हाम्रा स्कुल कसरी चलेका छन् ? सहरका पढाइमा के अन्तर छ ? बालबालिकाले कसरी पढाइ अघि बढाएका छन् ? कसरी सिकिरहेका छन् ? बुझ्न म सरकारी र निजी स्कुल गइरहें । बालबालिका भेटिरहें । शिक्षक भेटिरहें । अभिभावक भेटिरहें ।
काँडाघारीको अक्षरा स्कुलमा सूचना तथा प्रविधि सम्मेलन चलेको थियो । प्रविधि सम्मेलनमा अतिथिका रूपमा म पनि सहभागी थिएँ ।
सम्मेलन सकियो ।
बाहिर विद्यार्थीले खानेकुराका स्टल राखेका थिए ।
‘हाम्रा नानीबाबुहरूले बाहिर खानाको स्टल राखेका छन्, पिन्सिपल अञ्जु भट्टराईले सबै अभिभावकलाई आग्रह गरिन्, ‘कस्तो खाना बनाएछन् हेर्नुस् । खाइदिनुस् । हौसला बढाइदिनुस् ।’
स्कुलसँग आठ हजार रुपैयाँँ लिएर सञ्चालन गरेका रहेछन् फुडफेस्टिभल ।
‘नाफा भयो भने सामाजिक काममा लगाउनेछन्,’ उनले जानकारी दिइन्, ‘घाटा भयो भने स्कुलले विद्यार्थीलाई श्रम गर्न लगाउँछ ।’
आफ्ना छोराछोरीले गरेको काम कसलाई रमाइलो नलाग्ला ? छोराछोरीको मेहनतलाई कसले प्रोत्साहन नगर्ला ?
खाना स्टलमा अभिभावकको घुँइचो लाग्यो । मःमः, चाउमिनलगायत खानेकुरा बनाएका थिए । सोचेकोभन्दा राम्रै बिक्री भएछ । ११ हजार रुपैयाँँ उठेछ ।
आठ हजार स्कुलको ऋण तिरे । तीन हजार बाँकी बस्यो । त्यो स्टुडेन्ट काउन्सिललाई आम्दानी भयो ।
घरमा काम नलगाइएका बालबालिका हुन् यी । यिनीहरूले स्कुलमा पकाउने अभ्यास गरे । अभिभावक मख्ख परे ।
एक दिन खाना पकाउँदा मख्ख पर्ने अभिभावक पनि यहीं छन् । विद्यार्थीलाई व्यावहारिक बनाउनुपर्छ भनेर अनेक कोणबाट अभ्यास गराउने स्कुल पनि यही छन् । आर्थिक रूपमा सम्पन्न अभिभावक यहीं छन् ।
हामीलाई चाहेको यही हो । अभिभावक सम्पन्न होऊन् । बालबालिकाले श्रम गर्नु नपरोस् । श्रम नगरीकन सीप पनि सिकून् बालबालिकाले । त्यो सीप पछि गरिखाने माध्यम होस् । सानामा सिकेको सीपले पछि उसको उन्नति हुने बाटो खुलोस् ।
हामीले चाहेजस्तो भएको छ र ।
छैन ।
छिट्टै हुने सम्भावना पनि देखिँदैन । किनभने खाडल गहिरो छ । खाडले पुरिँदै जानुपर्ने हो । तर, खाडल झन् बढिरहेको छ ।
एक दिन खाना बनाउँदा मख्ख पर्ने अभिभावक पनि यहीं छौं । सधैं खाना बनाएर स्कुल जाने (श्रमिक) पनि यहीं छन् । खाने बनाउनेमात्रै होइन, भाँडा माझ्छन्, लुगा धोइदिन्छन् । बजार जान्छन् । अर्थात् पूरै श्रम गर्छन् । अनि स्कुल जान्छन् ।
कसरी पढ्दै छन् यी श्रमिक ?
थुप्रै श्रमिक बालबालिका भेटें । तिनका समस्या बुझें ।
एक रुपैयाँँ उठाएर छात्रामैत्री शौचालय सञ्चालन गर्ने राजाराम बस्नेत पनि श्रमिक बालक हुन् । यस्ता श्रमिकले कसरी अर्काको घरमा काम गर्न आइपुगे ? पढ्ने समय कसरी मिलाएका होलान् ? पढाइ कस्तो छ ? घर छाडेर सधैं अर्काको घरमा बस्नुपर्दा कस्तो अनुभूति होला ? यिनै सेरफेरोमा रहेर कुराकानी गरें ।
दोलखा जखै–९ का हुन् बस्नेत । दुई दाजुभाइमा कान्छा राजाराम सात वर्षमा भागेर काठमाडौं आए । घरछेउकै चनौटे निमाविमा दुई कक्षामा पढ्दै थिए ।
बुवा काठमाडौं बानेश्वरमा अर्काको घरमा बसेका थिए । बुवा घर आउजाउ गरिराख्थे ।
सहर कस्तो होला ? जिज्ञासा लाग्यो राजारामलाई ।
सहर जाने रहर जाग्यो । बुवालाई लैजानुस् भने । मानेनन् । धेरै कर गरे । मान्दै मानेनन् ।
‘एक्लै घरबाट निस्किएँ,’ सुनाए, ‘गाउँकै बसपार्क गएँ । गाडी चढें ।’
यो २०६२ सालको कुरा । पैसा जम्मा ५० रुपैयाँँ बोकेका थिए । त्यो पनि आमासँग झगडा गरेर मागेको । गाडीमा पैसा माग्यो भने के गर्नु ? समस्या थियो ।
‘उपाय लगाएँ,’ सुनाए, ‘ठूलो मान्छेसँग बसें । ऊ जता जान्छ, त्यतै गएँ । उसकै छोराछोरी होलान् भनेर पैसा नमाग्ला भन्ने अनुमान लगाएँ । सानालाई पैसा लाग्दैनथ्यो । तैपनि माग्यो भने के गर्नु भनेर डराएको थिएँ । धन्न, मागेन । मागेको भए आपत पथ्र्याे ।’
बुवाले काम गर्ने घरको फोन नम्बर पनि बोकेको थिएँ । बानेश्वर झरेर बुवालाई फोन गरें ।
‘बुवा छक्क पर्नुभो,’ सुनाए, ‘तैपनि लिनचाहिँ आउनुभयो । त्यही घरमा काम गर्न बसें ।’
भोलिपल्टैदेखि काम सुरु गरिहालें । काम थियो– कुचो लगाउने, फूलमा पानी हाल्ने, भुँइ पुछ्ने, झ्यालको ग्रील पुछ्ने आदि–इत्यादि ।
घरबेटी मनकारी परेछन् । पढाइदिनुपर्छ भन्ने भावना भएका । बोर्डिङ स्कुलमा भर्ना गरिदिए कक्षा १ मा । एक वर्ष पढें बोर्डिङमा ।
पढाइदिनुपर्छ भन्ने भावना त थियो घरबेटीको । फी पनि तिर्ने पैसा दिन्थे साहुजीले । पैसा आफैं तिर्थे राजाराम ।
‘त्यत्रो उमेरको बच्चाको खल्तीमा १५ सय बोकेर आउने भन्थे सरहरू,’ सुनाए, ‘सबै छक्क पर्थे । प्रशंसा गर्थे । फी तिरेर बाँकी आएको पैसा फिर्ता दिन्थें साहुलाई । साहु पनि मख्ख पर्थे । किनभने अरूले बाँकी आएको पैसाले केही किनेर खाइदिँदारहेछन् ।’
फी तिर्न पैसा दिइराख्थे । पढाइमा सहयोग गरेर के गर्नु ? घरको काममा चाहिँ साह्रै कडा । टिक्नै मुस्किल भयो ।
‘दुई घन्टा कुचो लगाउनै लाग्थ्यो,’ सुनाए, ‘अनि कसरी पढ्नु ? होमवर्क कतिबेला गर्नु ? फीमात्रै तिरिदिएर के गर्नु ? पढ्ने वातावरणै भएन ।’
बालक त हुन् । एक दिन साथीसँग खेल्न थालेछन् । खेल्दाखेल्दा पाँच बज्यो । घर ढिला पुगे ।
‘किन ढिला आएको भनेर साहुजीले सोधे,’ सुनाए, ‘म केही बोलिनँ ।’
साहुजीको पारो चढ्यो । चप्पल फुकालेर गालामा चड्काइदिए ।
‘अब बस्न मनै लागेन,’ सुनाए, ‘त्यतिबेलै निस्किएँ । दिदी बौद्धमा बस्नुहुन्थ्यो । त्यहीं गएँ ।’
दिदी होटलमा काम गर्थिन् । दिदीले त्यही होटलमा काम लगाइदिइन् ।
होटलछेउमा प्रहरी चौकी थियो । त्यही चौकीमा चिया पुर्याइदिन्थं । भाडा माझ्थे । होटलको टेबुल पुछ्थे । चियाको पैसा उठाउन गइदिन्थे ।
‘होटलको दिदीको छोरी थिइन्,’ सुनाए, ‘तिनलाई पनि हेर्नुपर्याे ।’
स्कुल पनि जान्थे । होटलको दिदीले कुमारीगालको श्रम राष्ट्रिय माविमा भर्ना गरिदिएकी थिइन् । दुईमा पढ्थे राजाराम ।
‘स्कुलमा म ट्यालेन्ट थिएँ,’ सुनाए, ‘कोही विषयमा त ६० मा ६० नै ल्याइदिन्थें ।’
दिदीलाई पैसा दिन्थे । उनलाई दिँदैनथे । खान बस्नचाहिँ सित्तैमा पाएका थिए । उनको सेवा देखेर चौकीका कैदीबन्दी मख्ख पर्थे । घर कहाँ हो भनेर सोध्थे । कोहीबेला दस÷पन्ध्र रुपैयाँ दिन्थे । होटलमा आउनेले पनि दिन्थे कोहीबेला ।
‘साह्रै बाठो रहेछ भनेर पैसा दिन्थे,’ सुनाए, ‘त्यो पैसा खुत्रुकेमा राख्थें ।’
साहुनीले माया गर्थिन् । घुमाउन पनि लैजान्थिन् ।
अरूले जति माया गरे पनि आमाजस्तो किन हुन्थ्यो ?
‘याद आइरह्यो । घरै सम्झन्थें,’ सुनाए, ‘घर सम्झेर रोइराख्थें ।’
माया गरे पनि दुःख थियो । काम धेरै गर्नुपथ्र्याे । पढ्ने समय पनि हुँदैनथ्यो । धेरै दुःख पाएको अनुभूति भयो । अब सहर विरक्त लाग्न थाल्यो । बस्न मनै लागेन । अब गाउँ फर्कने निधो गरे ।
‘खुत्रुके फुटाएँ । १५ सय भएछ,’ सुनाए, ‘त्यही पैसा लिएर घर फर्किएँ ।’
आमा खुसी भइन् ।
पहिला पढेकै स्कुलमा तीन कक्षामा भर्ना भए ।
‘गाउँमा प्रगति भयो,’ सुनाए, ‘कक्षाको मनिटरै भएँ ।’
सहरमा बसेर आएको । फुर्ती नै बेग्लै भयो गाउँमा ।
‘सधैं सफा लगाएर जान्थें,’ सुनाए, ‘थोत्रै कपडा भए पनि धोएर लगाउँथें ।’
३ बाट फस्र्ट भएँ । विभिन्न प्रतियोगितामा भाग लिन थालें । प्रतियोगितमा पनि फस्र्ट भएँ । रेडियोले नामै फुक्यो । खुसीको सीमा रहेन ।
‘पुरस्कार लिएर घर छिर्दा शानै बेग्लै,’ सुनाए ।
आर्थिक अवस्था कमजोर भएको परिवार । आफ्नो खेतबारीको कमाइले ६ महिना पनि खान पुग्दैनथ्यो । त्यस्तो परिवारका उनलाई गाउँमा पकेट मनी कसले दिने ? सहरमा पो ग्राहकले दिन्थे । दुई/चार पैसाको दुःख थिएन ।
स्कुलले पिकनिक लाने भयो । त्यसका लागि ५० रुपैयाँ तिर्नुपर्ने भयो । आमालाई मागे । भए पो दिनु आमाले । रोए । कराए । रुँदैमा कहाँबाट आओस् ।
भोलिपल्ट हाजिर जवाफ प्रतियोगितामा भाग लिने भए । भाग्य पनि कस्तो भयो भने त्यो हाजिरीजवाफ जिते । ३ सय रुपैयाँँ पुरस्कार पाए ।
‘बल्ल पिकनिक जान पाइयो,’ सुनाए, ‘ढुंगा खोज्दा देउता मिलेझैं भयो ।’
कपी, कलम किन्न पैसा माग्थे आमासँग । आमा छैन भन्थिन् । कपी कलम किन्न कसरी जुटाउने पैसा ?
तनाव भयो ।
अब हलो जोत्न गए । मेला जाने थाले । दाउरा चिर्न थाले । बिदाको समय गिटी कुट्न गए । अरूको बाँस बोकिदिन थाले । एउटा बाँस बाटोसम्म ल्याइदिन्थे । १० रुपैयाँ पाउँथे । डेढ घन्टा लाग्थ्यो बाटोसम्म ल्याइपुर्याउन ।
‘१० वर्षमै हलो जोत्न थालें,’ सुनाए, ‘सानालाई आधा ज्याला दिन्थे । मैले सय रुपैयाँ पाउँथें ।’
एक टिन गिटीको २० रुपैयाँ दिन्थे । तीन महिना कुट्दा दुई हजार भएछ । त्यो पैसाले कपडा किनेर लगाएँ ।
‘पहिलोपल्ट आफ्नो कमाइले कपडा किनें । फिल्म हेरियो । शानै बेग्लै नि ।’
बाँस बोक्ने ठेक्कै लिए । दिन बिराएर स्कुल जान थाले अब । बाँस बोकेको कमाइ पनि दुई हजार भएछ ।
‘त्यो पैसामध्ये एक हजार आमालाई दिएँ,’ सुनाए, ‘त्यो पैसाले चामल किन्नुभयो । मसँग भएको एक हजारले चरिकोट झरेर जुत्ता किनें ।’
उमेर बढ्दै गयो । दुःख बुझ्ने भएँ । गाउँमा दुःख । सहरमा दुःख । सहरमा कामको दुःख भए पनि पैसाको दुःख भएन । किनभने स्कुलको
फी साहुले तिरिदिन्थे । कपी, कलम किनिदिन्थे । गाउँमा त यसैका लागि संघर्ष गर्नुपर्ने ।
अब सहरै जाउँजस्तो लाग्यो ।
दाजुभाइमा बुवा नै गरिब । काकाहरू कोही इन्सपेक्टर थिए । कोही अदालतमा कर्मचारी । कोही तराईमा थिए । बुवा अर्काको घरमा काम गर्ने । तलब १२ सयमात्रै हुन्थ्यो । त्यो पैसा भाइलाई पढाउँदै सकिन्थ्यो ।
काकाका छोराछोरी राम्रो लुगा लगाउँथे । त्यो देख्दा उनलाई पनि रहर लाग्थ्यो ।
‘कमजोर भएपछि आफन्तले पनि हेप्दारहेछन्,’ सुनाए, ‘हेप्ने गाउँमा किन बस्नु ? हेपिएर कति बस्नु ? गाउँमा प्रगति हुँदोरहेनछ भन्ने लाग्यो । अब सहरै फर्किएँ ।’
१२ वर्षका थिए त्यतिबेला ।
‘गाउँका एकजना अंकलसँग काठमाडौं आएँ,’ सुनाए ।
यो २०६८ सालको कुरा । अहिले पढिरहेको महेन्द्र माविमा ५ कक्षामा भर्ना भए ।
घरबेटी असल परेछन् । घरको काम सबै लगाउँछन् । तर, आफ्नो काम सकेर समय उब्रियो भने यताउता हिँड्न पाउँछन् । काम उही हो– खाना बनाउने, भाँडा माझ्ने, कपडा धुने, घर सरसफाइ गर्ने, सामान किन्न बजार जाने ।
‘कामको लोड हुन्थ्यो,’ सुनाए, ‘म रुन्थें बेलाबेला । अंकल मेरो पनि जीवन यस्तै थियो, नरोऊ भनेर सम्झाउनुहुन्थ्यो । अंकल पनि यस्तै घरेलु श्रमिक हुनुभएको रहेछ । पछि प्रगति गर्नुभयो । होटल चलाउनुभयो । अहिले राजधानीको धनीमानीमध्येमा पर्नुहुन्छ ।’
कताकताबाट बाल क्लबको सम्पर्कमा पुगे दुई वर्षअघि । २०७२ सालमा त बाल क्लब काठमाडौं सञ्जालको संयोजकै भए । सञ्जालमा २१ स्कुल छन् । १ सय ५० बाल क्लब छन् ।
संयोजक भएपछि तालिम अवसर पाए । त्यसले व्यक्तित्वमा धेरै परिवर्तन आयो ।
‘पहिला बोल्न डर लाग्थ्यो । कक्षामा अगाडि गएर बोल्नै सक्दैनथें,’ सुनाए, ‘अब बोल्न सक्ने भएँ । निडर भएँ ।’
अध्यक्ष भएपछि काम थपियो । कामले जिम्मेवार बनाउँदै लग्यो ।
‘गफाडी थिएँ । हल्ला गर्दै हिँड्थें । त्यही भएर पहिला सबैले फटाहा भन्थे,’ सुनाए, ‘जिम्मेवारीले परिबन्धमा पारिदियो । के बदमासी गर्नु ? के हल्ला गर्नु ? अब जिम्मेवार भइयो । मैले नराम्रो गरे कसले मान्छे मलाई ? एक वर्षमै आमूल परिवर्तन आयो मेरो व्यक्तित्वमा ।’
जिम्मेवारी पनि कति धेरै छ उनको । बाल क्लबको अध्यक्ष छँदै छन् । जिल्ला बालकल्याण समिति काठमाडौंको सदस्य छन् । अब बालअधिकारको पक्षमा वकालत गर्दै हिँड्न थालेका छन् ।
‘श्रमिकको लगत तयार पारिरहेको छु,’ सुनाए, ‘बालश्रमिकको पक्षमा फाइभ स्टार होटलमा प्रोग्राम हुन्छ । तर, समस्या घटेको छैन । झन् बढेको छ । यसलाई कसरी हटाउने भनेर आफ्नो तर्फबाट लागिरहेको छु ।’
१४ वर्षमुनिकालाई काममा लगाउनु गैरकानुनी मानेको छ नेपालको श्रम कानुनले । बालश्रमिक प्रयोग गरेमा ५ देखि २० हजार रुपैयाँ सम्म जरिवाना व्यवस्था छ । श्रममा ल्याइदिनेलाई समेत जरिवानाको व्यवस्था छ । कानुन भएर के गर्नु ? कार्यान्वयन भए पो ।
घरेलु श्रमिकको संख्या ५५ हजार रहेको अनुमान छ ।
श्रमिक राख्ने तर पारिश्रमिक नदिने । आफ्ना सन्तान महँगा निजी स्कुलमा पढाउने तर श्रमिकलाई सरकारीमा भर्ना गरिदिने । यस्तै छ प्रवृत्ति ।
‘सरकारीमा भर्ना गरिदिए पनि फीसमेत तिरिदिँदैनन्,’ महेन्द्र उच्च माविका प्राचार्य देवराज गुरुङ भन्छन्, ‘त्यही भएर गरिबका छोराछोरीलाई छुट दिन्छौं तर श्रमिक विद्यार्थीलाई छुट दिँदैनौं । किनभने श्रमिक राखेपछि तिनीलाई पैसा तिरिदिन बाध्य पार्नुपर्छ ।’
राजाराम एउटा प्रतिनिधि पात्र हुन् । राजारामजस्ता कथा भएका थुप्रै भेटिए श्रमिक विद्यार्थी ।
सबै गरिबीले गर्दा सहर छिरेका हुन् । कोही घरमा दुःख भएर सुख पाउन सहर छिरे । घरमा भन्दा झन् दुख पाए यहाँ । साहुको पिटाइ खानुपर्छ ।
कोही गाउँमा बिग्रिए भनेर राम्रो शिक्षा पाउलान् भनेर सहर पठाइदिएका छन् अभिभावकले । राम्रो शिक्षाको आशाले पठाए पनि सहरमा भनेजस्तो भएको छैन ।
दयनीय छ, श्रमिक बालबालिकाको अवस्थामा । इँटाभट्टामा काम गर्ने, घरेलु र होटलमा काम गर्नेगरी सामान्यतया तीनप्रकारका श्रमिक छन् । तीमध्ये भट्टा र होटलमा काम गर्नेले पढ्ने अवसर कम पाएका छन् ।
घरेलु श्रमिकले तुलनात्मक रूपमा स्कुल जान पाएका छन् । त्यही भएर सहरका सरकारी स्कुल श्रमिक बालबालिकाले भरिएका छन् ।
‘हाम्रो स्कुलमा ८० प्रतिशत श्रमिक विद्यार्थी छन्,’ गुरुङ भन्छन्, ‘अरू सार्वजनिक स्कुलको अवस्था पनि यही हो ।’
यो स्कुलमा ३ सय विद्यार्थी छन् । हरेक वर्ष नयाँ–नयाँ विद्यार्थी देखिन्छन् । विद्यार्थी फेरिए पनि संख्याचाहिँ उस्तै रहन्छ ।
‘यसको अर्थ श्रमिक बालबालिका फेरिइरहन्छन् भन्ने हो,’ सुनाए, ‘एउटा गएपछि अर्को ल्याइहाल्छन् । ल्याएर पढाउनेचाहिँ यही सरकारी हो ।’
२०१३ सालमा स्थापना भएको हो यो स्कुल । त्यतिबेला बालुवाटार विकट थियो । यो क्षेत्रमा शिक्षाको ज्योति फैलाउन पाटीबाट सुरु भएको हो यो स्कुल । सुरुवाती दिनमा टोलका जानेबुझेका मान्छेले निःशुल्क रूपमा शिक्षा दान गर्थे । २०३० सालतिरबाट यसले आधिकारिकता पायो ।
स्कुल अहिले सुविधाजनक बनेको छ । आफ्नो सुविधाजनक भवन छ । कम्प्युटर ल्याब छ । विज्ञान ल्याब छ । अंग्रेजी माध्यममा पढाइ हुन्छ । खानेपानीको राम्रो सुविधा छ । डब्लुएचओको मापदण्डअनुसारको मेसिनले पानी तान्छ । दिनमा ३७ हजार लिटर पानी तान्छ । स्कुलमा छेलोखेलो छ पानी । दिनमा १० हजार लिटर ट्वाइलेटमा प्रयोग हुन्छ । पाँच लिटर पिउन खर्च हुन्छ । बाँकी पानी खेरै जान्छ । स्कुल सफाचट छ ।
यही वर्षदेखि सिभिल इन्जिनियरिङ पढाइ सुरु भएको छ । यति भएर पनि श्रमिकबाहेक अरू विद्यार्थी तानिएका छैनन् । किनभने सहरमा देखाखिकी बढेको छ । सरकारी स्कुलमा पढायो भने कमजोर देखिइन्छ भन्ने मनोविज्ञानले सताएको छ सहरवासीलाई ।
सहरका सरकारी स्कुल श्रमिक पढ्ने स्कुलमा परिणत हुँदै गएछन् । मैले केही स्कुलको अध्ययन गर्दा पाएका तथ्य र त्यहाँका
शिक्षकसँगको कुराकानीका आधारमा यो निचोड निकालेको हुँ ।
गाउँका स्कुलचाहिँ गरिब पढ्ने स्कुलमा परिणत हुँदै गएका छन् ।