बुवाखोलाले बगाउँदा देवी


हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम साल्लतेम्माको मुलाबारीमा रहेको बाला भगवती देवीथान । तस्बिर : दीपेन्द्र राई

गाउँको नाम खेलेक्तोङ । त्यहाँ दुमाम्लुङ पाछाका पुमा राई बस्थे । हिजोआज पनि यहाँ उनीहरूकै बसोवास रहेको छ । खेलोक्तोङको एक घरका दम्पतीको जग्गा–जमिन बुवाखोलापारि पनि थियो । त्यसताका कपास रोप्ने, टिप्ने चलन । कपासबाट खाँडीको कपडा उत्पादन गरी लुगा बनाएर लगाइन्थ्यो ।

जीवन जिउनेक्रममा ती दम्पतीका छोरी जन्मिए । छोरी सानै भएकाले घरभित्र थुनेर उनीहरू खेतीमा जान्थे । छोरी हुर्कंदै गएपछि बुवाआमालाई पछ्याउन थालिन् । फकाइ–फुलाइ छोरीलाई घरमै छाड्थे ।

एक दिन मेलोतिर हिँड्नेबित्तिकै छोरीले रुँदै–कराउँदै बुवाआमालाई पछ्याउन थाले । तर विडम्बना, बुवाआमाले पत्तै पाएनन् । उनीहरू दायाँ–बायाँ नहेरी बुवाखोला तरे । बुवाआमा खोला तरेर पारि गएको अनुमान लगाउँदै छोरीले पनि खोला तर्ने निधो गरिन् । तर, खोला तर्न सकिनन् । उनलाई खोलाले बगायो ।

काम सकेर बेलुकी घर फर्कंदा घरमा छोरी देखेनन् । छोरी नदेख्दा उनीहरू झस्के । दुवै रोइकराइ गर्दै गाउँभरि खोजे । बाटोघाटो, खोलानालासम्म पुगे । तर, पत्तो लागेन । छोरीलाई बुवाखोलाले बगाएको अनुमान लगाए । त्यसपछि रातिको खाना तयार पारेर खाए । चोखो थालमा छोरीलाई समेत खाना राखिदिए । हराएकी छोरीको सम्झनामा बेलुकी–बेलुकी खाना राख्दै गए । उनको नाममा राखिएको खाना बिहान उठेर हेर्दा कसैले खाएका हुन्थे । छोरीलाई राखिदिएको खाना कसले खाइदिन्छन् भन्ने थाहा पाउन चियोचर्चो गर्दै उनका बुवा–आमा रातिभरि जाग्राम बस्न थाले । रातिको १२ बजिसकेको थियो । राखिएको खाना खाएर छोरी बाहिरिएको आवाज सुने । तर, नाङ्गो आखाले देख्न सकेनन् ।

गाउँलेले यो कुरा थाहा पाए । गाउँघरका सबैलाई तर्साउन थालियो । दुःख–बिमारले डरलाग्दो रूप लियो । दुःख–बिमारले पशुपक्षीलाई समेत छाडेन ।

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम साल्लतेम्माको मुलाबारीमा रहेको बाला भगवती देवीथान । तस्बिर : दीपेन्द्र राई

दुःख–बिमारले चर्को रूप लिएपछि गाउँले मिलेर जान्ने–बुझ्ने बिजुवा बोलाएर चिन्ता बसाए । चिन्ता बस्नेक्रममा एउटी नानीलाई खोलाले बगाएकाले उनको आत्मा जागेर गाउँलेलाई दुःख दिएको बिजुवाले बकेछन् । उनलाई बाटो लगाउन के गर्नुपर्छ भनेर गाउँलेले जिज्ञासा राखे । ‘मन्दिर घर बनाएर बेला–बेलामा पूजा गर्नुपर्छ,’ जवाफमा बिजुवाले भने, ‘उनको सेवा गरियो भनेमात्र दुःख–बिमारबाट उन्मुक्ति पाइन्छ ।’
बिजुवाको सुझाएअनुसार गाउँलेले काम गरे । गाउँलेले मन्दिर घर बनाए पनि बिजुवाले उनलाई बाटो लगाउन सकेनन् ।

त्यसपछि औतारी लामाको सहयोग मागियो । बुवाखोलाले बगाएको नानीलाई त्यो भेगको देवीका रूपमा स्थापित गर्न लामा सफल भए । सबैको बाटो पर्ने ठाउँ (पौवा)मा मन्दिर स्थापना गरी देवीको भाकल गर्दै पूजाआजा गर्न थालियो । त्यसपछि स्थानीयलाई सुब्बेफाब्बे भयो । औतारी लामाले ती बालिकालाई देवीका रूप दिन विशेष भूमिका निर्वाह गरेकाले बालकन्या औतारी मन्दिर भन्न थालियो । त्यसपछि सालिन्दा वैशाखे पूर्णिमा र मंसिरे पूर्णिमामा बालकन्या देवीको पूजाआजा गर्ने थालियो । जहाँ कुखुराका भालेपोथी, बाख्राका पाठापाठी र परेवाले भोग दिइन्छ ।

बुवाखोलाले बगाएर बेपत्ता पारेको दुमाम्लुङको छोरी बाल कन्या देवीका रूपमा परिणत भएपछि स्थानीयलाई शीतल छहारी दिँदै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस्