१६ श्रीमतीका प्रिय श्रीमान्


तस्बिर : भविन राई ‘अडिग’

चिसापानी भौगोलिक हिसाबले असाध्यै रमणीय ठाउँ । संगठन निर्माणका लागि चिसापानी माध्यमिक विद्यालय चिसापानी पुग्यौं । अखिल क्रान्तिकारीका एक नेताले १२ कक्षामा अध्ययनरत एक छात्रालाई कक्षाकोठामा उभ्याएर ह्वाट इज योर नेम ? भने । ती छात्राले जुरुक्क उठेर दाजु ‘जेपीटी’ नबोल्नूस् है भनिन् ।

एकताका रत्नकुमार राई ‘दर्शन’ र पंक्तिकार देवीस्थान फेदीमा रहेको केदारमान राईको घर पुग्यौं । राई गाउँ विकास समिति अध्यक्ष हुन् । उनी जन्तेढुंगा गाउँपालिका–१ का वडाध्यक्षमा दुईपटक निर्वाचित भइसकेका छन् । दर्शन र राईबीच नेपाली राजनीतिबारे खुलेर लामो बहस गरे । त्यसताका अरुणा राई ‘दीक्षा’ एरिया इन्चार्जको भूमिकामा थिइन् । इन्चार्ज राईमार्फत केदारमान राईसँग भेटघाट गर्ने मौका मिलेको थियो । अरुणा राई ‘दीक्षा’ जन्तेढुंगा गाउपालिका अध्यक्ष हुन् ।

बाबुराम राई, शिक्षक बद्री किराती, वीरबल राई पार्टीका ‘पार्टटाइमर’ थिए । अशोक श्रेष्ठ, अविरल खड्कालगायत थुप्रै नेता तथा कार्यकर्ता ‘होलटाइमर’ हुन् ।

माओवादी शान्ति प्रक्रियामा आउन लागेको बेला पार्टी कामले बबिता घिमिरे ‘आशा’सँग बोपुङ पुग्यौं । पहिल्यैदेखि बोपुङ जान असाध्यै मन थियोे । बोपुङका रत्नमणि राई पार्टी सचिव थिए । उनकोमा बास बस्यौं । पार्टीसँग सम्बन्धित छलफल गरेर फर्क्यौं । त्यहींका दिनेश किराती पार्टीका ‘होलटाइमर’ थिए । (सुपेन्द्र राई ‘अपिल’)की भान्जी बुइपाका सर्मिला राईसँग किरातीको दिक्तेलमा आयोजित पार्टीको एक कार्यक्रममाझ जनवादी बिहे भयोे । केही समयपछि उत्तर–असिमा, हिमाल–कविता, साहस–कृतिका, वसन्त–शशीलगायतको पनि सामूहिक जनवादी बिहे भयोे ।

जनवादी बिहे हुँदा पार्टी शान्ति प्रक्रियामा प्रवेश गरिसकेको थियो । जनवादी बिहेले समाजमा रहेको बिहेसम्बन्धी परम्परागत प्रणाली तोडेर प्रेम, विवाह र यौनसँग जीवन जोड्ने र सन्तान उत्पादनसँगै भविष्य निर्माण गर्न सार्थक बनायोे । यो विचारको कसीका रूपमा जगजाहेर थियोे । यसमा यौन, विवाह र प्रेम प्रक्रियाको विकल्पमा समाज रूपान्तरणको अनुपम प्रयोग थियोे ।

तस्बिर : भविन राई ‘अडिग’

संविधान (२०७३) लेखिनुअघि जस्तोसुकै उमेर समूहलाई बिहे गर्न छेकबार थिएन । सामथ्र्यअनुसार दुई या तीन महिलासँग बिहे गर्ने पुरुष त कति छन् कति ? र, दोस्रो, तेस्रो बिहे गर्ने महिला पनि नभएका होइनन् ।

