इतिहास, मिथक, साहित्य वा समग्र वाङ्मय मानव जीवन र प्रकृतिसँगको सहचार्य, सामाजिक अन्तरघुलन र मानवीय स्वकीय चेतनाको विकास र विस्तारको क्रममा जन्मिएको हो । मानिसले जीवनयापन गर्ने क्रममा प्रकृतिसँग अनवरत रूपमा सहकार्य र सहचार्य गर्दै जाँदा जुन अनुभव र अनुभूति प्राप्त गर्दछ, त्यही अनुभूतिजन्य आलङ्कारिक उच्छलन नै साहित्य हो भने वस्तुगत साङ्गो पाङ्गो विचार र वर्णन चाहिँ वाङ्मय हो ।
मिथक आफैंमा साहित्य होइन परन्तु मिथक र साहित्य बीच अत्यन्त निकट सम्बन्ध रहेको हुन्छ । मिथकको आधारभूमिमा नै साहित्य पल्लवित भएका हुन्छन् । त्यसैले मिथक साहित्यको स्रोत हो । साहित्य सिर्जनाका दृष्टिले मिथक उपजीव्य विषय हुन् । पूर्वीय संस्कृत साहित्यको आधार वैदिक मिथक हो र यिनै वैद्धिक मिथककै जगमा प्रायः सबै संस्कृत ग्रन्थहरू लेखिएका छन् । रामायण, महाभारत, पुराण तथा अन्य संस्कृत साहित्यका विश्वप्रसिद्ध ग्रन्थहरू मिथककै आधारभूमिमा लेखिएका हुन् । पाश्चात्य जगत्मा पनि ग्रिसेलीमिथककै धरातललाई टेकेर दुःखान्त नाट्यलेखन तथा अन्य प्रसिद्ध कृतिहरू रचिएका छन् । यसरी हेर्दा के देखिन्छ भने मिथक साहित्यको महत्वपूर्ण स्रोत हो । मिथक र लोकसाहित्य बीच अझ नजिकको सम्बन्ध रहेको हुन्छ । लोक साहित्यका विभिन्न विधाहरू खास गरेर लोककथा, लोकगाथा र मिथकलाई एउटै रूपमा अथवा एउटै विधाका रूपमा दाँजेर हेर्ने गरेको पनि पाइन्छ । वास्तवमा मिथक, कथा र गाथाबीच निकटको सम्बन्ध भए पनि यिनीहरू बीच अनेकौँ भिन्नताहरू भेटिन्छन् । यिनीहरू बीच निकट सम्बन्ध भए पनि यिनीहरू अलग विधा हुन् ।
मिथक र लोककथा दुवैमा कल्पनाशीलता, बिम्ब, आद्यबिम्ब, प्रतीक, जीवानुभूति र आत्मपरकताको प्राधान्य पाइन्छ । दुवैमा प्राचीनता, स्वैरकल्पना, मानव तथा मानवेत्तर पात्रहरूको विषय वर्णन पाइन्छ । यद्यपि मिथक र लोक कथा बीच अनेकौँ भिन्नताहरू भेट्न सकिन्छ । विशेषतः विषय वर्णन, स्रोत, पात्र, विषय क्षेत्र, कथानक, बिम्ब, प्रतीकको प्रयोग सम्बाहक आदि । संसारमा विभिन्न जाति, वर्ग र समुदायका आ–आफ्नै प्रकारका मिथक र लोककथाहरूको प्रचलन रहेका हुन्छन् । मिथक र कथा बीच मुख्य भेदका रूपमा आस्था एवं विश्वास रहेका देखिन्छन् । मिथकमा वर्णित घटना, पात्र, विषय मूलतः, धार्मिकतामा आधारित हुँदा मानिसले मिथकलाई आफ्नो जाति, धर्म, संस्कार, सभ्यता, दर्शन, उत्पत्ति आदिसँग जोडेर हेर्ने हुँदा आदरपूर्वक, सम्मानपूर्वक हेर्ने गर्दछन् भने कथा वैयक्तिक विचारको प्रकटीकरण भएकोले यसलाई केवल मनोरञ्जन, सूचना र नैतिक शिक्षाको रूपमा मात्र हेर्ने गर्दछन् ।
