देउखुरी (दाङ) । ठाडो उकालो । पिठ्यूँमा डोको । डोकोमा गाग्रीभरि पानी । त्यसमाथि बालबच्चा बोकेर दैनिक पानीको जोहो गर्नुपर्ने बाध्यता । घोराही उपमहानगरपालिका–१९, खोलीगाउँका महिलाका पीडा यस्तै छ । एक गाग्री पानी लिन दैनिक उकालो–ओरालो गर्नुपर्ने बाध्यताका कारण उनीहरूको बिहानभरको समय त्यतै बित्छ ।
एउटै मुहानको पानी प्रयोग गर्ने ३१ परिवार छन् । घोराही बजारबाट बढीमा नौ किलोमिटरको दूरीमा रहेको विकट क्षेत्र खोलीगाउँ पानी नपाएर छट्पटिएको छ । सहज रूपमा पानी पाउन सकिँदैन । “सानो धारो आउँछ, दुई दिनमा एक दिनमात्रै पानी आउँछ । एक दिन पानीको जोहो गर्न सकिएन भने खानेपानीको समस्या हुन्छ,” खोलीगाँउकी लक्ष्मी घर्तीले भनिन् ।
पानी नुहँदा बालबालिकाले नुहाउन पाएका छैनन् । सरसफाइमा पनि बाधा पुगेको छ । गाईबस्तुलाई खुवाउनु र तरकारी खेती गर्नु परको कुरा भयो । व्यवस्था फेरिए पनि अवस्था फेरिएको छैन । गाउँवासीले डोकोमा एक घन्टा ठाडो उकालोबाट पानी बोकेरै दैनिक गुजारा चलाउनुपरेको घर्तीले बताइन् ।
सिमको संकलित पानीले यहाँका गाउँलेले दैनिक गुजारा गर्दै आएका छन् । एक गाग्री पानी भर्न एक घन्टा लाग्छ । यहाँ खानेपानी, बिजुली, विद्यालय, स्वास्थ्य सेवा र सहज बाटोघाटो पनि छैन । “गाउँमा विद्यालय छैन, बालबालिकालाई सहज रूपमा विद्यालय पठाउन कठिन छ,” स्थानीय विपना पुनमगरले सुनाइन् । पानी आाउन छाड्यो भने मुहानसम्म पुग्नै एक दिन लाग्छ । जसोतसो ल्याएको पानी मुस्किलले तीन घन्टा आउँछ । तर, त्यो पानी पनि आलोपालो भर्नुपर्ने बाध्यता छ ।
गाउँमा पानीपीडा भोग्दै आएका यहाँका धेरै बासिन्दाकोे दैनिक गुजाराका लागि पानीकै समस्या छ । वर्षौंदेखि डोकोमा गाग्री राखेर पानी बोक्दाबोक्दै कति नाम्लोका डोरी चुँडिए, कति डोका फाटे तर पानी सहज हुन सकेको छैन । एक गाग्री पानी लिएर घर पुग्दा सबैलाई ठूलै युद्ध जितेजस्तै हुन्छ । खोलीगाउँका सुकमती पुनमगरले तीन घन्टा समय खर्चेर गाग्रीमा पानी लिएर आउने गरेको बताइन् । खोलीगाउँका सबैले पुस्तौँदेखि खानेपानीका लागि यसरी नै संघर्ष गर्दै आएका छन् । घरमा साना नानी छन् । घरको काम हतार–हतार सकेर पानी लिन धारोमा पुग्नुपर्छ । ढिलो गयो भने धारो सुक्छ । दुई दिनसम्म पानी भर्न पाइँदैन ।
स्थानीयले जनश्रमदान गरेर बनाएको पानीको स्रोत संवत् २०७२ को भूकम्पले धक्का दिएपछि मूलबाट पानी आउन छाडेको छ । बिहान–बेलुकाको अधिकांश समय पानी बोकेरै बित्ने भएकाले खेतीकिसान गर्नसमेत समस्या हुने गरेको छ । पानी समस्याले गाउँलेले धेरै दुःख पाएको र चुनावका बेलामा सबैले यो गर्छौं, त्यो गर्छौं भने पनि आफूहरूले कतैबाट सहयोग नपाएको उनले गुनासो गरिन् ।
पानी नभएकै कारण महिनौँ दिनसम्म नुहाउन पनि नपाएको स्थानीयले गुनासो गरे । यस क्षेत्र सदीयौँदेखि बसेको बस्ती हो । यहाँको आयआर्जनको स्रोत खास केही छैन । अन्नबाली लगाए जंगली जनावरले सखाप पारिदिन्छ । अदुवा, बेसार मुस्किलले उब्जन्छ । त्यही बेचेर चामल किनेर खानुपर्ने अवस्था रहेको स्थानीय देवबहादुर पुनले बताए । बलिया र जवान युवामध्ये कोही कामको खोजीमा सहर पसेका छन् भने कोही भारत पुगेका छन् । उनीहरूले कमाएर पठाउने पैसाले खाने, बालबच्चा तथा परिवारको लालनपालन, शिक्षा–दीक्षा, उपचार खर्च चलाउने गरिएको र अन्य आधारभूत सुविधा नपाएको स्थानीयको दुःखेसो थियो ।
घोराही उपमहानगरपालिका–१९ का वडाध्यक्ष हर्कबहादुर घर्तीले नागरिकको आवश्यकतालाई प्राथमिकताका आधारमा सम्बोधन गर्दै लगिएको बताए । पानीका लागि पाइप ल्याइएको छ तर व्यवस्थित गर्न बाँकी छ । सबैलाई सहज रूपमा सेवा दिन भूगोल र बजेट बाधक रहेको उघर्तीको भनाइ छ । विकासका काम बिस्तारै हुने भएकाले केही समय लागेको उनले भने ।