मलाई त प्लास्टिकका झोला बोक्न लाज लाग्छ


 

गंगा पोखरेल

प्लास्टिकमा पोको पारिएको दूध । त्यसमाथि झुन्ड्याउनेखालको प्लास्टिकमा दूध बोकेर एकाबिहानै सडकमा लखरलखर आफ्नो घरतर्फ हिँडेका समाजका प्रतिष्ठित व्यक्तिलाई देख्छु । अनि सोच्छु– यो प्लास्टिकको असरबारे उनलाई धेरै कुरा थाहा हुनुपर्छ । तर, किन उनले यसको प्रयोग गरेका होलान् ?

किराना पसलमा पनि उस्तै ।

ग्राहक : साहुजी एउटा चाउचाउ दिनूस् न । कहाँ हातमा लैजानु, प्लास्टिकमा दिनूस् न ।

दूध डेरीमा :

ग्राहक : दूध दुई लिटर, दही एक लिटर । प्लास्टिक डब्बल गरिदिनूस् है ।

यो त एउटा उदाहरणमात्रै भो । दैनिक एकछिनको सुविधाका लागि हामीले कति प्लास्टिक प्रयोग गर्छौं, सम्झनुहोस् त ? तरकारी, फलफूलदेखि लिएर घरमा आउने प्रत्येक सामानसँगै हाम्रो घरभित्र प्लास्टिक थुप्रिरहेको हुन्छ । एउटा प्लास्टिकको बोरा त कति छिटो भरिन्छ । झन् प्लास्टिकको फोहोरले त पत्तै हुँदैन ।

अनि आइसकेको फोहोरलाई फ्याँक्नु त पर्यो । यसको उपाय भनेको कि त सडकछेउमा लगेर थुपार्नुपर्यो । अनि फोहोर उठाउने गाडी आएन भने हामीलाई सास्ती भयो भनेर कुर्लनुपर्यो । कि त घरछेउछाउमा टोलै दुर्गन्धित पारेर जलाउनुपर्यो ।

हामीले दिनहुँ प्रयोग गरेको प्लास्टिकको फोहोर कहाँ जान्छ । यसले के असर पार्छ ? एकछिन बुझौं है ।

यत्रतत्र छरिएका प्लास्टिक सड्न ५० वर्ष र प्लास्टिकका बोतल १०० वर्ष लाग्छ । बाटोमा यत्रतत्र छरिएका फोहोर वर्षात्को पानीले बगाएर ढलमा पुर्याउँछ । अनि फोहोरको जामले डुबान पार्छ । पानीसँगै बगेर खेतियोग्य जमिनमा पुगेको प्लास्टिकले उब्जनीमा प्रत्यक्ष असर पार्छ । समुद्रमा बग्दै पुगेका प्लास्टिक माछा र समुद्री जीवका पेटमा पुगेर उनीहरूको अस्तित्व लोप भइरहेको छ । अब पनि खतरा बढ्दो छ । हामीले भोग्दै आइरहेको असामान्य प्राकृतिक प्रकोप पनि यसैको परिणाम हो ।

गंगा पोखरेल

सास नफेरी हामी एकछिन त के एक पल पनि बाँच्न सक्दैनौं । जीवनमा आइपर्ने सुख–दुःखभन्दा धेरै ठूलो त प्रकृति छ नि होइन र ? प्रकृतिविनाको मान्छेको जीवन कस्तो हुन्छ होला ? सोच्नूस् है ।

हामीले हाम्रा छोराछोरीका लागि कति दुःख गरेका छौं, उनीहरूको भविष्य राम्रो होस् भनेर । तर, कहिले सोचेका छौं ? एकैछिनको सुविधाका लागि हामीले बढीभन्दा बढी प्रयोगमा ल्याउने प्लास्टिकका झोला प्रयोगले वातावरण कति असर पारेको छ र पार्छ भनेर ? खेतीको माटोमा प्लास्टिक छ भने त्यो त विषबराबर नै हुन्छ ।

नदी, खोला अनि बाटोछेउमा धेरै देखिने पानीको बोतल, तालमा तैरिरहेका कोल्डड्रिङ्क्सका बोतल, प्याकेटका खानेकुराका खोलले कति असर पारेका छन् । प्लास्टिकको बढ्दो प्रयोगले धर्तीको माटो छोपिने निश्चितै छ । कुनै अर्को ग्रहमा त फोहोर थन्क्याउन सकिँदैन ।

मलाई सबैभन्दा बढी चिन्ता प्रकृतिको लाग्छ । गर्न त म एक्लैले के नै गर्न सक्छु र ? एकले थुकी सुकी, सय थुकी नदी भनेजस्तै हामीले पनि प्रकृति संरक्षणका लागि आफ्नोतर्फबाट केही गरौं न है । धेरै केही गर्नुपर्दैन । अलिकति बानी सुधारे पुग्छ । कोरोना भाइरसको डरले मास्क हाम्रो साथमै हुन्छ । मास्क लगाउने बानी भइसक्यो । नलगाए पनि ब्यागमै हुन्छ । त्यस्तै, हामीले घरबाट बाहिर निस्कँदा एउटा सानो झोला पनि लिएर निस्कने बानी गर्यौं भने ९० प्रतिशत प्लास्टिक हाम्रो घरमा भित्रिँदैन । अनि फोहोर धेरै कम हुन्छ ।

सबैभन्दा राम्रो कुरा त यति गर्नासाथ हामीलाई खुसी लाग्छ । म पनि प्रकृतिलाई माया गर्छु । मेरो पनि प्रकृति संरक्षणमा भूमिका छ भन्ने आभास हुन्छ ।

एउटा सानो प्रयास सही । म आफ्नो साथमा एउटा झोला कहिल्यै छुटाउँदिनँ । तरकारी किन्दा होस् वा फलफूल किन्दा । अरू जुनसुकै सामान किन्दा म आफ्नो झोलामै सामान थाप्छु । पसलेले प्लास्टिक दिन नपर्दा मुसुक्क हाँस्ने । अनि अलिकति बढी नै सामान दिने प्लास्टिकको सट्टामा रे ! प्लास्टिकको झोला प्रतिकेजी ३०० देखि ६०० सम्म पर्दोरहेछ । घरमा पनि फोहोर खासै जम्मा नहुने । अब त बानी भइसक्यो झोला लिएर घरबाट निस्कने । मलाई त प्लास्टिकको झोला बोकेर हिँड्दा लाज लाग्छ । तपाईलाई नि ?

प्रतिक्रिया दिनुहोस्