छौवा गर्ने विधि हलेसीकै ‘रियल’



किरात राई चाम्लिङ समुदायले सालिन्दा भदौमा गर्ने पितृ अर्पण पूजालाई छौवा भनिन्छ । किरात राईलगायत आदिवासी र खस–आर्य समुदायमा समेत पितृकार्य गर्ने संस्कार छ । गर्ने तरिका, गर्ने समय, चढाउने सामग्री, फलाक्ने भाषा र भन्ने तरिका छुट्टाछुट्टै भए पनि आसय पितृपूजा नै हो । खोटाङको हलेसी भेगमा आज फलानोको घरमा ‘पितृ’ हान्ने रे/गर्ने रे भन्ने चलन पनि छ । धेरैले यसलाई न्वागी पनि भन्छन् । खस–आर्य समुदायमा सोह्रश्राद्ध (सोह्रसराद/सराद्दे) भनी पितृतर्पण तिथिमितिले गर्दा भदौमै पर्छ । यसलाई ‘उँधौली लाग्यो है’ भनेर संकेतका रूपमा बुझिन्छ ।

छौवा कसरी सुरु भयो ?

मुन्दुम (मुद्दुम)को लय समातेर मन मन्थन गर्ने हो भने छौवाको वर्णनमा मानव विकास, जीवनपद्धति र मृत्युपछिको आत्मसम्मान पाउँछौं । मानवशास्त्रीहरूले आफ्नो अध्ययनमा मानव विकास कसरी भयो ? त्यसमा फरकपन/विभिन्नता कसरी र के–कस्तो आयो ? भन्ने विषयमा बताएका छन् । मानव असभ्यबाट अर्धकृषि, सिकार गरिखाने र बिस्तारै पूर्णकृषिका साथै सभ्य युगमा कसरी रूपान्तरण भयो भन्ने विषयमा पनि अध्ययनको निचोड दिएका छन् । उनीहरूको अध्ययनको वर्णनसँग हाम्रो मुन्दुमी लय पनि मिल्न जान्छ । हाम्रो पुर्खा घुमन्ते, फिरन्ते जीवन व्यतीत गर्थे । सिकारी युग (जहाँ खेतिपाती सुरु भएकै थिएन)मा हाम्रो पुर्खाले जीवन बचाउन अनेक जंगली खानेकुराका अभ्यास गरे । त्योक्रममा विषालु खानेकुराका कारण कति पुर्खा बितिगए । यस्तै, अभ्यासबाट पछिल्लो समय मानिसले खान हुने/नहुने पत्तो पाए । बितेका आत्मा पछि नछुङसँग पनि देखापरे । र, मान खोजे । जीवितलाई सताए । यसैले उनै आत्मिक सृष्टिकर्ता, कर्मदाता, ज्ञानका मुहान पुर्खालाई सम्झेर उनीहरूलाई प्रत्येकपटक नयाँ अन्न मुन्दुमी विधिले छौवामा चढाउन सुरु गरियो ।

छौवा गर्दा चाहिने सरदाम

(१) नयाँ घैयाको चिउरा, चामल (बुङ्चाम), वाइबु–रों (ढिकीमा कुटेको नयाँ घैयाको चामल) ।

