हलेसीगढीमा ग्रिनेड नपड्कँदा होन्डाखामा दिनेशको सहादत


सोनाम सज्जन किराती

शरदको सिरेटो । मंसिर, पुसको चिसो ओढेका हामी मंगलटारमा थियौं । कहिले हलेसी तुवाचुङ नगरपालिकाका पूर्वमेयर इवन राईको घर त कहिले घुर्चुको भोजराज बस्नेत ‘राजेश’को तिर । कहिले बाबुराम राई ‘अजय’ र एलिसा कमरेड (साइनोले सोल्टिनी)को घर, कहिले युवराज थापामगर (नेपाली सेनाका भूपू जम्दार भदौरे)कहाँ सेल्टर लिन्थ्यौं । बाबुराम बस्नेत (पीपलडाँडा) आसपास पनि सेल्टर नलिएको होइन ।

सहिद मोतीराज थापा ‘मिलन’का परिवार र युवराज सर त आफ्नै परिवारजस्तै लाग्थ्यो । अहिले पनि लाग्छ । जहाँ हामी सेल्टर लिइरहन्थ्यौं । सेल्टर लिनेमा टंक तामाङ ‘मदन’ एरिया इन्चार्ज, कमरेड अनिता (जिल्ला कमिटी सदस्य), भोजराज बस्नेत ‘राजेश’, ग्याबिन्द्र राई ‘करण’, कमरेड निर्मला र पंक्तिकार सोनाम सज्जन किरातीलगायत थियौं । कहिले करण र राजेश त कहिले राजेश र सोनाम मंगलटार–हलेसी, हलेसीगढी(दुर्छिम)सम्म पुगेर दुस्मनको गतिविधि बुझ्थ्यौं ।

त्रिधाम हलेसीको दक्षिणी–पूर्व (मठडाँडा)मा हेलिप्याड रहेको छ । हेलिप्याड नजिकै इलाका प्रहरी कार्यालय हलेसीको जीर्ण भवन थियो । सुरक्षाकर्मी जिल्ला सदरमुकाम दिक्तेल फर्केपछि त्यहाँ कैले परियारका परिवार बसोवास गर्थेे । त्यही हेलिप्याडमा केही दिनदेखि दिक्तेलबाट आएका नेपाली सेनाले आश्रय लिएका थिए ।

दुस्मन कता ‘मुभ’ गर्छन् भनेर हामी दैनिकजसो बिहान ९ देखि साँझ ५ बजेसम्म चियोचर्चा गर्न हलेसीगढीआसपास पुग्थ्यौं । चियोचर्चा गर्न थालेको तीन दिन भइसकेको थियो । सेना हलेसीमै बसिरहेका थिए । उनीहरू खसी काटेर मासुभात खाँदै बसेको खबर पाइरहेका थियौं । त्यतिबेला हामीलाई हाम्रै एरियामा पार्टीको काम गर्न चुनौती थियो । चौथो दिन पनि हामी हलेसीगढीआसपास बसिबियाँलो गर्दै थियौं । छापडाँडा (दुर्छिम)तिर सेना आएमा ग्रिनेड पड्काउने योजनामा थियौं । मसँग दुई र राजेशजीसँग एक ग्रिनेड थियो । त्यतिबेलाको मेरो कमान्डर राजेशजी थिए । तसर्थ, ग्रिनेड पड्काउन मैले पाउनुपर्छ भन्ने जिकिर गरें । कमान्डरले सोचविचार गरेर पड्काउनूस् न त भन्ने अनुमति दिए । दिउँसोको एक बज्न लागेको थियो । सेना हलेसीबाट च्यास्मिटार ‘मुभ’ गर्ने खबर आयो । होलेसुङ पार्कसँगै बूढो पीपलबोट छ । त्यसको एक हजार मिटर पूर्वतिर सेना आएपछि ग्रिनेड पड्काउने योजना थियो । राजेशजी र म हातमा ग्रिनेड बोकेर सल्लाघारीभित्र लुकेर बसेका थियौं । राजेशजी अलि पर्तिर थिए । म दुस्मनलाई हेर्न अलि सजिलो हुनेगरी ढिस्कोमा छलिएर बसेको थिएँ ।

