प्रगतिशील प्रमोद



‘साइनो कला केन्द्रले स्थापनाकालदेखि संगीत सिकाउँदै आएको छ,’ काठमाडौंको भृकुटीमण्डपमा भेटिएका साहित्यकार प्रमोद श्रेष्ठले सुनाए, ‘संवत् २०७४ फागुन १ मा स्थापित केन्द्रको उद्देश्य नै संगीत सिकाउनु थियो ।’

प्रतिनिधिसभा सांसद विशाल भट्टराईको बाहुलीबाट उद्घाटन गरिएको दुई वर्षपछि केन्द्रले नृत्य प्रशिक्षणसमेत थाल्यो । ११ रोपनी जग्गा भाडामा लिएर दिक्तेलमा निर्मित भवनमा संगीतमा ‘भोकल’ र वाद्यवादअन्तर्गत गितार, हार्मोनियम र मादल बाह्रै महिना सिकाइन्छ । कुनै पनि विधाका एक समूहलाई एक घन्टा प्रशिक्षण गराइन्छ ।

विश्वव्यापी कोरोना महामारीअघि साइनो कला केन्द्रको रुटिन यस्तै थियो । महामारीअघि र पछिको रुटिनमा धेर–थोर फेरबदल भएको छ ।
‘नेपाली गीत–संगीतमा खोटाङ उर्वर भूमि मानिन्छ,’ साहित्यकार श्रेष्ठले थपे, ‘साहित्यमा पनि खोटाङेको उपस्थिति लोभलाग्दो छ । अग्रजको विरासत कायम राख्न साइनो कला केन्द्र स्थापना गरेका हौं । मन मिल्ने पाँचजनाको सपना साइनो कला केन्द्रमार्फत लोभलाग्दो तरिकाले फुलिरहेको छ ।’

सपना ठूलै देख्नुपर्छ भन्ने भनाइ छ । ‘सुरुमा संगीत विद्यालय खोल्ने प्रस्ताव राखें । मेरो प्रस्ताव सुन्ने साथीहरूले सहमत जनाउनुभयो,’ उनले प्रस्ट्याए, ‘संगीत विद्यालयभन्दा कला केन्द्रका रूपमा विस्तार गर्न अग्रजले सुझाउनुभयो । उहाँहरूको सल्लाह–सुझाव शिरोपर गर्यौं ।’

हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले खोटाङनिवासी प्रमोद श्रेष्ठको पाँच/सातवटा गीत रेकर्ड भएका छन् । पार्टीले जनसांस्कृतिक महासंघको जिम्मा दिएको छ । श्रेष्ठ महासंघको खोटाङ अध्यक्ष हुन् । उनी र उनको समूहले साइनो कला केन्द्र स्थापना गर्ने निश्चित भएपछि आर्थिक रूपमा मजबुत हुनैपर्यो । केन्द्र स्थापनाअघि जनसांस्कृतिक महासंघबाट देउसी खेले । यो संवत् २०७४ सालको कुरा हो । देउसी खेलेर १ लाख ७१ हजार रुपैयाँ संकलन भयो । तर, ४५ हजार रिहर्सलमा खर्च भयो । ‘बाँकी रुपैयाँ बचायौं,’ उनले विगत कोट्याए, ‘अझै १ लाख चाहिने भयो । अपुग रकम सञ्चालक समितिमा रहेका पाँचजनाबाट २०/२० हजार संकलन गरेका थियौं ।’

सञ्चालक समितिमा प्रमोद श्रेष्ठले अध्यक्षको भूमिका निर्वाह गर्दै आएका छन् । युनिक राई, शुभचन्द्र राई, कुसुम आचार्य र भक्त विश्वकर्मासहितको सञ्चालक समितिले उदाहरणीय काम गरेकै छ ।

केन्द्र स्थापनासँगै प्रचार–प्रसार बाक्लै भयो । विद्यार्थी भर्ना भए । ‘क्वालिटी मेन्टेन्स गर्दै गयौं,’ उनले खुसी व्यक्त गरे, ‘जिल्लाका अधिकांश गायन प्रतियोगितामा साइनो कला केन्द्रका विद्यार्थीले उपाधि हात पार्थेे ।’

साइनो कला केन्द्रले केही समयअघि ‘साइनो स्टार’ प्रतियोगिता गरेको थियो । धेरै राशिका यो जिल्लाकै पहिलो र ठूलो सांगीतिक प्रतियोगिता भनेर केन्द्रले दाबी गरेको छ । ‘जिल्लामा अहिलेसम्म भएका प्रतियोगिताभन्दा धेरै राशि रहेको थियो,’ उनले जानकारी गराए, ‘त्यतिमात्रै होइन, काठमाडौंमा रहेका खोटाङका सबैजसो स्थापित कलाकार सहभागी गरायौं । प्रतियोगिताको अर्को विशेषता भनेको निर्णायकलाई ६० र भोटिङलाई ४० प्रतिशत अधिकार दिएका थियौं ।’

भक्त विश्वकर्माले संगीत सिकाउने कला केन्द्रमा सञ्जीव राईले नृत्य सिकाउँछन् । कला केन्द्रले गति लिएकै छ । उसले तीनजनालाई रोजगारी दिएको छ । विद्यार्थीबाट उठ्ने शुल्क मुख्य आयस्रोत हो । ‘केन्द्रले चलाएको अभियान सफल बनाउन मनकारीले उपहार दिन छाडेका छैनन्,’ उनले स्वीकारे, ‘कतिपयले आर्थिक सहयोग गर्नुहुन्छ । त्यसलाई आम्दानी स्रोत मानेका छौं । केन्द्रबाट सालिन्दा देउसी–भैलो खेल्छौं ।’ र पनि, साह्रोगाह्रो परेको बेला सञ्चालक समितिसम्बद्धले खल्तीबाटै पैसा हाल्नुपर्छ । बैठक हुँदा कहिल्यै संस्थागत खर्च गरिँदैन ।

‘प्रधानमन्त्री केपी शर्मा वलीले साइनो कला केन्द्र स्थापनालगत्तै व्यक्तिगत रूपमा दुई लाख रुपैयाँबराबरको संगीत विद्यालयलाई चाहिने सामग्री हस्तान्तरण गर्नुभएको थियो,’ उनको भनाइ छ, ‘प्रदेश सरकारले समेत वाद्यवादन खरिदका लागि आर्थिक सहयोग गरेको थियो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आर्थिक सहयोग गर्दै आएको छ । जिल्लाका प्रतिष्ठित व्यक्तिबाट सहयोग मनग्य पाएकै छौं ।’
साइनो कला केन्द्रको सपना क्रमशः फुल्दै गएको छ । सपना फुलाइरहन प्रमोद श्रेष्ठ र उनको समूहको अथक प्रयास खेर गएको छैन । केन्द्रलाई खर्चेको समयबाहेक उनी साहित्यअन्तर्गत कविता, गीत र गजल लेख्छन् । ‘नेपालीका चोटहरू’ कवितासंग्रह सार्वजनिक भएको धेरै भइसकेको छ । गजलसंग्रहको तयारी थालिसकेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी हलेसी तुवाचुङ नगर कमिटी कार्यालय सदस्यसमेत रहेका उनी जीविकोपार्जनका लागि बालसेवा समाज नेर्पामा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्