साबिक फाक्टाङ गाविसको घोरिङखाका भूपजित राई त्यस्तो पुरुष हुन्, जसले १६ जनासँग बिहे गरेका थिए । राईसँग भेटघाट हुँदा रोचक कुराकानी भयोे । ‘त्यसताका खानदानी केटो भएमा ऊ मेरो भगवान् हो भनेर महिलालाई लाथ्यो रे । त्यस्तो सोचले मेरा श्रीमती थपिँदै गए,’ उनले सुनाए, ‘अर्कोचाहिँ मन परेपछि तान्ने वा छुने चलन हुन्थ्यो । ताने वा छोएपछि फल्नेले तानेको, छोएको भन्ने हल्ला चल्थ्यो । त्यसपछि उनलाई अर्कोले बिहे गर्दैनथ्यो ।’ त्यतिमात्रै होइन, रूप मन परेपछि श्रीमती थपिँदै गए । थपिँदै जाँदा १६ श्रीमती भए ।

जनवादी सिद्धान्तबाट हेर्दा धेरै बिहे गर्नु उपयुक्त मानिँदैन । वैवाहिक सम्बन्ध एकजनासँग मात्र हुनुपर्छ । श्रीमान् वा श्रीमती बितेको अवस्थामा उनीहरूले अर्को बिहे गर्न नहुने भन्ने हुँदैन । जसलाई वैज्ञानिक विधि मान्नुपर्छ । विविध विकृति रोक्न संविधानले बिहेको उमेर हदसमेत तोकेको छ । ‘२० वर्षपारि बिहेवारी’ उपयुक्त मानिन्छ । त्यसताका ३० वर्षभन्दा कम उमेरमा बिहे गर्दा राम्रो हुने माओवादी आन्दोलनको निष्कर्ष थियोे ।

प्रसंग बदलौं ।

बडहरे खोक्सेलीका ओमकार दाहाल ‘ओके’ पार्टी कामले चिसापानी क्षेत्र पुगेका थिए । त्यता क्रियाशील रहँदा जिल्ला विकास समिति सदस्य (याम्खा)का घोडा जनमुक्ति सेनाले कब्जामा लिए । पार्टीका मान्छेले घोडा चढ्न सकेनन् । त्यसो भएपछि घोडा फिर्ता गर्ने कि राख्ने भन्ने विषयमा छलफल चल्यो । त्यस्तो खबर थाहा पाएपछि कमरेड ओके घोडाछेउ पुगे । सुम्सुम्याए । घोडाले सहज माने । नजिकिँदै जानेक्रममा दाना, पानी, घाँस खुवाउन थालेपछि उनीसँग घोडा रत्तिए । उनी घोडा चढेर हिँड्न थाले । कसैले नसकेको घोडा कमरेड ओकेले कुदाउन थालेपछि हल्ला चल्यो, ‘एकहाते माओवादी कमान्डरले घोडा कसरी कुदाए ? माओवादीले कहाँबाट ल्याएछन् घोडा ?’

तस्बिर : भविन राई ‘अडिग’

प्रश्न उठ्दै थिए । जवाफ दिँदै हिँड्नेक्रममा दुस्मनले घोडाको पाइला पछ्याउँदै झन्डै घेरामा पारेछन् । लगत्तै भोजपुरको मैयुङ क्षेत्रको पार्टी कमिटीलाई घोडा पठाइयो । एकहाते भए पनि कमरेड ओकेले काठमाडौंदेखि राजनीति गर्दै केही समय खोटाङमा सक्रिय रहे । पार्टी शान्ति प्रक्रिया आएपछि सुनसरीको इटहरीमा बसेर माओवादीबाटै राजनीति गर्दै आएका छन् । ११ वर्षको छँदा ०४८ वैशाख २९ गते भर्याङबाट ओर्लनेक्रममा लडेर उनको देब्रे हातको पाखुरा भाँचियोे । ओखलढुंगाको मिसन अस्पतालमा महिना दिन उपचार गराए पनि भाँचिएको हड्डी जोडिएन ।

प्रतिक्रिया दिनुहोस्