राजेशले पासवर्ड प्रयोग गरेर इसारा गरे, ‘दुस्मन आइपुग्यो । ग्रिनेड प्रहार गर्नू ।’ ‘घाँस काट्न जाऊँ जेठा भन्दा दुस्मन आयो बम पड्काउनू’ भन्ने पासवर्ड थियो । पासवर्ड भनेको कोडभाषा थियो । हातमा रहेको ग्रिनेड चार्ज गर्ने स्ट्राइगर तान्न ब्ल्याक टेप खोलें । डटपेनको स्प्रिङको सहायताले स्ट्राइगरलाई केप पड्काउने विधिअनुरूप स्ट्राइगर तानेर छाडें । त्यसपछिको प्रेसले केप पड्किन्छ । फ्युज सल्कँदै ओेडीमा आगो पुगेपछि विस्फोट हुन्छ । यो एकदेखि दुई मिनेटभित्रै हुनुपर्छ । पहिलो स्ट्राइगर तानेर छाडे पनि केप पड्किएजस्तो लागेन । दोस्रोपटक पनि त्यसै गरें । केप पड्केको आवाज नआएपछि दुस्मनतिर बम फालिदिएँ । भित्र चार्ज भएको थियो भने बमले आफैंलाई उडाउँथ्यो । त्यसो हुनुभन्दा फालेर पड्केको राम्रो भन्ठानेर जंगलबाट बम हानियो । बम हानेको दुस्मनले देखेछन् । ‘तँ मुलाहरू जंगलमा लुकेर हामीलाई आक्रमण गर्ने ?’ म हिँड्न लाग्दा दुस्मनले कराएको सुनें । राजेशजीलाई हेर्दा उहाँ त अघि नै पाँच कान्लाजति फाल हानिसक्नुभएको रहेछ । म पनि बिस्तारै डाँडातिर उक्लिएँ । त्यतिबेलाको डिल्ली चाम्लिङ (हाल : कुवेरमणि राई)को घरअगाडि हुँदै दौडिएँ । हामी राबु जाने बाटोतिर बस्यौं । त्यतिबेलासम्म पनि बम पड्केको आवाज सुनिएन । दुस्मनले चाहिँ आतंककारीले बम प्रहार गरेर कता भागे ? भनेर बटुवालाई सोधखोज गरेको सुनियो ।

हलेसीगढीमा बम नपड्किँदा च्यास्मिटारको होन्डाखा जंगलमा हामीले जनमुक्ति सेनाको एक असल योद्धा साबिक इन्द्रेणीपोखरी–१ खोटाङका भूपजित राई ‘दिनेश’ गुमायौं ।

प्लाटुन भीसी विनित थिए । भीसी ओखलढुंगाका साहसी मगर । कम्पनी सदस्यचाहिँ दिनेश रहेछन् । दुवैजना पार्टी काममा सिन्धुली हुँदै खोटाङ आउँदै रहेछन् । उनीहरू दुईजना मात्रै । उनीहरू च्यास्मिटारबाट दुर्छिमतिर लाग्दै थिए । बोझेढाँड पुग्नुअघि होन्डाखामा सल्लाघारी छ । च्यास्मिटारबाट हलेसीतिर जाँदा पारिपट्टि नियाल्न सल्लाघारीले दिँदैनथ्यो । उनीहरू कुरा गर्दै ओरालो झर्दै रहेछन् । ओरालो सकियो । लगभग दुई मिनेटजतिको तेर्साे बाटो पार गरेपछि कुइनेटोमा पुगिन्छ । कुइनेटोको ढिकबाट ३५/४० आना क्षेत्रफलमा विस्तारित मैदान देखिन्छ । त्यहाँ पुग्दा उताबाट आएका विनाबर्दीका पाँचजना सेनाले विनित र दिनेशलाई देखेपछि १० मिटर परैदेखि हात मुठ्ठी पारेर लालसलाम कमरेड भनेछन् । दुवैले दुस्मन भनेर सोच्न सकेनन् । स्थानीय कमरेडहरू होलान् भन्ठानेर लालसलाम फर्काए । खुसीसाथ हात मिलाए । तीनजनासँग हात मिलाइसकेका थिए । बाँकी दुईजनाले मिलाएपछि विनित र दिनेशका हात समातेकाले छाड्नै मानेनन् । ‘कतिजना आउनुभएको छ ? को–को हुनुहुन्छ ? लडाइँ कता हुँदै छ अब ? जस्ता संशयपूर्ण प्रश्न गरिएपछि विनितले दुस्मन भएको चाल पाए । उनी ‘लेफ्ट ह्यान्ड’ प्रयोग गर्थे । दाहिने हात मिलाउने बहानामा दुस्मनले फुत्किन दिएनन् । सोही बखत आफूले बोकेको सोनी वाकमेन सम्झे । कम्मरमा झुन्डिएको वाकमेन झिकेर देब्रे हातले सेनाको नाक कुच्चिनेगरी प्रहार गरे । हात समात्ने सेना नाक समातेर ढल्यो । अन्य चारजना सेना पनि सुतेछन् । उनीहरू सुतेको बखत दुवैजना दुस्मनको पन्जाबाट छुटे ।

