हलेसीसँग नेपाललाई पाल्ने सामथ्र्य



हलेसी मेरो निर्वाचन क्षेत्रमा पर्छ । त्यसैले गौरवान्वित छु । खोटाङभित्र हलेसी छ । र, ऊ पनि गौरवान्वित छ । मलाई शंकै छैन हाम्रो प्रदेश, हाम्रो देश आफूभित्र विद्यमान हलेसीको स्वर्णिम इतिहास र वैभवशाली भविष्यसँग चिरपरिचित छ । उनीहरू पनि पक्कै हलेसीसँग गौरवान्वित छन् । सोध्नै परेन, हलेसीकै जनता हलेसीसँग कति गौरवान्वित होलान् ? लेख्नका लागि मात्र होइन, मसँग अनुभूतिमात्र होइन, यसका थुप्रै दसी–प्रमाण पनि छन् । देशभित्र थुप्रै–थुप्रैपटक आफूलाई खोटाङे भनेर चिनाउँदा धेरै मानिसले मसँग हलेसी खोजेका छन्, हलेसी सोधेका छन् । तपाईंको घर हलेसीबाट कता पर्छ ? हलेसीबाट कति टाढा पर्छ ? यी स्वाभाविक प्रश्नको घेराबन्दीमा म पटक–पटक परेको छु । यी स्वाभाविक प्रश्न नै हुन् तर कुनै–कुनै बेला खोटाङ हलेसीभित्रै पर्छ, हलेसीले नेपाललाई पाल्ने सामथ्र्य बोक्छ ।

राजन राईले हलेसी विकासका लागि अब के गर्ने ? हलेसी विकासका लागि सरकारको तर्फबाट हलेसी महादेवस्थान विकास समिति बनेको छ । त्यसको अधिकार, बजेट र क्रियाकलापले के सिद्ध भइसकेको छ भने यसबाट हलेसीको समग्र विकास सम्भव छैन । त्यसैले केन्द्र सरकारले जिम्मा लिएको हलेसीका लागि पशुपति विकास कोष वा लुम्बिनी विकास कोषजस्तो आफ्नै ऐनबाट सञ्चालन हुने स्वायत्त संस्थागत संरचना तत्काल निर्माण गरिनुपर्छ । यस संस्थाले स्थानीय नगरपालिकाको पहल र सक्रियतामा निर्माण हुँदै गरेको गुरुयोजना परिष्कृत परिमार्जित गरी स्वामित्व लिएर अघि बढ्नुपर्छ ।

प्रदेश सरकारले संघीय सरकार र स्थानीय सरकारसँग मिलेर आफूले सक्ने योजना थाली हाल्नुपर्छ । स्थानीय सरकारले ठोस योजना तर्जुमा गरी आफूले स्थानीय तहबाट गर्न सक्ने काम गर्नुपर्छ । यसरी सबै पक्ष मिलेर काम गर्न अब ढिला गर्नुहुँदैन । समयमै काम अघि बढे यसले समग्र अर्थतन्त्रलाई भरथेग गर्न सक्ने राम्रो सम्भावना देखिन्छ । मानव सभ्यता विकासको प्रारम्भिक चरणमा त्यहाँको आदिम मानव जाति किरातीले कृषिको सुरुवात गरेको ठाउँ, कपडा बुन्ने उद्योग प्रारम्भ गरेको थलोका रूपमा समेत चिनिने तायचुङ, जायजुङ हलेसीनजिकै पर्छ । जुन महादेव गुफाबाट लगभग दुई किलोमिटरको दूरीभित्रै अवस्थित छ ।