मिथक भनेको प्राचीन समयदेखि मौखिक तथा श्रुतिपरम्परामा भनिँदै सुनिँदै आएको विभिन्न विषयसँग सम्बन्धित आस्थामूलक लोकाख्यान हो । झट्ट सुन्दा र पढ्दा मिथक स्वैरकाल्पनिक, उडन्ते, असत्य, अवैज्ञानिक, दन्त्य कथाझैं लागे पनि यसमा कुनै न कुनै आदिम विश्वास, आदिम सत्यता लुकेको हुन्छ । वास्तवमा संसारका कुनै पनि जाति, वर्ग र समुदाय बिच प्रचलित मिथकमा ती जातिको धर्म, संस्कृति दर्शन, सभ्यता, इतिहास, उत्पत्ति कथा जस्ता विषयको सम्बन्ध गाँसिएको हुन्छ । त्यसैले इतिहास, साहित्य समाजशास्त्र आदि अन्य विषयलाई भन्दा मिथकलाई मानिसले श्रद्धापूर्वक हेर्ने गर्दछन् । मिथक अपत्यारिलो, असत्य लागे पनि मानिसले मिथकलाई आÇनो पुर्खाहरूको लीला, चमत्कार शाहस आदि असाधारण गुण मान्दै सम्मानपूर्वक ढङ्गले हेर्ने गर्दछन् ।
शुभ मुकारुङ, साहित्य क्षेत्रमा पूर्णतः समर्पित नाम हो । उनी साहित्य क्षेत्रका पूर्णकालीन कारिन्दा हुन् । आफू बाँचेका जीवनका सत्तरी प्रतिशत समय साहित्य अध्ययन र सिर्जनामा पोखाउन पुगेका मुकारुङ मूलतः गीतकारका रूपमा प्रतिष्ठित एवं प्रसिद्ध व्यक्तित्व हुन् । गम्भीर प्रवृत्ति, शालीन, शान्त र इमान्दार स्रष्टाका रूपमा परिचित शुभ मुकारुङ पछिल्ला चरणमा भने साँस्कृतिक अध्ययन तथा अनुसन्धानमा सल्बलाउन थालेका छन् । प्रस्तुत ग्रन्थ उनको यही जिर्नशीलताको वैविध्यता र वैचिœयता हो ।
प्रस्तुत ग्रन्थ मिथकको सङ्कलन होइन परन्तु किराती मिथकीय आधारभूमिमा पल्लवित अत्यन्त महत्वपूर्ण ऐतिहासिक कथासङ्ग्रह हो । प्रस्तुत कथा सङ्ग्रहभित्रका कथाहरूभित्र किरातीहरूले चर्चेको धरती र उनीहरूले उपयोग र उपभोगरेका खोला नाला, पानी, पँधेरो, पाखा, पखेरी, भीर कन्धराहरू र ती प्रकृतिमा उम्रिएका, पोखिएका जीवनरूपी पानीको वर्णन भएका छन् । पानी जीवन हो, यसको अभावमा सृष्टि सञ्चालन हुनै सक्दैन यही वास्तविकतालाई हृदयङ्गम गरी किरातीहरूले प्रकृतिलाई श्रद्धा पूजा गर्ने, संरक्षण गर्ने र उपयोग गर्ने प्राचीन परम्पराको पदचापहरू प्रस्तुत कथा सङ्ग्रहमा चित्रित भएका छन् । प्रत्येक कथामा किराती जाति, उनीहरूका मौखिक वाङ्मय मुन्दुमका घट्ना वर्णन, मुन्दुमी मिथक र मिथकीय पात्रहरू र किराती जनजीवनका घटनाहरूका विवरणहरू समेत मुखरित भएका छन् ।