माओवादीले बम हान्यो भन्ठानेर सेना ‘प्राउन पोसिन’मा सुतेछन् । त्यही मौकामा विनित र दिनेश भागे । दिनेश अलि सजिलो पाखा च्यास्मिटारपट्टिकै ओरालोतिर डौडिएछन् । पाँच सय मिटर तल पुगेका उनलाई पाँच राउन्ड गोली प्रहार गरियो । दिनेशको घटनास्थलमै ज्यान गयो । विनितचाहिँ अप्ठ्यारो पहरातिर (हलेसी फर्कंदा सिधै दाहिने)तिर चरा उडेजस्तै गरी हामफाले । उनले भने, ‘सोनामजी त्यो ओरालो झर्दा खुट्टा टेकेजस्तै लागेन ।’ लगभग १२/१३ सय मिटर तल भीर कटेर झरेपछि खुट्टा पल्टियो रे । तर, उनी रोकिएनन् । त्यतात्यतै हैदे पुगेर लोकबहादुर खत्री, टेकबहादुर खत्रीकहाँ बास बसे । खुट्टा सुनिएर हलचल गर्नुभएको थिएन । चार/पाँच दिन उनी त्यहीं बसे । अलि जाती भएपछि जनमुक्ति सेनाको सम्पर्कमा पुगे ।

दिनेशको ज्यान लिएपछि सेनाले जंगल कब्जा गरेर बस्यो । शव उठाउन आउलान् नि भनेर उनीहरू माओवादी ढुकेर बसेका थिए । हामी त्यति सजिलै उनीहरूको फन्दामा पर्न किन चाहन्थ्यौं ? घटना घटेको तेस्रो दिन सेना त्यहाँबाट हिँडिसकेको जानकारी पाएपछि, होन्डाखा पुग्यौं । सामान्य खाल्डो खनेर शव गाडेका रहेछन् । एरिया पार्टीले शवलाई झन्डा ओढाएर अलि व्यवस्थित तरिकाले सद्गत गर्यौं । र, कमरेड दिनेशको सम्झनामा श्रद्धाञ्जली व्यक्त गर्यौं । त्यसपछि सालिन्दा दिनेशको सद्गत गरेको होन्डाखा जंगलमा बाँसमा झन्डा राखेर गाड्थ्यौं । हिजोआज के गरिन्छ थाहा छैन । जनयुद्धमा लागेपछि मिलनसार भाइ कमरेड गुमाउँदाको पीडा शब्दमा व्यक्त गर्न कठिन छ ।

त्यतिबेला हिँडडुल गर्न सजिलो थिएन । सञ्चार सुविधा सहज हुने कुरै भएन । त्यसताका रेडियोबाट प्रसारित समाचारको भर पर्नुपथ्र्यो । दिनेशको सहादतको समाचार रेडियोमा समेत प्रसारण भयो । समाचारमा भनियो, ‘२०६२ पुस ४ गते आतंककारीसँगको मुठभेदमा च्यास्मिटारको होन्डाखा जंगलमा सेनाको गोली लागेर दिनेश भनिने आतंककारीको मृत्यु भएको पूर्वी पृतनाले जनाएको छ ।’

हलेसीगढीमा हामीले प्रहार गरेको बम पड्किएको थियोे भने सेना त्यहींबाट फर्कन्थे । त्यस दिन हाम्रा साथीहरू दुर्छिम काचुपात्लामा बस्ने योजनामा थिए । सोचेजस्तो भएको भए त्यस दिन सेनासँग हाम्रा साथीहरूको भेट हुँदैनथ्यो ।

प्रतिक्रिया दिनुहोस्