मैले यी सन्दर्भ यस अर्थमा उल्लेख गर्न खोजेको हुँ कि हलेसी संसारको तीनवटा धार्मिक स्थलको असाधारण संगमस्थल हो । यो तपोभूमिको प्रचार, सम्बद्र्धन र प्रवद्र्धन गर्न सके विश्वको कुल जनसंख्याको १५ प्रतिशत रहेको हिन्दु धर्मावलम्बी, ७ प्रतिशत रहेको बुद्धिष्ट धर्मावलम्बीमध्ये ०.१ प्रतिशत मात्र पर्यटक ल्याउन सके र नेपाल तथा छिमेकी मुलुकमा रहेका किरातबीचमा प्रचार–प्रसार गर्न सके यसले हलेसीलाई मात्र होइन, मुलुकका निम्ति समेत महत्वपूर्ण आर्थिक योगदान दिन सक्छ ।

हलेसीको महत्वपूर्ण तर हामीले ध्यान नदिएको वा दिन नसकेको अर्को पाटो कृषि हो । विगतका दिनमा तुलनात्मक रूपमा कम महत्व दिइएको असाध्य महत्वपूर्ण औषधीय गुण भएको खाद्यान्न गहत, त्यसैगरी नगदेबाली सुर्ती र बदामको अत्यन्तै उर्वर जमिन पनि हो हलेसी । विगतका दिनमा प्रायः हेलाँहोचो गरिएको दलहन बाली गहतलाई चिकित्साविज्ञानले कतिपय रोगको अचुक औषधिका रूपमा प्रयोग गरेपछि यसको माग निकै वृद्धि भएको छ ।

लेखक

खोटाङका अन्य भू–भागमा नफल्ने वा कम फल्ने यो बालीलाई हलेसीले व्यावसायिक रूपमा उत्पादन गर्न सक्छ । अझै पनि मुलुकको कुल गार्हस्थ उत्पादनको पहिलो हिस्सा ओगट्ने खेतीको नगदेबालीमध्ये हलेसीको सुर्तीलाई चुरोट पारखीले रुचाउने गरेका छन् । हाम्रो मुलुकको चुरोट कारखानाका निम्ति ठूलो परिमाणमा सुर्ती आयात गर्ने गरिएको छ । व्यवसायिक रूपमा यहाँ सुर्ती उत्पादन गरेको अवस्थामा वैदेशिक सुर्ती आयात केही हदसम्म रोक्ने, वैदेशिक मुद्रा बचत गर्ने र किसानको जीवनस्तरमा गुणात्मक सुधार ल्याउन सकिन्छ ।

बाटोघाटोको पहुँच क्रमिक रूपमा ववृद्धि हुँदै गइरहेको अहिलेको सन्दर्भमा यसले त्यहाँका किसानको जीवनस्तरमा आमूल सुधार ल्याउन सक्छ हैन ? भन्ने जस्ता प्रश्नले पनि मलाई हैरान बनाउन छाडेको छ । यसलाई मैले स्वनभाविक रूपमा ग्रहण गर्न थालेको छु । उदयपुरको घुर्मी बजारमा दिशासूचक होर्डिङ बोर्डमा उदयपुर, सिन्धुली, ओखलढुङ्गा र हलेसी लेखिएको सूचना सायद धेरैले पढेको हुनुपर्छ । मैले एकपटक त्यहाँ ड्युटीमा रहेको प्रहरीलाई ठट्टा गर्दै सोधेको थिएँ, ‘भाइ यो कसले बनाएको बोर्ड हो ? म हलेसीको उन्नयनमा लागिरहनेछु ।
फरक यत्ति हो, हामीले हाम्रो परम्परागत कृषि शैलीलाई तुलनात्मक रूपमा सुधार्न भने जरुरी छ । हिजोको जस्तै एक दाम्लो भैंसी, एक हलगोरु, केही माउ कुखुरा वा कुखुराका चल्ला, दुई पाथी धानको बीउ खेत, चार/पाँच हल मेलोको पाखो बारीबाट उत्पादन हुने वा गरिने परम्परागत खेती शैलीलाई रूपान्तरण गर्न जरुरी छ । सहकारी वा सामूहिक पद्धतिमा ठूलो स्केलमा गहत, सुर्ती, बदामको खेती वा उत्पादन गर्न किसानलाई सरकारले प्रोत्साहित गर्न सकेको अवस्थामा खोटाङको जीवनमा हलेसीले निकै ठूलो योगदान दिन सक्छ ।

