत्यु भयो । २५ हजारबढी मानिस अंगभंग र घाइते भए । यी डरलाग्दा र वीभत्स दृश्य देखेर जापानले १० अगस्ट १९४५ मा विनाकुनै सर्त घुँडा टेक्यो । यस दृश्यलाई देखेर ओपनहिमरको हृदय रोयो । उनले आफ्नो त्यागपत्र अमेरिकी सरकारलाई दिए । उनले भने, ‘म हतियार निर्माता होइन ।’

अमेरिकाले ओपनहिमरलगायतका वैज्ञानिकलाई नराम्रो तरिकाले प्रयोग गर्यो । वास्तवमा ओपनहिमर परमाणु बम परीक्षणमा मात्र सीमित राख्न चाहन्थे । उनले स्वयम् परमाणु बम निर्माण गरेका थिएनन् । न त परमाणु बम बनाउने सिद्धान्तको प्रतिपादन गरेका थिए । यो त कैयौँ वैज्ञानिकको मेलमिलापको परिणाम थियो । यद्यपि, ओपनहिमर परमाणु बम निर्माण गर्ने वैज्ञानिकहरूको समितिको अध्यक्ष थिए । यसकारण उनलाई परमाणु बमको जन्मदाता पनि भनिन्छ । परमाणु बमको निर्माण तथा सिद्धान्त प्रतिपादन गर्नमा ओपनहिमरका साथै ओटोहन, कैम्पटन, फर्मी, सजिलार्ड, आइन्स्टाइन आदि मुख्य थिए ।

ओपनहिमरको जन्म २२ अप्रिल १९०५ मा भएको थियो । उनका पिता जर्मनीनिवासी थिए । आमा र बाबु दुवै यहुदी परिवारका थिए । उनको परिवार धनी, सभ्य र दयालु थियो । बालक ओपनहिमर पढ्नमा मेधावी थिए । उनी पाँच वर्षको हुँदा एकपटक उनको बाजेले केही चट्टानका टुक्रा दिए, जसबाट भूगर्भविज्ञानमा उनको रुचि जागृत भयो । उनकी आमाले उनलाई चित्रकला र संगीत सिकाइन् । उनको अभिलाषा एउटा शिल्पी बन्ने थियो । जब उनी सात वर्षका भए, त्यसबेला उनले आफ्नो विचार परितर्वन गरे ।

कवि बन्ने इच्छाले कविता लेख्न थाले । उनको मनपर्ने खेलौना सूक्ष्मदर्शक यन्त्र थियो । उनलाई मनपर्ने खेल तरल पदार्थको निरीक्षण गर्नु र स–सानो जीवाणुलाई पहिचान गर्नु थियो । ओपनहिमरको शिक्षा राम्रो स्कुलमा भयो, जहाँ उनमा आत्मनिर्भरताको भावना विकास भयो । युवावस्थामै उनले फ्रेन्च, स्पेसिन, इटालियन र ग्रीक भाषा सिकेका थिए । उनी १२ वर्षका थिए, त्यसबेला उनलाई एउटा क्लबमा भाषणका निम्ति आमन्त्रण गरियो ।

आमन्त्रण गरिएपछि उनी निकै डराए । उनले आफ्ना पितासँग यो कुरा राखे । पिताले सम्झाएपछि उनी निश्चित समयमा क्लबमा भाषणका निम्ति गए । उनको भाषण मैनहेटनमा पाइएका चट्टानसँग सम्बन्धित थियो । उनले भाषण दिए । उनको भाषण प्रभावशाली रह्यो र क्लबको पत्रिकामा छापियो । उनी १७ वर्षको हुँदा ओपनहिमर उनका मातापिता अमेरिका गए । १९ वर्षको उमेरमा ओपनहिमर शिक्षा प्राप्तिका लागि हावर्ड विश्वविद्यालय भर्ना भए । उनले स्नातकको परीक्षामा जति अंक प्राप्त गरे, त्यति अंक विश्वविद्यालयमा पहिले कसैले पनि प्राप्त गरेका थिएनन् । उनका भौतिकविज्ञानका शिक्षकले भनेका थिए, ‘ओपनहिमरले भौतिकविज्ञानलाई मात्र होइन, सम्पूर्ण विश्वलाई नै हल्लाउनेछन् ।’ नभन्दै उनले विज्ञान र सम्पूर्ण विश्वलाई नै हल्लाए ।

हावर्ड विश्वविद्यालयबाट उनी इंग्ल्यान्डको प्रसिद्ध कैविन्डिस प्रयोगशालामा कामका निम्ति गए । त्यहाँ उनले इंग्लान्डका अग्रणी भौकिवादीसँग काम गरेका थिए । सन् १९२९ मा उनी क्यालिफोनिर्या विश्वविद्यालयमा आए, जहाँ सन् १९३३ मा उनलाई एसोसियट प्रोफेसरमा नियुक्त गरियो । त्यहाँ उनले आणविकविज्ञानमा अनेकौँ प्रयोग गरेका थिए ।

सन् १९४१ बाट ओपनहिमर अमेरिकाको परमाणु बम निर्माण गर्ने योजनामा लागेका थिए । मई १९४२ मा उनी परमाणु विकसित गर्ने प्रोजेक्टको कोअर्डिनेटर बने । त्यही वर्ष उनलाई परमाणु बम निर्माण गर्ने मैनहेटन प्रोजेक्टको चिफ साइन्स डाइरेक्टर बनाइयो । सन् १९४३ मा लास अलमोसमा ओपनहिमरको रेखदेखमा परमाणु बम निर्माण गर्ने वैज्ञानिकहरूको टोली बनाइयो ।

परमाणु बम कसरी निर्माण गरियो, त्यो कुरा अहिलेसम्म पनि गोप्य राखिएको छ । तर, रात–दिनको कठोर परिश्रमबाट वैज्ञानिकहरूको समूहले ओपनहिमरको रेखदेखमा परमाणु बम निर्माण गर्यो, जसको १६ जुलाई १९४५ मा परीक्षण गरियो । द्वितीय विश्वयुद्धपछि उनले लास अलमोसमा आफ्नो पदबाट राजीनामा दिए ।

सन् १९४७ मा ओपनहिमरलाई परमाणु ऊर्जा विभागको अध्यक्ष बनाइयो । सन् १९५० मा युद्धकार्यका निम्ति उनलाई विशेष सम्मान गरियो । सन् १९६३ मा उनलाई परमाणु ऊर्जा विभागको ऐनरीकोफर्मी पुरस्कार दिइयो । अमेरिकामा यो पुरस्कारलाई उच्च पुरस्कारको रूपमा लिइन्छ ।

सन् १९६७ मा यी कर्मठ र लगनशील वैज्ञानिकको निधन भयो ।

प्रतिक्रिया दिनुहोस्