पिल्मो राई : मौलिक भाषा, संस्कृति, इतिहास भएको अलग जाति


पिल्मोहरुको सघन बसोबास रहेको पिल्मो गाउँ ।

नेपालको उत्तर-पूर्वी पहाडी भेगलाई विभिन्न जाति, भाषा र संस्कृतिको उद्गम भूमि भन्दा अत्युक्ति नहोला । यस भूभागमा उद्गम भएका किरातमध्ये एउटा राई हो । शाब्दिक रुपमा एक वचन भएपनिराईको जातीय संरचना बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक रहेको छ । राई जातिभित्र पृथक् भाषा र संस्कृति भएकोमध्ये एक पिल्मो ।

पिल्मो राई जातिको आफ्नै भाषा, संस्कृति, इतिहास र पहिचान छ । पिल्मो नेपालको आदिम जाति अथवा मूलबासीमध्ये एक हो । उनीहरुले आफूलाई पिल्मो भन्ने गर्दछन् भने अन्य जातिले पिल्मोङ भन्ने गरेको पाइन्छ । कसैले पिल्मोस् र पिल्मोछा पनि भन्ने गर्दछन् । पिल्मोलाई खसनेपाली भाषाको प्रभावमा पिल्मोङ भनिएको हो ।

पिल्मो राई जातिको स्वपहिचान भए पनि अहिलेसम्म अध्ययन गरिएको पाइँदैन । केही शोधकर्ताले पिल्मो नामसम्म उच्चारण गरेपनि गहिरो शोध गरिसकेको देखिँदैन । कसैकसैले अन्य जातिको वर्णन गर्ने क्रमसँगै थोरै लेखेको भेटिन्छ । ती लेखहरूले झन अस्पष्टता र अन्योलबनाएको देखिन्छ ।

किरात राई यायोक्खा, केन्द्रीय समितिद्वारा प्रकाशित राई भाषाको सूचीमा पिल्मोलाई पोल्माचा उल्लेख गरिएको छ । वर्तमान अवस्थासम्म पिल्मो राई जातिको भाषा र संस्कृति जीवित भए पनि लेख्या पद्धतितर्फ उन्मुख भएको छैन ।

पिल्मो राई जातिहरु सरल, सोझो र इमान्दार हुन्छन् । जाँड-रक्सी र मासुभात यो जातिको सबैभन्दा मनपर्ने पारम्परिक र सांस्कृतिक खानपिन हो । अन्य पारम्परिक र सांस्कृतिक खानपिन हुन्- कोदो, फापर र मकैको ढिंड़ो, मकैको च्याख्लाको भात, सिस्नु, किनामा (गोयोङ), कन्दमूल, उसिनेको आलु, उसिनेकोइस्कुस, पिँडालु इत्यादि । वाचिप्पा, फोल्दोङ, लुम्ती र नोक्थु चाहिँ पिल्मो राई जातिको प्रमुख खाना हो । पिल्मो राई जातिले जाँड़का धेरै परिकार बनाएर पिउँछन्- नुर्मा अथवा पुम्पादी, बाचासी, चोक्सर, तोङ्बा इत्यादि ।

पिल्मो उद्गम

पिल्मो शब्दको न्वारान भएको ठाउँ अर्थात् उद्गम भूमि हो- माझकिरातको खम्बुवान क्षेत्रमा अवस्थित हुङ्गाखोला उपत्यका(सोलुखुम्बु)भित्र पर्ने देतेलको जारिस्खोउ ।

मौखिक इतिहासअनुसार आदिम कालमा खोटाङको रावा-रादाम्माबाट आएरखप्दुलु देतेल् भूमिमा बसोबास गरेको थियो । खप्दुलु र उनको परिवार फालिकोटको साम्पाङकी छोरीसँग थोरै समय रिक्खो (हुलु डाँडाको फेदको छेउछाउ भूभाग)मा बसोबास गरे । त्यसपश्चात् देतेल (आजको पिल्मोङ) गएर स्थायी बसोबास गरे ।