ऐतिहासिक किराती भूमिहरू खास गरेर काठमाडौँ उपत्यका पूर्वका क्षेत्रहरू ओल्लो किरात, माझ किरात र पल्लो किरात क्षेत्रमा बसोबास गर्ने किरातीहरू र उनीहरूले उपयोग र उपभोग गर्ने नदीनालाहरू जस्तैः सुनकोसी, तामाकोसी, दूधकोसी, अरुण, वरुण, तमोर, लिखु, रावा खोला, तापखोला, मेवा खोला, पिखुवा खोला† त्यसै गरेर विभिन्न ताल तलैयाहरू जस्तैः रदुङ पोखरी, राजारानी पोखरी, बराह पोखरी, माई पोखरी, साल्पा पोखरी आदि पानीका मुहान् र स्रोतहरूका अतिरिक्त प्रस्तुत ग्रन्थमा किराती समाज, सभ्यता र संस्कृतिको समेत प्रतिविम्बन भएका छन् । प्रत्येक कथाहरू आफैंमा सूचना, मनोरञ्जन र इतिहास बन्न सफल भएका छन् । किरातीहरू प्रकृति पूजक हुन् भन्ने पुष्टि गर्न, बलियो आधार निर्माण गर्न सफल प्रस्तुत प्रत्यक कथामा किराती जनजीवनका साङ्गो, पाङ्गो, ऐतिहासिक विवरणहरू समेत पोखिएका छन् । मिथक र साहित्यमा अनेकौँ प्रकारका बिम्ब, आध्यबिम्ब, प्रतीक आदिको प्रयोग भएका हुन्छन् । संसारभरका मिथकमा प्रायः ‘आकाश’लाई बाबु र धर्तीलाई आमा तथा स्त्रीलिङ्गका रूपमा यसै गरी नदीनालाहरूलाई देवी वा स्त्रीको रूपमा रूपमा बिम्बको प्रयोग गरिएको हुन्छ । प्रस्तुत कथा सङ्ग्रहमा पनि अरुण, दूधकोसी, तामाकोसी, तमोर, माइखोला, तावा खोला आदि खोला, नदीनालाहरूलाई मानवीय पात्र दिदी बहिनीको रूपमा स्थापित गरी ती नदीहरू बहने भौगोलिक विवरण समेत उद्घाटित भएका छन् । किरातीहरूले प्रयोग गर्ने धाराको उत्पत्ति, पानीको उत्पत्ति, नदीनालाको उत्पत्ति तथा समग्र चराचर जगतको उत्पत्तिको कथा समेत यस कृतिभित्र प्राप्त गर्न सकिन्छ । किराती मिथकीय पात्रहरू तायामा, खियामा, हेत्छाकुप्पा, न्योयहाङ, सोक्रेहाङ आदिको सामीप्यतामा पानीको कथालाई सविस्तार वर्णन गरिएको छ ।
समग्रमा भन्दा, प्रस्तुत कथा सङ्ग्रहमा सङ्ग्रहित कथाहरू कथा मात्र नभई किराती इतिहास, दर्शन, भूगोल, भाषा र संस्कृतिको स्रोत सामग्री बन्न सफल भएका छन् । प्रत्येक कथालाई निचोर्दा निस्कने प्रत्येक थोपा किराती सभ्यताका ऐतिहासिक शीलालेख बन्न पुगेका छन् । यस्तो स्तुत्य कार्यका लागि गम्भीर अध्यता मेरा अनन्य मित्र शुभ मुकारुङ तथा प्रकाशक भोजपुर समाज हङकङलाई मुरी मुरी धन्यवाद तथा बधाई दिन्छु । उहाँको अविरल सिर्जनात्मक यात्राको पूर्ण सफलताको कामना व्यक्त गर्दछु ।