जनयुद्धका लागि सबथोक गुमाउन तयार कमरेड



ध्रुव बुढाथोकी ‘धिरन’ जनयुद्धका निम्ति सबथोक गुमाउन तयार योद्धाको नाम हो । एउटा योद्धामा हुनुपर्ने विशेषता धिरनमा प्रशस्तै थियोे । योद्धाले शिर झुकाउँदैन । गुलामी गर्दैन । आफूभन्दा माथिल्लो तहका नेतृत्वसँग संघर्ष गर्ने र तलका कार्यकर्तासँग सहकार्य गर्न खप्पीस लेनिनवादी संगठनात्मक पद्धतिमा हिँड्न रुचाउने धुरन्धर व्यक्तित्व ।

‘कम्युनिस्ट पार्टीको सदस्य भएपछि पार्टी अनुशासनलाई फलामे ढोकाका रूपमा ग्रहण गर्न सक्नुपर्छ,’ उनले बारम्बार सुझाउँथे, ‘उसलेमात्र पार्टी र सामाजिक जीवनमा आइपर्ने अनेकौं बाधा–व्यवधानसँग सिंगौरी खेल्दै समाधान गर्ने कुशल नेता तथा नेतृत्व बन्न सक्छ ।’ सम्बन्धित मानिस निजी जीवनका लागि मात्रै बाँच्नु भनेको कम्युनिस्ट नीतिप्रतिको बेइमान हो । समाजका निम्ति आफ्नो भन्ने सबै–सबै त्याग्नुसिवाय हाम्रो वशमा अरू केही हुँदैन भन्ने उनको बुझाइ छ ।

योङ कम्युनिस्ट लिग (वाईसीएल)को केन्द्रीय सचिवालय सदस्य (२०६३), जनकपुर–सगरमाथा क्षेत्रीय व्युरो अध्यक्ष र कोचिला राज्य समितिको पार्टी क्षेत्रीय व्युरो सचिवालय सदस्य (०६४)को भूमिका पाए ।

धिरनसँग पंक्तिकार ।

त्यतिबेला रामकुमार राई ‘पासाङ’ जिल्ला इन्चार्ज थिए । पासाङ पहिलो संविधानसभा सदस्यमा निर्वाचित भएपछि धिरनले नेकपा (माओवादी) खोटाङको जिल्ला इन्चार्जको भूमिका पाए । त्यसताका उनी वाईसीएलबाट खोटाङ तानिए ।

केही समयपछि पार्टीमा विचार लाइनको संघर्ष चल्यो । पूर्वाञ्चलमा मोहन वैध ‘किरण’को क्रान्तिकारी विचारधारा पक्षमा नेतृत्व गर्दै आफूलाई उनले अग्रगामी कित्तामा उभ्याए । उनीलगायत खोटाङका थुप्रै वैद्य समूहमा सामेल भए । उनले नेकपा–माओवादी पार्टीको पोलिटव्युरो सदस्यको जिम्मेवारी पाए । पछि रामबहादुर थापा ‘बादल’ समूह वैद्यबाट अलग्गिएर एकीकृत नेकपा माओवादीमा समाहित भए । उनीसमेत बादलको समूहमा समाहित भए । तत्पश्चात् एमालेसँग चुनावी सहकार्य गर्ने भनियो । पछि पार्टी एकता नै भयो ।

एमालेसँग पार्टी एकता भएपछि माओवादी नेताहरूको जिम्मेवारी घटबढ भयो । माओवादीभित्र जो–जो पीबीएम थिए, उनीहरू घटुवामा परे । त्यसमध्ये उनी एक थिए । त्यहाँदेखि पार्टीको केन्द्रीय सदस्य, पोलिटव्युरो सदस्य हुँदै पुनः नेकपा माओवादी केन्द्रको वैकल्पिक केन्द्रीय सदस्यको भूमिका निर्वाह गर्दै आएका छन् । उनी खोटाङको जनयुद्ध हाँक्ने नेतामात्र थिएनन्, जनमुक्ति सेनाको कुशल कमान्डर पनि हुन् । विशेषगरी पूर्वाञ्चलमा नाम चलेको र फौजी इतिहास रच्ने शालीन व्यक्तित्व उनले जनयुद्धलाई गरेको योगदानमात्रै सम्झने हो भने खर्बौं रकम खर्चेरसमेत इतिहास जन्माउन सकिँदैन ।