तीन भाइ छोराहरू जन्मिएपश्चात् खप्दुलुको मृत्यु भयो । खप्दुलुका छोराहरूमध्ये जेठो ताप्तिमुर र माहिलो काकानारिजनलाई फालिकोटका साम्पाङ मामा-मावलीद्वारा अरुण नदीको सतिघाटमा बगाएर मारिएको इतिहास सुन्न पाइन्छ ।

खप्दुलुका कान्छो छोरो छाम्पानामलाई बचाउन मावली बजु सफल भइन् । त्यसबेलादेखि पिल्मोङ राई जातिले सतिघाटबाट अरुण नदी नतर्ने संस्कार चलिआएको छ । यो कुराबुज्रुकहरूबाट ताजा घटनाझैं सुन्न पाइन्छ ।

खप् नामको कुलुङकी चेली खप्दुछेम थिइन् । खप्दुलुको कान्छो छोरो छाम्पानाम र खपकी चेली खप्दुछेम वैवाहिक बन्धनमा बाँधिएर बसोबासको लागि जारिस्खोउ पुगेका थिए । तिलकशङ्खर कुलुङद्वारा लिखत पुस्तक ‘किराँत कुलुङ (राईको) वंशावली तथा संस्कारऔसंस्कृत’मा छाम्पानाम र खप्दुछेमको प्रेमविवाह भएको वर्णन गरिएको छ ।

जारिस्खोउकोजङ्गलमा बसोबास गर्ने क्रममा खप्दुछेमले छोरो जन्माइन् । उनको नाम बच्चाको मामाखपले पिपिल राखिदिएका थिए । रत्नबहादुर कुलुङ राईले लेखेको पुस्तक ‘किरात कुलुङ वंशाली कथा’मा पिपिलको सन्तान नै पिल्मो जातिमा परिणत भएको उल्लेख छ ।

मामा खपले भाञ्जाको नाम पिपिल राखिदिएपछि पिल्मो राई जातिमा आमापट्टिका बाजेबजै वा मावलीले न्वारानमा बालकको नाम राखिदिने प्रथा स्थापित भएको थियो । त्यसैले हिजोआज पनि पिल्मो राई जातिमा मावली बजै या बाजेले बालकको नाम राखिदिने दस्तुर प्रचलन रहिआएको छ ।

ताम्सी र छेम्सीको बाबु खपले ज्वाइँ छाम्पानाम र चेली खप्दुछेमलाई छुम्रिखाम (दाइजो)का रुपमा वास्दोउ जमिन दिएका थिए भनेरपुर्खाहरू बताउँछन् । यो कुरा तिलकशङ्खर सोम्फोरू कुलुङले लेखेको पुस्तक ‘किराँत कुलुङ (राईको) वंशावली तथा संस्कार-संस्कृति’मा पनि वर्णन गरिएको पाइन्छ ।

त्यस समयमा खप् कुलुङको बसोबास भएको स्थानलाई खपयी भनिन्छ ।त्यो भूमि बोतेल (बोदेल) भन्ने जग्गाको छेउमा छ भनेर विज्ञ पुर्खाहरू इतिहास बताउँछन् । खपयी र बोतेल उर्बुवाको पल्लोभाग पूर्व दिशामा अवस्थित छ ।

त्यही पुर्खाको नामपिपिल नै अपभ्रंश भएर पिल्मो हुन गयो । देतेल भनेर चिनिएको ठाउँलाई पिल्मो बनाइएको छ । आदिम कालमा पिपिल बसेको भूमिलाई पिल्मो भनियो । कालान्तरमा भूमि र जातिको नाम नै पिल्मो हुन पुगेको विज्ञ पुर्खाहरू इतिहास बताउँछन् ।

पिल्मोका सन्तानमध्ये थोप बसाइँ सरेर नाम्लुमा बसोबास गर्न पुग्यो । उनी तोस् नोक्छो थिए । जन्मभूमिमा बसोबास गर्ने पुर्खा मरौपरौको संस्कार गर्ने लाछोछा भएको थियो । दाजुभाइ आपसमा छुट्टिँदा आफूसँग रहेको कला सँगसँगै लिएर जाने भएकोले स्वत: संस्कृति अंशबन्डा हुन पुग्यो ।