(२) नयाँ पादुर कोदोको जाँड, डालोमा पाथीचाम ।

(३) नयाँ अदुवाको गानो, बोट ।

(४) गोरुको मासु (गोरुको मासु कानुनले वर्जित भएकाले भैंसीको चलाउने चलन छ) ।

(५) नयाँ तामा काटेर चाना बनाएको तामाको तुसा ।

(६) चिन्डो (वाबु), सोलिमा, छैत्यनारिया (भिन्त्या), काँसाको बटुको ।

(७) नाङ्लो ।

(८), वारी–मेरी, ङाप्छिबुङ, ङोला, तिखिया–ताखिया ।

(९) लोकल कुखुराको अन्डा ।

(१०) कटारी (तरवार) साम्भाताली, मुखिताली (गुर्थी÷धनुकाँड) ।

(११) नाम्जा (झोला) ।

(१२) नयाँ घैयाको बाला सातवटा ।

(१३) कडा काठको दाउरा बाल्ने (तीन चुलामा) ।

(१४) घर लिप्न रातो चोखो माटो (बिहान घरका महिलाले चोखोनितो गरी लिप्ने) ।

(१५) चोखो पातको टपरी गाँस्ने ।

माछाक्मा

चाम्लिङ खाम्बातिमले किरात राई यायोक्खा कार्यालय परिसर कोटेश्वरमा गरेको सामूहिक छौवा । तस्बिर : कविचन्द्र राई

उँभौलीमा साम्खा गर्दा होस् वा उँधौलीमा छौवा गर्दा सर्वप्रथम माछाक्मा गर्नुपर्छ । घरचिम्ता (धामी बसाउने) राख्दा पनि माछाक्मा बोलाउनुपर्छ । आफ्नो जातबाहेकका नछुङ बसाउनअघि माछाक्मालाई यस्ता नछुङ, म यसकारण बसाउँदै छु है भनी बक्साउनुपर्छ । नत्र गडबड हुन सक्छ । माछाक्मा घरमुली मिच्नुङ (बाबुको पद) लगाएकाले मात्र पुज्न/भन्न मिल्छ । तर, अति अप्ठ्यारो परेको बेला वंशभित्रका जान्नेले धर्म नछोडी गर्न मिल्छ ।

माछाक्माले घरभित्र वा बाहिरका मानिसलाई कुटेमा वा पिरेमा त्यही घरमुलीले हकार्न पर्छ । हकार्दा खुकुरी, बन्चरो, हँसिया, कच्चे चाहिन्छ । घरमुलीले बल, बुद्धि, सुरक्षा, स्वास्थ्य, अर्थ, आयु र उत्पादनमा आशिष माग्छ । त्यसपछि मात्र नछुङको पूजा वा चिम्ताको बाटो खुल्छ । माछाक्मा गर्ने तरिका, चाहिने सरदामबारे फेरि–फेरि लेखिनेछ ।

गर्ने तरिका र व्यक्ति

यो मिति, यो दिनमा छौवा गर्ने भनी नछुङको टुंगो हुन्छ । पितृ गर्ने दिन बिहान रातो माटोले घर चोखोनितो गरी लिपेपछि घरमुलीले माछाक्मा गर्छन् । त्यसपछि छौवा पितृ गर्न पित्रेधामी आउँछ । धामी आइसकेपछि साम्खादायामा कडा काठको आगो बालिन्छ । चुलाको तल्लोछेउमा नाङ्लोमाथि केराको पात राखिन्छ । केराको पातमाथि दायाँ–बायाँ वाइबु–रों पस्केर राखिन्छ । त्यसैनजिक चिउरा, पकाको तामा, तिखिया–ताखिया (जडीबुटीजन्य पत्ता संकलन गरी पकाएर दुनामा राखिन्छ), गोरुको मासु, छैत्यमा नारियामा जाँड राखेर केराको पातले छोप्ने । दुई वाबु (चिन्डो)मा जाँड भरेर मेरीको पात मुखमा सिउरिने । चुला कुनामा वारी–मेरी चढाउने, ङाप्चिबुङ ठड्याउने ।

नछुङले हातमा कर्कली, कटारी, सोलिमा र बटुकोमा चढाउने जाँड, बेछु र चिउरा चामल लिने । घरमुलीले एउटा नाम्जामा चिउरा, बेछु बोक्ने, जाँड भरेको सोलिमा, बेछु, चिउरासहित हातमा धनुकाँड, गुर्थी लिने । एउटा टपरीमा चामलमाथि अन्डा राख्ने । यति भएपछि छौवा गर्न मुन्दुम फलाक्न सुरु हुन्छ । सुरु भएपछि दुई फैतुङमा सकिन्छ । यसमा मुख्य भूमिका नछुङ, घरमुली र वैतुङको रहन्छ । यसबेला दाजुभाइ, दिदीबहिनी, नातेदार बोलाइन्छन् ।

