यो साल आएँ डोको बोकी, अर्को साल आउँछु कोक्रो बोकी


पूर्वी नेपालको सोलुखुम्बु र भोजपुर जिल्लाको सिमानामा प्राकृतिक रूपमा बनेको खाल्डोमा पानी जमेर बनेको ताल छ । त्यो ताल साल्पापोखरी नामले प्रसिद्ध छ । साल्पापोखरीमा पानी पलाउने मुहान पानीको सतह माथि वा बाहिर कतै देखिँदैन । हिउँदमा पानी सुकेर तालको सतह घट्छ तर तालमा हरियो उस्तै रहिरहन्छ । साल्पाको पूर्व दिशामा फेदीखोलाको मुहान पर्छ भने पश्चिम दिशामा बुदुमखोलाको मुहान पर्छ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका र भोजपुरको साल्पा सिलिछो गाउँपालिकाको संगमस्थल साल्पापोखरी हो । यो ताल ३,४४३ मिटर उचाइमा रहेको छ । यहाँ जनैपूर्णिमा, कात्तिके पूर्णिमा र बुद्धजयन्तीमा भव्य मेला लाग्छ । युवा, वृद्ध र धामीझाँक्री साल्पा मेला भर्न जाने गर्छन् ।

साल्पापोखरीलाई जातिपिच्छे अलग–अलग दृष्टिकोणले हेर्ने गरिन्छ । यस पोखरीको नामकरणमा पनि जातिगत, क्षेत्रगत र संस्कृतिगत भिन्नता रहेको छ । साल्पा देवताले स्थायी रूपमा बसोवास गरिरहेको पोखरीलाई किरातवंशीय साल्पा नामकी महिला देवताको नामबाट पोखरीको नाम साल्पा रहन गएको देखिन्छ । साल्पापोखरीमा पुरुष र महिला दुवै लिंगका देवताले बसोवास गर्छन् भन्ने विश्वास गरिएको छ । मेला भर्न आउने तीर्थयात्रीले सैराजा सै–सै र सैरानी सै–सै भाकामा गीत गाउने गर्छन् भने धामीझाँक्रीले साल्पा राजा, साल्पा रानी शब्द उच्चारण गरेर पुकारेको सुनिन्छ ।

साल्पापोखरीबाट उठेको ठाडो ढिस्को चुचुरो छ । चुचुरोलाई साल्पाको शिर मानिन्छ । यो चुचुरो ४,१५३ मिटर उचाइमा रहेको छ । यसलाई सोलुखुम्बुमा बसोवास गर्ने सोताङ–कुलुङ समुदायले सिलुछो भन्ने गर्छन् । सिल र छो दुई शब्द जोडिएर सिलुछो शब्द बनेको हो । सिलको अर्थ नाच र छोको अर्थ टुप्पो हो । धामीझाँक्रीले नाच नाच्दै–नाच्दै हिमाल चढ्दै गई नाच अन्त्य गर्ने चुचुरोलाई सिलुछो भनिन्छ । सोताङ–कुलुङ भाषामा सिलुछोको सिधा अर्थ नाचको टुप्पो हो । सिलुछो चुचुरोलाई भोजपुर जिल्लामा सिलिछो भन्ने गरिन्छ । सिलिछो चुचुरोको नामबाट गाउँपालिकाको नाम साल्पा सिलिछो राखिएको छ ।

संखुवासभा जिल्लामा बसोवास गर्ने मेवाहाङ समुदायले यस चुचुरोलाई सिलिचोङ भन्ने गर्छन् । सिलिचोङको नामलाई आधार बनाएर सिलिचोङ गाउँपालिकाको नाम राखिएको छ । लेक नलाग्ने व्यक्ति साल्पा जानेक्रममा सिलुछो पुग्ने गर्छन् । सिलुछो चुचुरोको फेदवरिपरि सोताङ–कुलुङ समुदायको बसोवास रहेको छ । सोताङ–कुलुङ समुदायको भाषामा सिलुछो शब्दले नाचको अन्तिम टुप्पो अर्थ दिएकाले यस समुदायले चुचुरोको पहिले नामकरण गरेका हुन सक्छ । चुचुरोमा गुदेल सोलुखुम्बुनिवासी मनशंकर मान्थेर्बुले स्थापना गरेको मन्दिर छ ।

किंवदन्ती :