जन्मभूमिमा बसोबास गर्नेको सन्तान लाछोछा र नाम्लु पुग्नेको सन्तान तोस् पुजारी भएको थियो भन्ने सामाजिक लोकइतिहास छ । पिल्मो दाजुभाइ छुटेर नाम्लु जाँदा आपसमा कुटुम्बेरी गर्ने छुर्देनाम् अर्थात् सभा साद्दिमा गरे भनेर पुर्खाहरू बताउँछन् ।

नाम्लु बसोबास गर्नेथोपका सन्तानमध्ये एकजना चोचोलुङ गए । चोचोलुङ पुग्नेको सन्तान पनि तोस् पुजारी नै भएको थियो ।

पिल्मोङ : किपटभूमि

अमेरिकी शोधार्थी चाल्स् माइकडुगालले आफ्नो शोधपत्रमा कुलुङ, सोताङ र पिल्मोङ अलगअलग किपटभूमि हो भन्ने उल्लेख गर्दै तीनै समूह फरकफरक जाति भएको बताएका छन् । चाल्स् माइकडुगालले यस क्षेत्रको समग्र भूभाग महाकुलुङ अथवा सोताङ-कुलुङ दुवै नामले परिचित भएको उल्लेख गरेका छन् ।

सोताङ, पिल्मोङ र कुलुङ भूमि तीन किपटमा परिणत हुनुपूर्व यी क्षेत्रहरू स्वतन्त्र राज्यका रुपमारहेको सामाजिक संरचनाबाट देखिन्छ ।

चाल्स् माइकडुगालको पुस्तकअनुसार हुङ्गा उपत्यकाभित्रको किपटमध्ये सबभन्दा ठूलो किपट पिल्मोङथियो । भूपधवज थोमरोसद्वारा लिखित ‘कुलुङ सांस्कृतिक अध्ययन'(२०५७) मा उल्लेख भएअनुसार पिल्मोङको सिमाना पूर्वमा फुलवाती खोला, पश्चिममा बुङको ठाडो बाटो, उत्तरमा मेरा हिमाल तथा चीन स्वशासित तिब्बत र दक्षिणमा हुङ्गाखोला रहेको छ ।

पिल्मोङ भाषा

पिल्मो राई जातिको उद्गम र मुख्यबसोबास विकट र अनकन्टार क्षेत्रका देतेल, चोचोलु र नाम्लु गाउँमा रहेको छ । यस क्षेत्रमा इरिङबाहेक अर्को भाषा बोल्ने जातिको बसोबास छैन । अहिलेसम्म बाहिरी संसारको प्रभाव अत्यन्त कम परेको देखिन्छ । यसकारण, यी गाउँहरूमा पिल्मो भाषा त्यति खस्किएको छैन । पिल्मो राई जातिले आफ्नो भाषालाई इरिङ भन्ने गर्दछ ।

पिल्मो शिलालेख

पिल्मो राई जातिको पितृभूमि राङदाङ (कोठे)मा साम्फो-छाम्पा अर्थात् शिलालेखरहेको छ । यो शिलालेख किरातकालीन मानिएको छ । पिल्मो राई जातिका पुर्खाद्वारा कुँदिएको शिलालेख संरक्षणको अभावमा जीर्ण बेवारिसे अवस्थामा रहेको छ । सम्भवत: यो अक्षरात्मक लिपिभन्दा पहिलेको चिन्हात्मक लिपि हुनपर्छ । यो शिलालेख ऐतिहासिक धरोहर भएकोले संरक्षणको लागि शोधकार्य गर्न र व्यापक प्रचारप्रसारको अभाव खट्किरहेको देखिन्छ ।

पिल्मो भेषभूषा

पिल्मो जातिले अल्लोको बोक्रा काढेर निकालिएको रेशाबाट बुनिएको कपडा लगाउने गर्दछन् । अल्लोको धागोबाट उत्पादन गरिएको कपडा मरौपरौ, पूजाआजा र अन्य सामाजिक संस्कारमा अनिवार्य रूपमा प्रयोग गर्दछन् ।

