मलेसियामा बाजेको समाधिस्थल पत्ता लगाउँदा सांसद राई भावुक


‘भावुक भएँ,’ सांसद राजन राईले विगत सम्झे, ‘मलेसियाको सेरामबुङमा बाजेको समाधिस्थल पत्तो लागेपछि एक्कासि भावुक भइहालें ।’

अनि ?

लगत्तै बाजेको समाधिमा फूल चढाएँ । त्यहाँ सिमेन्टेड ढुंगामा बाजेको नाम, पल्टनको नम्बर २११४६८२४ र निधन भएको मिति उल्लेख गरिएको थियो । नाम त धेरैको मिल्न सक्थ्यो । तर, पल्टनको नम्बर र गञ्जमणि राई लेखिएकाले बाजेकै समाधि हो भनेर पत्ता लगाउन सजिलो भयो ।

‘मेरो बाजे लाहुरे,’ सांसद राईले जानकारी गराए, ‘बुवा पनि लाहुरे । ‘चार वर्षअघि बाजेको समाधिस्थल मलेसियाको सेरामबुङमा फेलापारें,’ सांसद राईले जानकारी गराए, ‘मेरो बुवा पल्टनमै रहँदा बाजेको समाधिस्थल पत्ता लगाउन सक्नुभएको थिएन । तर, मैले पत्ता लगाएँ ।’

समाधिस्थल पत्ता लगाउन त्यति सजिलो थिएन । ‘पार्टी एकता हुनुअघि एमाले हुँदा म एसिया इन्चार्ज थिएँ । त्यतिबेला प्रवासी नेपाली मञ्च (पार्टी एकतापछि प्रवासी नेपाली एकता मञ्च)को कार्यक्रममा मलेसिया पुगेको थिएँ,’ उनले थपे, ‘प्रवासी नेपाली मञ्च मलेसियाको कार्यक्रममा पुग्दा मलेसियन राजदूतावासमा सम्पर्क गरें । प्रवासी नेपाली मञ्च मलेसियाका तात्कालिक उपाध्यक्ष (नाम सम्झन सकिनँ) र त्यतिबेला मलेसियाको डेपुटी चिफ अफ मिसन हेमलाल भट्टराईको विशेष सहयोगमा बाजेको समाधिस्थल पत्ता लगाउन सजिलो भयो । भट्टराई अवकाश हुनुभएको सुनें । उहाँलाई भेट्ने प्रवल इच्छा छ ।’

मलेसियाको निश्चित ठाउँमा गोर्खालीको समाधिस्थल रहेको छ । अहिलेको मलेसियालाई पहिले मलाया भनिन्थ्यो । बाजेको समाधि मलेसियाको सेरामबङमा छ भनेर उनलाई बुवाले भनेका थिए । बुवाले बाजेको नम्बरसमेत सुनाएका थिए । त्यसले नै हो, बाजेको समाधिस्थल पत्ता लगाउन सजिलो भएको हो ।

‘बाजेको समाधिस्थलको माटो श्रद्धापूर्वक लिएर नेपाल फर्केको थिएँ,’ उनको भनाइ थियो, ‘त्यो माटो बोजुको समाधिमा राखिदियौं । त्यतिबेला बुवाले जानेको मन्त्र जपेर माटो राखेका हौं ।’

गञ्जमणि राई (सांसद राजन राईको बाजे)को २६ वर्षको उमेरमा मलेसियामा निधन भएको थियो । गञ्जमणिको निधन हुँदा उनका छोरा (सांसद राजन राईका बुवा) रामशंकर राई चार वर्षका थिए । रामशंकर राई अवकाशप्राप्त गोरखा सैनिक ‘पेन्सनर’ हुन् ।

‘बाजे बित्दा बुवा चार वर्षको हुनुहुन्थ्यो रे । बाजे र बुवाको उमेर २२ को फरक रहेछ,’ सांसद राजन राईले सुदूरअतीत सम्झे, ‘बुवालाई बाजे बितेको सम्झना छैन रे । बाजे बितेपछि बुवाको कपाल काटियो रे । बुवाले मेरो कपाल किन काटेको भनेर सोध्दा तेरो बिहे भएको भनेर बुवालाई भनिएको थियो रे ।’

प्रतिक्रिया दिनुहोस्