त्यो समयमा दार्जिलिङमा नेपालीबाहेक अन्य सबै विषय पाँच कक्षादेखि नै अंग्रेजीमा पढाइन्थ्यो । कक्षामा नेपालीबाहेक अन्य समयमा नेपाली भाषा बोल्यो कि सजाय पाइन्थ्यो । एसएलसी त त्यतिखेर १८/२० वर्षको उमेरभन्दा अगाडि कसैले गर्न सक्दैनथ्यो ।
त्यतिखेर माक्र्सवादी किताब त्यहाँ बहुत कम पाइन्थे । मैले भेट्टाएजति माक्र्सवादी किताब सबै नै पढें । त्यतिखेर म पढ्नमा अलि बढी नै ध्यान दिन्थें । सुरु–सुरुमा म बढी मात्रामा जासुसी उपन्यास पढ्ने गर्थें । दार्जिलिङको चोकबजारमा गोर्खा लाइबे्ररी नामको एक लाइब्रेरी थियो । म त्यहाँबाट किताब ल्याएर पढ्थें । घरमा पढ्न नभ्याएपछि स्कुलमा लगेर पनि पढ्ने गर्थें । अंग्रेजी र गणित विषयको पालोमा कक्षामा ध्यान दिन्थें । अरू कुनै पनि विषयमा ध्यान दिन्नथें । अरूबेला डेस्कमुनि राखेर उपन्यासका किताब ‘टिचर’ले थाहा नपाउनेगरी पढ्थें । त्यसरी म लाइब्रेरीबाट ल्याएर दिनको एउटा उपन्यास पढी सिध्याउँथें । पछि म त्यो लाइब्रेरीमा सबैभन्दा बढी किताब पढ्ने ठहरिएँ । र, त्यही सन्दर्र्भमा म लाइब्रेरीबाट पुरस्कृत पनि भएँ । यस विषयमा एउटा रोचक घटना छ ।
लाइब्रेरीको रेकर्ड हेर्दा सबैभन्दा बढी किताब लैजानेमा आफू परिएछ । तर, बढी किताब लैजानेमा मेरो रेकर्ड भए पनि सबै पढिएकै छ भन्ने कुरा त प्रमाणित हुन्न । यसको निक्र्यौल गर्न तीनजना ‘जज’ राखेर जाँच्ने व्यवस्था लाइब्रेरीले मिलायो । फलाना किताबमा के लेख्या छ, फलाना कुरा कुन किताबको हो ? आदि प्रश्न ‘जज’ले सोध्थे । त्यतिखेर मेरो स्मरणशक्ति पनि शक्तिशाली थियो । जम्मै प्रश्नको जवाफ म फटाफट् दिन्थें । म त ‘फस्र्ट’ भइहालें ।
ठुल्ठूला क्रान्तिकारीबारे, पुलिसकी छोरीले ठूलो क्रान्ति गर्ने, पुलिस अफिसर नै क्रान्तिको कमान्डर हुने आदिजस्ता रोमाञ्चकारी किताब पढ्ने काम मैले गरें । यी कुराले पनि मलाई धेरै असर पारे । तर, त्यतिबेला माक्र्सवादी सिद्धान्तको अध्ययन व्यवस्थित ढंगले गर्न सकिनँ । म कम्युनिस्ट पार्टीको काठमाडौं जिल्ला सेक्रेटरी भइसक्दासम्म पनि मैले माक्र्सवादलाई टुक्राटुक्री फुटकर रूपमा मात्र अध्ययन गर्न सकेको थिएँ । बर्माको ‘माक्र्सवाद क्या है ?’ जस्ता किताबसम्म मात्र मैले पढ्न भ्याएथें । मैले माक्र्सवाद गम्भीरतापूर्वक पढ्न थालेको नख्खु जेल परेपछि मात्र हो । यो घटना सायद संवत् २०२१/०२२ तिरको होला ।