मरौमा प्रयोग गरिने धागो पनि मजितो वनस्पति उसिनेर बनाइएको रङमा रङ्गाएको हुनुपर्दछ, जसलाई कोतवोलुम् भन्ने गर्दछन् । अल्लोको रेशाबाट बुनिने सामग्रीलाई लुक्स्पा, लालाचार, जेलेम्मा, दोक्खु, फेङ्गा, ओन्चे, बुम्छारी, आम्रोम्, तोङरिम्, सुता, तोदोम, सिरिप्, सिकिरी आल्मारी, तोङ्कम्मा, बप्तेइ, लुक्चुम्, फाजी, फेक्सुम्, बोक्चा आदि भन्दछन् ।

जनसंख्या र थर

पिल्मो राई जातिको जनसंख्या कति छ भन्ने कतै पनिउल्लेख छैन । यो जाति नेपाल, भारत, भूटान, जापान, कोरिया, अस्ट्रेलिया, हङकङ, युरोप र अमेरिकालगायत संसारका विभिन्न भागमा छरिएर स्थायी तथा अस्थायी रूपमा बसोबास गरिरहेकाछन् ।

पिल्मो राई जाति भौगोलिक विकटताले तीन समूहमा बाँडिएका छन् जसलाई पिल्मोवास्, नाम्लुवास् र चोचोलुवास् भन्दछन् ।

यी तीन समूहका पिल्मो राई जातिमा भेटिएका थरहरू हुन्- होनित्ती, लोवात्ती,  दिरित्ती, रोजिपोस्, थोप्,  गोक्तुलु, छेन्हो, देउराम, खम्निसिङ, लामाखुस्, येइसा, दिरिखुस्, सुर्बा, छेन्दिसी, होलोत्ती, श्रीपोस्, छेइमाहो, हिन्दुखु, ताम्निहो, थोमरोस्, यातिहो,  छानिती, हादिमुल, फोवात्ती, होबित्ती, गुरूतीस्, सैमालुङ, राजित्ती, वाइसुर, रिङालु,  रेम्निसिङ, होपोत्ती, मोरोमूल, एन्होस्, छाम्नीहो, सायोपोस्, खारूती इत्यादि ।

मूलथलोदेखि स्थायी रूपमा अन्यत्र स्थान्तरण भएकाहरूले आफूलाई कतै पिल्मो, कतै चोचोलुस्, कतै नाम्लुवास्, कतै कुलुङ र कतै नाछिरिङ भन्ने गर्दछन् जसले गर्दा ठाउँअनुसार यस जातिको पहिचानमा भिन्नता देखिएको छ । तापनि आफ्नो पुर्खौली संस्कार-संस्कृति र भाषामा भने कुनै विचलन आएको देखिँदैन ।

संस्कृति र संस्कार

पिल्मो जातिको मौलिकता झल्किने विभिन्न संस्कृतिहरू छन् ।ती आदिम पुर्खा खप्दुलुले सृष्टि गरेको मानिन्छ । त्यसलाई छाम्पानामले परिस्कृत गरेर प्रयोगमा ल्याएको विश्वास गरिएको छ । खप्दुलुले सृष्टि गरिराखेको तोस पूजालाई निरन्तरता दिने क्रममा छाम्पानामले पिसेस्को स्थापना गरेका थिए, जो अद्यावधि छँदैछ ।

राङदाङमा रहेको शिलालेख ।

संस्कृति–संस्कारलाई सेक रिदुम् अथवा फप्रिदुम् पारिदुम् भनिन्छ । पिल्मो जातिले किरात धर्मभित्र पर्ने सुम्नी रिदुम् मान्ने गर्दछ जसमा मूलतः प्रकृति र पितृलाई पूजा-अर्चना र बन्दना गर्दछन् । चुला, मसुम, दाम्फे र दिछारीपिल्मो राई जातिको घरभित्रका प्रमुख पवित्र स्थान हुन् ।

यो जातिमा विवाह र घरपैंचो अथवा कुनै शुभकार्यमा मौंलिक गीत साखाम्बु रिसिवा गाइन्छ अनि रमाइलो गर्छन् र आफ्नै मौंलिक प्रकारको नृत्य गर्दछन् ।