लोककथाअनुसार खुवोलु लम्छाम्मा (वराहक्षेत्र)बाट साल्पा देवता हलेसी गएर बस्दा हलेसीमा अट्न सकेनन् । हलेसीबाट उठेर सोलुखुम्बुको सोताङ गाउँपालिकाअन्तर्गत पर्ने हुलु गाउँमा गएर बसोवास गरे । हुलुको सानो ठाउँमा साल्पाले बसोवास गरेपछि सो स्थानलाई साल्पाती भन्ने गरिएको मानिन्छ । साल्पाती भनिने ठाउँको चारैतिर जमिन उठेर खाल्डो बनेको छ । खाल्डो भए पनि बर्खामा पानी जमेर पोखरी बन्दैन । साल्पाती खाल्डोमा खेतीपाती लगाइन्छ । साल्पाले बसोवास गरेको चोखो स्थान भएकाले वर्षामा झरी पर्दा पानी जमेर पोखरी बन्दैन भनिन्छ ।

हुलुको साल्पातीमा बस्दा साल्पा देवतालाई जुठो पारियो । साल्पातीमा बसोवास गर्दा जुठो परेपछि बेरेको भकारीजस्तो दुईवटा चीज उडेर गएछन् । ती उडेर जाँदा साल्पाले आफ्नो बसोवासस्थान साल्पाती त्यागेको विश्वास छ । ती उडेर गएका चीज महाकुलुङ गाउँपालिकास्थित चोचोलुङ गाउँको मोक्सु भन्ने स्थानमा पहिला र त्यही स्थानको अलि पर दुम्फुमा बसोवास गर्न पुगेको बताइन्छ । मोक्सु र दुम्फुमा बस्दा कली नामक राक्षसले सतायो । दुम्फुबाट सोताङ गाउँपालिकास्थित नाम्लु गाउँको शिरमा रहेको खिसादो भन्ने स्थानमा बसोवास गर्न पुगे । खिसादोमा पनि शुद्ध चोखो बस्न नपाएपछि वर्तमान साल्पापोखरी पुगेर स्थायी बसोवास गरेको विश्वास छ ।

राजधन कुलुङले साल्पापोखरी (२०६९) नामक पुस्तकमा उल्लेख गरेअनुसार गंगाको मैदानमा किरात वंशका साल्पा र वराह नामकी दुई दिदीबहिनी बस्थे । उनीहरू कलीको आक्रमणबाट जोगिन हिमालतर्फ उक्लिए । हिमालतर्फ लाग्नेक्रममा कलीको आक्रमणबाट बहिनी वराहको मृत्यु भयो भने दिदी साल्पा बच्न सफल भइन् । उनै साल्पा वर्तमान साल्पापोखरी पुगेर स्थायी बसोवास गरेपछि उनको नामबाट पोखरीको नाम साल्पा रहन गयो ।

सोलुखुम्बुको पर्यटन र विकास (२०६६) नामक पुस्तकका लेखक हिमाल गिरीको तर्कअनुसार लाम्चो आकार जनाउने सोताङ–कुलुङ समुदायको भाषामा स–सल्पा शब्द अपभ्रंश भएर साल्पा हुन गएको हो ।

धार्मिक महत्व :

साल्पा गएर पूजा–आराधना गर्दा मनोकामना पूरा हुन्छ भन्ने सामाजिक विश्वास रहेको छ । विद्या र सम्पत्ति आर्जन, सन्तान प्राप्ति, रोगबाट मुक्ति, धेरै लामो समयसम्म बोली नफुटेको बालबालिकाको बोली फुटाइमाग्ने आदि मनोकामना पूरा गरिदिन साल्पासँग तीर्थयात्रीले वर माग्ने गर्छन् । सिलुछो र साल्पालाई विभिन्न सम्प्रदायले आ–आफ्नो सांस्कृतिक ढंगले मानमनितो गर्छन् ।

सोलुखुम्बुमा बसोवास गर्ने सोताङ–कुलुङ समुदायले घरभित्र सम्पन्न गर्ने पूजाआजा र धामीझाँक्री नाच्दा शक्तिकेन्द्र मानिएका विभिन्न स्थान पुकार्नेक्रममा सिलुछो र साल्पा पुकार्ने गर्छन् । साल्पा पुकारेपछि सिलुछो पुकार्ने गर्छन् । सिलुछोको चुचुरोमाथि पुगेको नाच नाच्दा सिलुछोबाट देखिने सबै हिमालको नाम उच्चारण गर्दै तिब्बतलाई पुकारेर फर्कने गर्छन् । सिलुछोसँग अन्नपानी, धनसम्पत्ति, बस्तुभाउको सह माग्दै रोगव्याधि, अनिकाल र सामाजिक झैझगडा तर्काइदिन पुकार गर्छन् । सिलुछोबाट साल्पा झरेर अघि जाँदा पुकारेका स्थान क्रमैसँग पुकार्दै घरको चुलामा आइपुग्छन् ।

