सात रङ मिलेर सूर्यको प्रकाश बन्ने



सन् १६६५ को कुरा हो, एक नवयुवक बिदाको दिन आफ्नो गाउँ बुल्सवर्थ आएका थिए । उनकी आमाको गाउँमा सुन्दर बगैँचा थियो । ती नवयुवक एक दिन बगैँचाको रूखमुनि बसिरहेका थिए । त्यही बेला अकस्मात् एउटा स्याउको दाना रूखबाट जमिनमा खस्यो । उनले सोचे– स्याउको दाना किन सोझै जमिनमा खस्यो, किन माथितिर गएन ?

किन कुनै पनि वस्तु माथितिर, दायाँ, बायाँ जाँदैन ? किन तलमात्र खस्छ ? उनले सोचे– निश्चय पनि केही कारण हुनुपर्छ । यतिमात्र होइन, फूलको सानो थुँगादेखि लिएर विशाल आकाशमा रहेका तारासम्मको बीचमा कुनै न कुनै किसिमको आकर्षण बल छ ।
यसरी सोच्ने नवयुवक थिए– विश्वविख्यात वैज्ञानिक सर आइजक न्युटन ।

रूखबाट स्याउ जमिनमा झरेको आधारमा न्युटनले विश्वव्यापी गुरुत्वाकर्षणको सिद्धान्त प्रतिपादन गरे । यस सिद्धान्तका अनुसार ब्रह्माण्डका प्रत्येक वस्तु एक–अर्कालाई आकर्षणको बलद्वारा तानिरहेका थिए, जो तिनीहरूको द्रव्यमानको गुणनफलको समानुपातिक तथा दूरीको वर्गको व्युतक्रमानुपातिक हुने गर्छ ।

सर आइजक न्युटनलाई भौतिकविज्ञानका जन्मदातासमेत भन्ने गरिन्छ । उनको गणना आज पनि विश्वका महान् वैज्ञानिकमै हुने गर्छ । एउटा आश्चर्यको कुरा छ, २६ डिसेम्बर १६४२ मा बुल्सवर्थमा जन्मेका सर आइजक न्युटनलाई एक चिकित्सकले यो बालक केही महिना मात्र बाँच्छ भनी घोषणा गरेका थिए ।

न्युटनको बाल्यकाल पनि धेरै चाखलाग्दो छ । उनले १२ वर्षको उमेरमा विद्यालय जान सुरु गरे । स्कुलमा उनी धेरै प्रतिभाशाली विद्यार्थी रहेनन् तर चित्रकला र यन्त्रविज्ञानमा उनको विशेष रुचि थियो । उनको त्यो प्रतिभालाई देखेर उनका काकाले १९ वर्षको उमेरमा क्याम्ब्रिज विश्वविद्यालयको ट्रिनिटी कलेजमा भर्ना गरिदिए ।

सन् १६६५ मा उनले ग्य्राजुएसन गरे । उनलाई सोही कलेजमा गणितका चिरपरिचित प्रोफेसर आइजक बैरोसँग काम गर्ने अवसर प्राप्त भयो । प्रो. बैरोले न्युटनमा असाधारण प्रतिभा देखे । सन् १६६९ मा बैरोले आफू सेवानिवृत्त भई न्युटनलाई आफ्नो स्थानमा नियुक्ति दिए । २७ वर्षको उमेरमा न्युटन ट्रिनिटी कलेजमा गणितको प्रोफेसर पदमा नियुक्त भए ।

न्युटनको क्षमताबाट प्रभावित भएर सन् १६७२ मा उनी रोयल सोसाइटी, लन्डनको फेलो चुनिए, जुन विश्वकै ठूलो सम्मान थियो । न्युटनले प्रकृतिका अनेकौँ अन्जान रहस्यबारे कैयौँ नयाँ तथ्य पत्ता लगाए । उनले सूर्यको प्रकाश, जो हेर्दा सेतो देखिने गर्छ । त्यो वास्तवमा बैजनी, जामुनी, पहेँलो, नीलो, हरियो, रातो, कालोलगायत सात रंग मिलेर बनेको छ भन्ने कुरा पत्ता लगाए । यी सात रंग मिलाएमा सेतो रंग बन्छ भन्ने प्रमाणित गरेर देखाए ।