हलेसीको असाध्यै सम्भावना केमा पनि देखिन्छ भने हलेसी तुवाचुङ नगरपालिकामा अवस्थित साबिकका दुर्छिम, बडहरे, च्यास्मिटार र हलेसी महादेवस्थान गाविसमा नेपालकै ठूलो परिमाणमा चुनढुंगा खानी रहेको प्रमाणित भएको छ । पछिल्लो समय नेपाल सरकारले चुनढुंगाको गुणस्तर, यसको परिमाणको प्रारम्भिक अनुमानले हामी सबैलाई निकै खुसी दिएको छ । विशेषज्ञले गरेको अध्ययनले मुलुकभित्रकै अत्यन्तै गुणस्तरीय चुनढुंगा हो भन्ने तथ्य अनौपचारिक रूपमा बताएका छन् । उनीहरूको भनाइ वस्तुगत भए यहाँको चुनढुंगाबाट हजार टन दैनिक उत्पादन गर्ने १० वटा सिमेन्ट कारखानाले अनवरत रूपमा काम गर्दा पनि पाँच सय वर्ष पुग्ने सिमेन्टको कच्चा पदार्थ हलेसी तुवाचुङसँग छ । यो निकै ठूलो परिमाणको सिमेन्ट उत्पादन गर्ने चुनढुंगा खानीले मुलुककै आर्थिक रूपान्तरणका निम्ति असाध्यै ठूलो स्रोत हो, जसले प्रारम्भमा चर्चा गरेअनुसार हलेसी वा खोटाङले मात्र होइन, मुलुकको आर्थिक उन्नतिका लागि ठूलो योगदान दिन सक्छ । यद्यपि, यसले खोटाङको पर्यावरणमा पुर्याउन सक्ने असरका सन्दर्भमा हामीसँग आवश्यक गाम्भीर्यतामा समेत गर्छ ।

सन् १९११ मा प्रारम्भ गरेको फर्पिङ जलविद्युत आयोजनाको इतिहास जोड्दा नेपालमा जलविद्युत्को इतिहासले ११० वर्ष पूरा गरेको छ । यो अवधिमा दुई वर्षअघिको तथ्यांकलाई आधार मान्दा लगभग १,२०० मेगावाट विद्युत् हामीले उत्पादन गर्न सकेका छौं । त्यस आर्थिक वर्ष विभिन्न ३६ जलविद्युत् आयोजनाबाट उत्तिकै परिमाणमा विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिन गइरहेको छ ।

नेपाल सरकारले निर्माण गर्न लागेको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजना नेपालकै ठूलो जलविद्युत् परियोजना हो । ६३५ मेगावट क्षमताको यो आयोजनाको अनुमानित लागत २ बिलियन डलर रहेको छ । रावाबेंसीको रँभुवाघाटबाट सुरुङमार्फत हलेसी तुवाचुङको धितुङमा पावरहाउस निर्माण हुन गइरहेको आयोजनाको डीपीआरको चरण समाप्त भएको छ । आयोजनाले समग्र मुलुकलाई योगदान र हलेसीले प्राप्त गर्ने लाभांश यो ठाउँको उन्नयनका लागि महत्वपूर्ण हुनेछ ।

समग्रतामा हलेसीसँग पर्यटन, कृषि, खानी र जलविद्युत्को असाधारण क्षमता रहेको छ । हामीले राजनीतिक स्थायित्व निर्माण गर्दै जनताको मिहिनेतका आधारमा हलेसीलाई मात्र होइन, हलेसीमार्फत खोटाङ र समग्र मुलुकको आर्थिक उन्नयनमा महत्वपूर्ण सहयोग पुर्याउन सक्छौं । एउटा जनप्रतिनिधिको हैसियतले म अविश्रान्त रूपमा यसको उन्नयनमा लागिरहनेछु ।

प्रतिक्रिया दिनुहोस्