साल्तेम्मा । हलेसी तुवाचुङ–५, दुर्छिम खोटाङको एक गाउँ । यही गाउँमा जन्मेका थिए–मनिकेशर राई । संवत् १९९२ असोजमा जन्मेका राईलाई बोलाउने र चिन्ने नाम थुप्रै थिए । उनलाई मुङ्गेम्पा, माइला राई र माटाबिला भनेर चिनिन्थ्यो । उनले छाडेर गएकामध्ये एउटा किताप हो– मेरीबुङ । ०५६ फागुन २९ गते उनी पितृ बस्ने घर गएका थिए ।
‘किताप’ के हो त ?
मानिसको निधनपछि पनि नाम चलिरहने काम गर्नेलाई पुर्खाको भाषामा किताप राख्ने भनिन्छ । यो कर्म गर्न त्यति सजिलो छैन । वरपीपल रोप्ने, आफ्नो संस्कृतिअनुसारको बोटबिरुवा रोप्ने, चिनो चौतारो चिन्ने, पाटीपौवा बनाउने, गोरेटो, घोडेटो बाटो खन्ने, ऐतिहासिक दस्तावेज तथा वंशावली लेख्ने र पाठशाला बनाउने कामलाई किताप राख्ने भनिन्छ ।
कथा मेरीबुङको
संवत् ०५१ भदौको एक दिन । छौवा (न्वागी) गर्ने समय । छौवा गर्न नछुङ (धामी)को टुंगो लगाउन बाजे मनिकेशर राईसँग पंक्तिकार नितुङनिवासी हिराम्पा नछुङकहाँ पुगे । छौवा गर्न शनिबार टुंगो लगाएर घर फर्कंदै थियौं । सिमसिम पानी परिरहेको थियो । नितुङकै जैसरीम्पाको घरमुनि मेरीबुङको एक ठिक्कको र अर्को दुई बिरुवा देखिए ।
गाउँलेले नछुङ कार्यमा प्रयोग हुने सेउली टिप्न प्रायः पंक्तिकारलाई पठाउँथे । पंक्तिकारले सो कर्म रुचिसाथ गर्थे । मेरीबुङ लिन टाढा जान नपरोस् भनेर बाजे मनिकेशरसँग सल्लाह गरी नितुङबाट मेरीबुङको बिरुवा ल्याएर डाँडाबारीको गोठमुनि रोपियो । बिरुवा हुर्कियो । त्यही मेरीबुङले साल्तेम्माका धेरैलाई काम दिएको छ । केही समय घाँसका रूपमा काटिएका कारण ठूलो रुख बनाउन र बिरुवा उत्पादन गर्न सकिएन । ०७९ कात्तिक १५ गते सहोदर भाइ अविन्द्र राईसँग सल्लाह गरी मेरीबुङलाई बाजेको कितापका रूपमा संरक्षण गर्ने निर्णय गरिएको छ ।
मेरीबुङको महत्व
किरात राई चाम्लिङ समुदायका प्रायः सबै संस्कारमा मेरीबुङ अनिवार्य चाहिन्छ । मेरीबुङ बाह्रमासै पाइन्छ । यो माछाक्मा गर्दा, ठूलो चिन्ता बसाउँदा, साम्खा, छौवा, वाडाको, खिमरुङ सैमा र मृत्यु संस्कार गर्दा प्रयोग गरिन्छ । यसलाई अर्थपूर्ण बनाउन वारीबुङ
(वाईमी)को पनि प्रयोग गरिन्छ । यो हलेसीगढीछेउ भीमसेनथाननजिक पाइन्छ । मेरीबुङ छापडाँडावरिपरि, हुम्ला भीर, नितुङ र मनिकेशर राईले रोपेको अविन्द्र राईको घुर्यानमा पाइन्छ । मेरीबुङको मुन्दुमी महत्व धेरै छ ।
अन्त्यमा
पुर्खाले छाडेर गएको ङेसुवा बोक्नु त छँदै छ । तर, अर्थपूर्ण र नियमपूर्वक सम्हाल्नुपर्छ । यस्ता धेरै विषय उजागर गर्नुपर्छ । सबैले सबै विषयको चासोसाथ संरक्षणमा जुटौं । पुर्र्खाले हामीलाई बहुमूल्य विषय दिएका छन् । यसलाई जोगाई भावी सन्ततिलाई सुम्पनुपर्छ ।