न्युटनले गतिका तीन नियम प्रतिपादन गरेका थिए, जुन आज पनि भौतिकविज्ञानमा पढाउने गरिन्छ । न्युटनले गणितमा क्याल्कुलसको जग नै हाले । वास्तवमा न्युटनले नै गणित र भौतिकशास्त्रलाई नयाँ मोड दिएका थिए ।

न्युटनले आफ्नो खोजलाई दुई पुस्तक प्रकाशित गरेर लिपिबद्ध गरेका छन् । प्रकाशसँग सम्बन्धित उनको आविष्कार ‘आप्टिक्स’ नामक पुस्तकमा छापिए । अन्य आविष्कार ‘प्रन्सिपिया’ नामको पुस्तकमा छापिए ।

न्युटनबारे धेरै रोचक प्रसंग छन् तर एउटा घटनाविशेष महŒवको छ, जसले उनको महान् व्यक्तित्व र कृतित्वबारे प्रस्ट पार्छ । कुरा त्यसबेलाको हो, जब उनी ५१ वर्षका थिए । ट्रिनिटी कलेज, क्याम्ब्रिजका प्रोफेसर थिए । त्यसबेला न्युटन एउटा पुस्तक लेख्नमा व्यस्त थिए, जसमा उनका पछिल्ला वर्षमा गरिएका प्रयोगका विवरण थिए ।

एक दिन उनी गिर्जाघरमा प्रातःकालीन प्रार्थनामा गएका थिए । उनको एउटा स्वामीभक्त कुकुर थियो, जसको नाम डायमन्ड थियो । एक दिन उनको अनुपस्थितिमा टेबलमाथि एउटा मुसा आयो, त्यसमा रहेको कागज काट्न थाल्यो । कुुकुर त्यो दृश्य हेरिरहेको थियो, कुकुर मुसामाथि झम्ट्यो । त्यस छिनाझप्टीमा टेबलमा जलिरहेको मैनबत्ती ढल्यो । कागजमा आगो लाग्यो । न्युटन फर्केर आउँदा उनको वर्षौंदेखिको मिहिनेत खरानी भयो ।

यो घटनाले न्युटनको स्वास्थ्यमा गहिरो प्रभाव पर्यो । केही समय उनको तर्कशक्ति हराएजस्तै भयो । न्युटनले जीवनमा उच्च पदमा रहेरै काम गरे । उनी सधैँ विज्ञानको खोजीमा समर्पित भए । सन् १६८९ मा उनी विश्वविद्यालयको प्रतिनिधिका रूपमा संसद् सदस्य थिए । सन् १७०३ मा उनलाई रोयल सोसाइटी अध्यक्षमा चयन गरियो । त्यसपछि उनी अन्तिम समयसम्म रोयल सोसाइटीको अध्यक्ष नै रहे ।

सन् १७०५ मा उनलाई महारानी ऐनले क्याम्ब्रिज विश्वविद्यालयको एक समारोहमा ‘सर’को पदवीले विभूषित गरिन् । यसपछि पनि उनी निरन्तर विज्ञान सेवामा अनवरत लागिरहे । उनमा कहिल्यै पनि घमन्ड आएन ।

वृद्धावस्थामा पनि न्युटन खगोलीय पिण्डसँग सम्बन्धित खोजीकार्यमा निरन्तर लागिरहे । उनी ८५ वर्षको उमेरमा पनि रोयल सोसाइटी बैठकको अध्यक्षता गर्न सफल भए तर बैठकबाट फर्केपछि उनी बिरामी भए । २० मार्च १७२७ मा उनको निधन भयो ।

वैज्ञानिकका रूपमा न्युटन विश्वविख्यात छन् । उनलाई ग्यालिलियो र अल्बर्ट आइन्स्टाइनको समकक्षमा राखेर हेरिन्छ ।

प्रतिक्रिया दिनुहोस्