म स्कुल पढ्दै गर्दाको एउटा घटना । सायद म १५ वर्षको थिएँ । सात कक्षामा पढथें हुँला । म क्रिश्चियनको स्कुलमा पढ्थें । तर, ममा हिन्दुत्वको भावना भरिएको थियो । एक दिन अन्तिम पिरियडमा बेल्जियमको फादरले नैतिकविज्ञान पढाउँदा इशुको विषयमा टिपोट लेखाउँदै गरेका थिए । दुई लहरको डेस्कमा बसेर विद्यार्थी टिपोट लेखिरहेका थिए । फादर बीचमा तल–माथि हिँड्दै टिपोट भट्याइरहेका थिए । म ‘फस्र्ट बेन्च’मा त्यो पनि फादर घुम्ने छेवैको सिटमा बस्ने गर्थें ।
पाँच कक्षादेखि नेपालीबाहेक सबै विषय अंग्रेजीमै पढ्ने, लेख्ने हुनाले नैतिकविज्ञान पनि अंग्रेजीमै लेख्थ्यौं । एक्कासि फादरले नम्र आवाजमा भने, ‘मस्तराम (निर्मल लामा) ! स्ट्यान्ड अप एन्ड रिड योर नोट्स ।’ म जुरुक्कै उठें । तर, मैले आफ्नो नोट्स पढ्न सकिनँ । अरकच्च परिरहें । फादरले फेरि भने, ‘डोन्ट वरी, रिड ह्वाट यु ह्याभ रिटन । आई ह्याभ सीन इट ह्वेन यु वेयर राइटिङ सिरियस्ली ।’ डराई–डराई मैल पढ्न थालें । राम, राम, राम ! दुई पेज पूरा राम, राम नेपाली शब्दले भरिएको थियो । सम्पूर्ण कक्षा गलल्ल हाँस्यो ।
म डर र लाजले भुतुक्क भएँ । बीचैमा रोकेर फादरले भने, ‘इट इज फाइन । यु ह्याभ रिटन योर माइन्डस् भ्वाइस ।’ बल्ल मैले मुक्तिको सास फेरें । कक्षाको समय नसिद्धिँदै फादर गम्भीर भएर कक्षाबाहिर निस्के । अर्को साता त्यही पिरियडमा फादरले फुलस्केप कागजमा लिथो गरेको बीसवटा प्रश्न भएको प्रश्नपत्र सबै विद्यार्थीलाई बाँडेर एक वाक्यमा उत्तर दिने निर्देशन दिए ।
प्रश्नपत्रमा कस्तो रङ, कस्तो खाना, कस्तो किताब, कस्तो खेल, कस्तो संगत, पढाइमा कुन विषय मन पर्छ र घर बस्नु र घुम्नुमा कुन बढी मन पर्छ आदि प्रश्न थिए । ती कुरा अहिले सबै सम्झन सक्दिनँ । ती प्रश्न यति सजिला लागे कि मैले आफ्नो केही स्थिति नसोचीकन धमाधम उत्तर लेखें । मलाई निकै रमाइलो लाग्यो ।
अर्को साता फादरले पढेर रिजल्ट सुनाए । जसमा प्रत्येककोमा यसो नगर्नू, उसो नगर्नू भनी निषेध गर्नुपर्ने दुई वाक्य सुनाए । मेरो पालोमा ‘बिवेयर अफ रेड कलर एन्ड डाउन टु द पिपल’ (रातो रङ र गरिब गुरुबाबाट होसियार) सुनाइयो । मैले केही बुझिनँ । वास्ता पनि गरिनँ । त्यस्तै ‘के भनेको’ भनी सोध्दा पनि सोधिनँ ।
आज यस विषयमा चियाउँदा म के कुरा बुझ्छु भने, त्यो फादर पक्कै एक खाइलाग्दो किसिमको मनोवैज्ञानिक हुनुपर्छ । र, मेरा उत्तरभित्र उसले माक्र्सवादको बीज पाएको हुनुपर्छ । जे होस् अन्ततः म एउटा सचेत र प्रतिबद्ध कम्युनिस्ट भएँ ।
प्रस्तुति : तुल्सीदास महर्जन