१ लाख ७ हजार भेटी राख्दै प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार राईबाट संकल्प पूजा


काठमाडौं । खोटाङबाट प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार जयन्द्रकुमार राईले हजुरबुवा स्व. डिल्लीसेर राईको १०७औं जन्मजयन्ती पारेर सायरेम्मा (शिर उभ्याउनी) र संकल्प पूजा गरेका छन् ।

युवा नेता तथा समाजसेवी राईले मुन्दुम महाज्ञान केन्द्र उद्घाटनलगत्तै पूर्वसहायकमन्त्री डिल्लीसेर राईको सम्मान र सम्झनामा १ लाख ७ हजार सोचेप (भेटी) राखेर सायरेम्मा र संकल्प पूजा गरेका हुन् ।

हलेसी क्षेत्र लामो समयदेखि राजनीतिक नेतृत्वविहीन अवस्थामा थियो । एउटा नेता जन्मने तर पुस्तान्तरण हुँदैनथ्यो । नेतृत्वको शृंखला निर्माण नहुने समस्या नयाँ होइन । युवा नेता, समाजसेवी तथा व्यवसायी जयन्द्रकुमार राईले गरेको संकल्प पूजाबाट त्यसको पनि कुनै न कुनै हिसाबले सम्बोधन होला र सकारात्मक दिशातिर जाला भन्ने आशा गर्न सकिने संकल्प पूजामा सहभागीले बताए ।

पूर्वसहायकमन्त्री राईको २०४१ सालमा निधन भएको थियो । त्यतिबेलाको उनी ६९ वर्षका थिए । अहिले संवत् ०७९ । ७९ मा ४१ घटाउँदा ३८ हुन्छ । ६९ मा ३८ जोड्दा १०७ वर्ष हुन्छ । तिहारलगत्तै पुनः चुनावी अभियानमा निस्कनुपर्ने भएकाले १०७ वर्षको जन्मजयन्ती पारेर नातिले हजुरबुवाको संकल्प पूजा गर्न लोभिए ।

मुन्दुम महाज्ञान केन्द्र उद्घाटनकै दिन हजुरबुवाको नाममा संकल्प पूजा गर्न आफू लालायित भएको जयन्द्रकुमार राईले सुनाए । ‘पितृपुर्खाको सम्मान नगरे आफू सम्मानित हुन सकिँदैन,’ नेता राईको भनाइ थियो, ‘यो सन्देश सबैमा प्रवाह गर्न संकल्प पूजा गरेको हुँ ।’

मुन्दुमी मविन्द्र राई ‘साइँलाखुइँ’का अनुसार पूर्वसहायकमन्त्री डिल्लीसेर राईको मुन्दुमी विधिबाट सायरेम्मा (शिर उभ्याउनी) गरिएको थियो । ‘नाति (संकल्प पूजा गर्ने जयन्द्रकुमार राई) र बाजे डिल्लीसेर राईको आत्मासँग मिलेको देखिएन,’ मुन्दुमी राईले सुनाए, ‘त्यही भएर बाजेको आत्मा बोलाउने काम गरियो । त्यसपछि नातिको ग्रहदशा काटिएको थियो ।’

संकल्प पूजामा नेता जयन्द्रकुमार राई, श्रीमती इन्द्रकुमारी राई र छोरा मिखायल फाबुहाङ राईको उपस्थिति रहेको थियो । नेता राईले संकल्प पूजामा ७ हजार भेटी चढाउनुका साथै १ लाखको चेक काटेका थिए ।

प्रतिक्रिया दिनुहोस्