धामीझाँक्री :

धामी बस्दा घरको चुलो पुकारेर घरको मूल सँघार नाघ्ने गर्छन् । घरको मूल सँघार काटेर बाहिर निस्केपछि दलान पुकार्छन् । दलानबाट कुखुराको खोर पुकार्छन् । कुखुराको खोरबाट सुँगुरको खोर । सुँगुरको खोरबाट पँधेरो । पँधेरोबाट तोस्खम । तोस्खमबाट ठाउँ–ठाउँमा खोलानाला पुकार्दै पहाडतर्फ उक्लँदै जान्छन् ।

खोलानाला पुकार्दै वन प्रवेश गरेपछि सुरुमा केकुवाको नाच नाच्छन् । केकुवाको नाचपछि चिचिखाउको नाच नाच्छन् । चिचिखाउको नाचपछि हाउको नाच नाच्छन् । हाउको नाचपछि चिन्चोलीको नाच नाच्छन् । चिन्चोलीको नाचपछि कालिजको नाच नाच्छन् । कालिजको नाचपछि मृगको नाच नाच्छन् । मृगको नाचपछि मोनालको नाच नाच्छन् । मोनालको नाचपछि चिलिमेको नाच नाच्छन् । चिलिमेको नाचपछि डाँफेको नाच नाच्छन् । डाँफेको नाचपछि कल्चौंडाको नाच नाच्छन् । कल्चौंडाको नाचपछि साल्पापोखरीतर्फ लाग्छन् । साल्पा पुगेपछि सिलुछो चढ्छन् । सिलुछो चुचुरोमा चढेर सिलुछोबाट देखिने हिमाल र तराईको मैदान फाँट सबै पुकारेर अन्नपानी, बस्तुभाउ, धनसम्पत्तिको सह माग्दै सुख शान्तिको वर माग्दै शक्ति जगाएर धामीझाँक्रीले आफ्नो शिर उठाउँछन् ।

नागीपूजा :

सोलुखुम्बुको सोताङ–कुलुङ समुदायले सम्पन्न गर्ने नागीमा विभिन्न स्थानका खोलानाला तथा स्थान पुकार्दै साल्पा हुँदै सिलुछो पुग्छन् । नागीमा पुकारिने खोलानाला र स्थान नागी देवताको वासस्थान मानिन्छ । नागीपूजा गर्दा चुलो पुकारेर घरको सँघार पार गरी बाहिर निस्कन्छन् । घरको सँघार काटेर निस्केपछि विभिन्न स्थानहरू पुकार्दै साल्पापोखरी पुग्छन् । साल्पा पुकारेर सिलुछो पुकार्छन् । सिलुछोमाथि पुगेपछि नाच्दै अन्नपानी, बस्तुभाउ, धनसम्पत्तिको सह माग्दै रोगव्याधि, झैझगडा र अनिकाल समाजबाट अन्त गरी सुख शान्ति ल्याइदिन वर माग्छन् । सुख शान्तिको वरदान माग्दै सिलुछोबाट फर्कंदा अघि पुकारेका स्थान पुकार्दै फर्कन्छन् ।

संस्कृति :

साल्पा मेला गीत गाएर आफ्नो कला प्रदर्शन गर्ने स्थल पनि हो । साल्पामा गाइने सांस्कृतिक गीतको भाका ‘सैराजा सैरानी सै–सै’ हो । सैराजा सैरानी भाकाको गीतसँगै अन्य भाकाका गीत पनि गाउने गर्छन् । जुहारी गीत गाउनेहरू तीर्थयात्राभन्दा पनि गीत गाउनका लागि साल्पा पुग्छन् । कतिपय जोडी अर्को मेलामा फेरि भेट भएर गीत गाउने वाचा गरेर जाने हुन्छन् । जुहारी गीत गाउनेले विपरीत लिंगीसँग गीत गाउने गर्छन् । जुहारी गीत गाउने प्रतिभा भएको व्यक्तिले साल्पा मेला पुगेपछि गीत गाउने जोडा खोज्न थाल्छन् । साल्पा मेलामा जुहारी गीत गाउन बसेकामध्ये कतिपयले गीतबाटै मायाप्रीति गाँसेर विवाह गरेको थुप्रै उदाहरण पाइन्छ । सैराजा शैलीमा गीत गाउनेले ‘यो साल आएँ डोको बोकी, अर्को साल आउँछु कोक्रो बोकी’ भनेर सन्तान माग्ने गर्छन् । धामीझाँक्रीले सामाजिक सुख–शान्ति होस्, बालीनाली राम्रो फलोस्, अनिकाल नलागोस्, समाजमा झैझगडा नआओस् रोगव्याधिको प्रकोप नहोस् भनेर साल्पा देवतासँग वर माग्छन् ।