व्यवसाय र सिप

बाँसको चोयाबाट घुम, नाम्लो, डोको (दुई परिकारको वोतो सेप् र छेर्बु सेप्), बरियो, थुन्से, डेली, खप्पा, बट्टा, बुन्यू, बोक्चुम, साम्बनाम इत्यादि सामग्रीहरू बुन्ने सीप-व्यवसायमा पिल्मो राई जाति संलग्न छ ।

पिल्मो जातिले चोया केलाएर सञ्चालन गरेको व्यवसाय अरू जातिको भन्दा फरक विशेषताको हुन्छ । यसकारण चोयाको व्यवसायमा पिल्मो जातिको प्रस्ट मौलिकता झल्किने गर्दछ । बाँस, मालिङ्गो, पर्‍याङ र निङ्गालोबाट विभिन्न सामग्री र औजारहरू तयार गर्छन् । जस्तै :धनु, काँड़को सर, सोला, पासोको खाँबा, मुनिउको लिङ्गो, ढडिया, छपनी, डोको, थुम्से, डालो, कोक्रो, काँङ्गियो, बिनायो इत्यादि ।

यस जातिले बाँस र बाँसको प्रजातिलाई आफ्नो सीप विकास गर्ने आधार बनाएको देखिन्छ । जन्मदेखि मृत्युसम्म बाँस र बाँस प्रजाति प्रयोग गरेर जीवन व्यतीत गर्दछन् । उनीहरु कोक्रोदेखि अर्थीसम्म बाँसकै प्रयोग गर्दछन् ।

खेतीपाती

सिकार खेलेर जीवन बिताउने सिलसिलामा छाम्पानामले खेतीपाती गर्न सुरुवात गरेका थिए । खेतीपाती गर्दा सुरुमा अन्नपानी उमारेको भूमिको नाम चारला हो । चारलामा अन्न उमार्न थालेपछि छाम्पानामले अन्यत्र वन फाँडेर खेतीपाती लगाउने जमिन निर्माण गरेको मौखिक इतिहास छ ।

पशुपालन

जारिस्खोउमा बसोबास गरेको समयमा छाम्पानाम र खप्दुछेमले पशुपालन व्यवसाय सुरु गरेका थिए । पशुपालन गरिएको ठाउँमा गाई ब्याएको थियो । त्यो ठाउँको नाम पिपोस्को अर्थात् ‘गाई बियाउने ठाउँ’ रहन गएको लोककथा छ ।

पिल्मो राई जातिको खेतीपाती र पशुपालन गर्ने पृथकपृथक जमिन रहेको छ । उनीहरुलेआफूलाईआवश्यक नभएको जमिन अन्य जातिलाई पशुचरण गर्न दिने गर्दथे । त्यसका लागि निश्चित दस्तुर बुझाउने सम्झौता गर्दथे । पशुचरणको लागि छुटाइएको मुख्य भूभागहरूमा भीरथाप्ला, खिरौल्या, छाराखर, खोलाखर्का, चेरेम, गाईखर्क, राङ्दाङ्, मेरा इत्यादि पर्दछन् ।

पशुपालनमा चाहिँ मुख्यत: भेडा, चौरीगाई, भैँसी, औलोगाई पर्दछन् ।

आयस्रोत

पिल्मो जातिको जीवन निर्वाहको मूलस्रोत खेतीपाती हो । मकै र कोदो मुख्य खेतीपाती रहेको छ भने सहायक खेतीको रूपमागहुँ, जौ, कागुनो, फापर, आलु, पिँडालु, इस्कुल उब्जाउने गर्दछन् ।

पहाडी क्षेत्र भएको हुँदा खेतीपाती गरिने जमीनको उर्वरा शक्ति कम रहेको छ । किसानले गरेको परिश्रमको तुलनामा अन्नपानी धेरै कम उब्जनी हुने गर्दछ ।