संवत् ०५१ देखि ०५४ सम्म भारतमा रहँँदा नेपालको जनयुद्धलाई प्रवासबाट सहयोग गरेका थिए । नेपाल फर्केपछि ०५६ मा माओवादीको पूर्णकालीन सदस्य भए । होनाहार योद्धाका रूपमा स्थापित हुन समय लागेन । माओवादी जनयुद्धमा लागेपछि उनलाई एक वर्षको अन्तरालमा पार्टीले सैन्य फाँटमा खटायो । ०५७ चैत्रदेखि ०६३ सम्म जनमुक्ति सेनाको साधारण सदस्यदेखि ब्रिगेड कमान्डर र सैन्य व्युरो पूर्वी कमान्डको जनरल स्टाफसम्मको उनी अफूले पाएको जिम्मेवारी कुशलपूर्वक सम्हाले ।

ध्रुव बुढाथोकी ‘धिरन’को जीवनमा सबैभन्दा पहिलो शाही सत्ताको दुस्मनमाथिको हमला सोलुको जुनबेंसी थियो । त्यसपछि ओखलढुंगा खानी भञ्ज्याङ, धोबीघाट रामेछाप, सोलु सल्लेरी, सिन्धुली भिमान, ओखलढुंगा रुम्जाटार, लालपत्ता उदयपुरगढी थियो भने बन्दीपुर, भोजपुर घोडेटार, उदयपुर जाँते, खोटाङ सदरमुकाम दिक्तेल, खोटाङ–भोजपुर सिमाना पानधारे मोर्चा, सिन्धुली, जरायोटार, धनकुटा, इलाम र धरानसम्म दर्जनौं युद्ध मोर्चा लडेको उनले अनुभूति सँगालेका छन् ।

युद्धको अग्रमोर्चा सम्हालेका उनलाई आधा दर्जन बढी गोली लागेको छ । खोटाङको ऐंसलुखर्कमा सबैभन्दा गम्भीर घाइते भए । जहाँ शरीरको देब्रेपट्टि इन्सासको गोलीले लागेर दाहिनेपट्टिको दुई करङ भाँचेको गोली दाहिने हातको नाडीमा रहेको थियो । तसर्थ, दाहिने हात सिधा गर्नसमेत हुँदैन ।

सोलुको सल्लेरी भिडन्तमा छाती र देब्रे हातमा शाही सेनाको थर्टी सिक्सको छर्रा लागेको थियो । लालपत्ताको भिडन्तमा घुँडामा गोली लाग्यो । उदयपुर र सिरहाको सीमाक्षेत्रमा देब्रे हातकै नाडीमा अर्काे गोली लागेको हो । ऐंसेलुखर्कमा लागेको गोली निकाल्न सकिँदैन । तसर्थ, नाडीमै बोकेर हिँडिरहेका छन् । यति धेरै गोली र गोलीका छर्राका दुखाइ सहेर पनि जिल्लावासीका सुख–दुःखमा त्यत्तिकै सक्रियसाथ राजनीतिक यात्रामा यात्रारत छन् ।

खोटाङको चिउरीडाँडा, दोर्पा दुम्बुलीमा संवत् ०३० मा बुवा टंकबहादुर बुढाथोकी र आमा कालीमाया बुढाथोकीका जेठा छोरा उनको दुई छोरीसहित छजनाको परिवार छ । उनलाई पंक्तिकारले फौजी र राजनीतिक पात्रका रूपमा विशेषतः जिललाको बडकादियालेको बैठकबाट चिनेका थिए । सामान्यतः उनी सैद्धान्तिक व्यक्तित्व हुन् ।

प्रतिक्रिया दिनुहोस्