निखाली र इसाखालीको प्रसंग

राम्रो मरण भएको र धामीको विधिमा पुगेकालाई पित्रमा लगाइन्छ । जसलाई निखाली भनिन्छ । मरण नराम्रो भयो र धामीको विधिमा नपुगेकालाई पित्रमा लगाइँदैन । जसलाई इसाखाली भनिन्छ । छौवामा निखालीलाई चुलामा बोलाएर नयाँ अन्न चढाइन्छ । सम्मान गरिन्छ । तर, इसाखालीलाई बोलाएर बलेसीमै खानेकुरा दिइन्छ । यो एउटा वंशावलीको आधार पनि हो ।

चाम्लिङ खाम्बातिमले किरात राई यायोक्खा कार्यालय परिसर कोटेश्वरमा गरेको सामूहिक छौवा । तस्बिर : कविचन्द्र राई

वाइबु–रों अभाव, केटाकेटीको हर्ष

विकास नपुगेका गाउँ, कुलोमाथिको खेतीका कारण हामी (हलेसीवासी)ले चामल देखे पनि अमन हुनेगरी खान पाइन्नथ्यो । एकताका छौवा गर्दा धामीले कहिले सक्लान् भनी ढोकाबाट चियाउने केटाकेटी बाक्लै हुन्थे । त्यतिबेला केटाकेटी असाध्यै खुसी हुन्थे । धामीले सक्नसाथ सबै लाइनमा बस्ने र ठूलाले बाँडेर दिँदा नयाँ घैया/चामलको वाइबु–रोंको स्वाद जिब्रोमै झुन्डिन्थ्यो । वाइबु–रों मिचुनुङ लगाएको व्यक्ति र नछुङले खान हुँदैन । कुकुर र सुँगुरलाई पनि दिन मिल्दैन ।

सुधार्नैपर्ने पक्ष

छौवा गर्दा निम्नकुरामा सुधार्नैपर्छ ।

(१) गोरुको मासु अनिवार्य चढाउने ।

(२) साम्खा वैशाखभित्रै गरिसक्ने ।

(३) छौवा भदौबाट मंसिरसम्ममा सक्ने ।

(४) छौवा र साम्खा एकैपटक नगर्ने ।

(५) माछाक्मा घरमुलीले नै गर्ने ।

(६) सकभर जान्ने र नियममा बसेका नछुङ समात्ने ।

(७) सबै सामग्री तयार गरी समयमै गर्ने ।

(८) निकै निक्र्यौल गरेरमात्र निखाली, इसाखाली छुट्ट्याउनुपर्छ ।

अन्त्यमा

चाम्लिङ खाम्बातिमले किरात राई यायोक्खा कार्यालय परिसर कोटेश्वरमा गरेको सामूहिक छौवा । तस्बिर : कविचन्द्र राई

संस्कार र सस्कृति झ्वाट्टै बन्ने वा छिट्टै समाप्त हुने हुँदैन । लाखौं वर्षको विश्वास र अभ्यास हुन्छ । संस्कृतिमा पुस्तौं पुस्ताको जीवन लुकेको हुन्छ । सबैको संस्कार, संस्कृति हुबहु रक्षा गर्न सकेमात्र हामी बाँचेको अर्थ हुन्छ । राज्य सत्ताले किरात राई समुदायको छौवामा प्रयोग हुने र मुन्दुममा आउने पिउपासा, दिबुसा, चुप्पिसा, वाकुसा र हैदिसा प्रयोग हुँदा नरिसाउनु र नदबाउनु मुन्दुमको रापले र पितृको श्रापले भेट्छ ।

प्रतिक्रिया दिनुहोस्