प्रत्येक परिवारले सुँगुर र कुखुरा पाल्ने गर्दछन् । त्यो आम्दानीको स्रोतका रुपमा नभएर मूलत: कुलदेवता पुज्नको लागि पालिएको हुन्छ । जीविकोपार्जनको रूपमा यो जातिले आधुनिक ढाँचामा पशुपालन सुरू गरेको आजसम्म भेटिएको छैन । थुप्रै कारणले पिल्मोहरू आधुनिकता र शिक्षाको किरणबाट ओझेलिएका छन् ।

तोस : कुलदेवता उत्खनन

पिल्मो समाजले विभिन्न कुलदेलता मान्ने गर्दछन् । कुलदेलता पुज्दा आदिम् पुर्खालाई असल पितृ सम्झेर सम्मान गर्ने गर्दछन् । कुलदेवतालाई बखान गर्दा आदिम पुर्खाले पितृ हुनुपूर्व घुमफिर गर्दा पाइला टेकेको भूमि र चर्चेका ठाउँहरू पुकार्ने गर्दछन् ।

बुङस्थित तोस्खम खप्दुलुको मृत्युपश्चात् छाम्पानामले सम्हालेका थिए । पुस्तान्तरण हुँदै आउँदा तोस् पुजारी भएका थिए थोप । थोपका वंशहरू हुङ्गाखोलापारि नाम्लुमा बसाइँ गए । समय बित्दै गएपछि उनीहरु हुङ्गाखोला तरेर तोस् पूजागर्न वारि आउन असम्भव भयो । त्यसैले बन्द रहेको तोस्खम २०६७ सालमा उत्खनन् गरेर पुनः तोस् पूजा स्थापित गरिएको छ ।

पिल्मो जातिमा नागि र देदाम पूजालाई सृष्टिकालदेखि महत्वका साथ मानिँदै ल्याएको जनविश्वास छ ।

कुलदेवता पुज्दा जाँड़-रक्सी नितान्त आवश्यक सर्दाम (सामग्री) हो । तर,पिल्मो जातिमा उपवास बसेर पूजा गर्ने नियम र संस्कृति भने छैन ।

कुलदेवता पुज्ने र अन्य सांस्कृतिक कार्य गर्ने पुर्खाले तोङ्कम्मा, फेङ्गा र बप्तेइ जस्ता पहिरन प्रयोग गर्ने गर्दछन् । साथै गलामा तुकुर पहिरिने चलन छ ।

मृत्यु संस्कार: मृत्युको प्राग्इतिहास

पिल्मो समुदायमा मृतकको शव घरभित्र चुलाको एकापट्टि मूलदैलो सिधा तेर्सो पारेर राखेर ‘सिम् रिदुम्’ गर्ने गरिन्छ । त्यसपश्चात् देब्रेबाटचुलावरिपरि एक फन्कोघुमाएर शव दफन गर्न लैजान्छन् ।

मृतकको शवलाई अल्लोको धागोबाट बुनेको कपडाले बेरिन्छ । मृतकको शव दफनको लागि घरबाट बाहिर निकाल्दा योगिनी छल्ने चलन छ ।

मृतकको शव दफन घरको छेउको बारिमा गर्दछन् । मृतकको शव दफन गर्दा खुट्टा तन्काएर टाउकोले पोम्लालुङ देख्ने गरी गाडिन्छ ।

मृत्यु संस्कार गर्ने पुर्खालाई पिल्मो भाषा ‘इरिङ’मा सातिपुस् अथवा लाछोछा भनिन्छ । सातिपुसलाई सघाउने दुईजना साथीहरूलाई मोसोछा भन्दछन् ।

सातिपुसले मृतात्मालाई सम्झाउँदा यसो भनिन्छ,”कोक्चिलिप दाङ्गुम्माले रसिदोमा तेत्तेरेम् बजुलाई मर्न सिकाएपछि हामी मान्छे मर्न सिकेकाहौं ।”

मृतात्मालाई पोम्लालुङ पठाउँदा खेस्नाम् भन्ने जग्गामा भएको पोम्लावाकाउ (मृतात्मालाई खुवाउने पानी) पिउन लगाएर पठाउने संस्कार छ ।