शक्तिको स्रोत :

साल्पा देवता खुसी भएमा समाजमा झैझगडा हुँदैन । सुख शान्ति हुन्छ । रोगव्याधि लाग्दैन । असिना पर्दैन र अनिकाल आउँदैन भन्ने विश्वास छ । पोखरीवरपर फोहोरमैला भएमा साल्पा रुष्ट भएर समाजमा अनिष्ट वातावरण ल्याउँछन् । संवत् २०६८ मा भोजपुरको तात्कालिक दोभाने गाउँ विकास समितिवासीको अगुवाइमा साल्पा महोत्सव गरिएको थियो । तात्कालिक राष्ट्रपति डा. रामवरण यादवबाट महोत्सव उद्घाटन गर्ने कार्यक्रम थियो । उद्घाटनका लागि राष्ट्रपति डा. यादव चढेर आएको हेलिकोप्टर साल्पामा अवतरण गर्ने समयमा झरी पर्यो र हुरीबतास चल्यो । हेलिकोप्टर फर्केपछि मौसम सफा भयो । मौसम सफा भएपछि फेरि हेलिकोप्टर फर्केर आयो । हेलिकोप्टर साल्पा आएर अवतरण हुने समयमा अघिकै जस्तो हुरीबतास चल्यो । झरी पर्यो । हेलिकोप्टर बस्न नसकेर फक्र्यो । हेलिकोप्टर फर्कनसाथ मौसम सफा भयो । पुनः हेलिकप्टर बोलाइयो । हेलिकोप्टर आइपुग्दा अघिकै जस्तो हुरीबतास चल्यो । झरी पर्यो । हेलिकोप्टर अवतरण हुन सकेन । साल्पापोखरीवरिपरि राँगा, सुँगुर काटेर र दिसापिसाब गरेर फोहोरमैला गरिएको हुनाले साल्पा देवताले नसहेर हेलिकोप्टर अवतरण गर्न नदिएको भन्ने तीर्थयात्रीलाई प्रभाव परेको थियो । त्यसपछि साल्पापोखरी नजिक मेला लगाउन नहुने सोच बढेको हो ।

पर्यटकीय स्थल :

उच्च पहाडी भेगमा अवस्थित साल्पापोखरी चोखो र प्रकृतिक सुन्दरताको धरोहर हो । यसैको शिरमा सिलुछो चुचुरो विराजमान छ । साल्पाबाट सिलुछो चुचुरो चढेर दृश्यावलोकन गर्ने एक गन्तव्य स्थान हो । सिलुछोको चुचुरोबाट तराईको फाँट र नेपालको उच्च हिमाली शृंखलाको मनोरम दृश्य सजिलै देख्न सकिन्छ । दार्जिलिङको टाइगरहिलभन्दा राम्रो सिलुछो चुचुरोबाट सूर्योदय र सूर्यास्त देख्न सकिन्छ । सोलुखुम्बुको गुदेल र भोजपुर जिल्लाको साल्पा टेकेर सिलुछो चुचुरोमा पुग्न सकिन्छ । गुदेलबाट सिलुछोसम्म पुग्ने बाटो पनि बनिसकेको छ । सिलुछो चुचुरोवरिपरि घुम्दै दृश्यावलोकन गर्ने चौतारो बनाउन सकियो भने सुनमा सुगन्ध थपिनेछ । साल्पाबाट सिलुछो उकालो चढ्ने बाटो फराकिलो बनाउन आवश्यक छ ।

आधाभूत आवश्यकता :

पर्यटकीय गन्तव्यस्थल विकासका लागि होटल र सडकजस्ता आधारभूत आवश्यकता विकास भइसकेको छैन । पर्यटकीय पूर्वाधार तयार गर्दा साल्पावरिपरिको प्राकृतिक वातावरणीय संरक्षणमा ध्यान दिनुपर्छ । साल्पाको वातावरणलाई असर नपुग्नेगरी मेला लाग्ने स्थान र पर्यटकीय सुविधाको व्यवस्था हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्