पूर्णरूपमा पालना गर्दा अन्त्येष्टी क्रिया पैंतालीस दिनमा गर्नुपर्दछ ।यो समयलाई बराबर तीन भागमा विभाजन गरी नामकरण गरिएको हुन्छ: सिम्ला (पहिलो पन्ध्र दिन), वाइम्ला (दोस्रो पन्ध्र दिन) र काइम्ला (तेस्रो पन्ध्र दिन) ।

अन्त्येष्टी क्रियालाई सिलुम्काइम भन्दछन्। त्यस दिन मलामीहरूलाई फार्से (फुर्सद)दिइन्छ जसलाई रिङ्किम् भन्दछन् ।

पिल्मो राई जातिमा मृतकका आफन्तहरूले छाकजुठो र नुनतेल बार्ने परम्परा छैन । सुद्ध हुनु अथवा चोखिनुको लागि जाँड-रक्सी र मासुको सर्दाम अनिवार्य रूपमा चाहिन्छ ।

मोबोसुङ: पितृ पुज्ने थान

छाम्पानाम् पुर्खाले आफ्नो आराध्य पितृ निनाम्मा र कुलदेवता पुज्ने गर्दथ्यो । उनले कुलदेवता र आराध्य पितृ पुज्ने मोबोसुङ् (थान) स्थापना गरेका थिए । छाम्पानामले प्रतिस्थापित गरिराखेको मोबोसुङ् बेवारिसे अवस्थामा रहेको छ । त्यो मोबोसुङको भग्नावशेष आज पनि स्पस्ट देखिन्छ ।

यो मोबोसुङ ऐतिहासिक धरोहर भएकोले संरक्षण गर्न सबै पिल्मो जातिको ध्यान केन्द्रित हुनु आवश्यक छ । यहाँ पूजा गर्नाले मनोकामना पूर्ण हुने र सुखशान्ति प्राप्तहुन्छ भन्ने जनविश्वास र आस्था रहेको छ ।

मोबोसुङमा स्वयं प्रकृतिले नै निनाम्मा र कुलदेवतालाई बाह्रै महिना अभिषेक गरिरहन्छ भन्ने विश्वास रहेको छ ।

दक्षता

शैक्षिक, आर्थिक र बौद्धिक क्षेत्रमा पछाडि परेर लोपोन्मुख बन्ने खतरामा पुगेको जाति हो पिल्मो राई । यस जातिबाट सरकारी जागिर, व्यापारका साथै राजनीतिक क्षेत्रमा सहभागिता अत्यन्तै न्यून रहेको देखिन्छ ।

पञ्चायत व्यवस्थाको उदयपश्चात् अक्कलझुक्कल पिल्मो राई जातिले स्थानीय तहमा उपाध्यक्ष पद सम्हाल्ने अवसर पाएको अभिलेख भेटिन्छ । हालसम्म पिल्मो राईले प्राप्त गरेको सबैभन्दा ठूलो राजनीतिक पद स्थानीय तहको उपाध्यक्ष रहेको बुझिन्छ । त्यो पनि पिल्मो राई जातिको दक्षता मूल्यांकन गरेर नभई पिल्मो राईको निर्णायक मत देखेर अध्यक्ष पद सुनिश्चित गर्नका लागि दिने गरिएको कुरा आजका पुस्ताले अनुभव गरिरहेका छन् ।

मूल बसोबास क्षेत्रभन्दा बाहिर पनि पिल्मो जातिको सामाजिक अग्रसरता त्यति पाइँदैन । कतै भए पनि एकदमै न्यून प्रभाव देखिन्छ । आजसम्म पिल्मो जातिमा सामाजिक सचेतना, अग्रसरता र अवसरमा स्थान न्यून रहे पनि अब भने जुरमुराउने स्थिति देखिँदै छ ।

आभार

यो लेख तयार गर्न थुप्रै अग्रजहरूले आआफ्नो हैसियतमा सहयोग गर्नुभएकोमा वहाँहरुप्रति मुरीमुरी कृतज्ञता व्यक्त गर्दछु । सबैको नाम यहाँ उल्लेख गर्न नसकेकोमा म क्षमा याचना गर्दछु ।

पासिङ छिर्माखा (पास्टेङ्गा), सिक्किम

प्रतिक्रिया दिनुहोस्