अदुवा पनि औषधि



माटोमुनि उत्पादन हुने अदुवा मसला र औषधिका रूपमा प्रयोग गरिन्छ । नेपालका सबै ठाउँमा उत्पादन हुने यसको वैज्ञानिक नाम ‘जिङ्गर औफिनेल रोस्क’ हो ।

संस्कृतमा आर्दक, हिन्दीमा अदरक, सौठ गुजरातीमा आदु, अरबीमा जजबिल, फारसीमा शङ्गवीर भनिन्छ । बालुवामिश्रित माटोमा उत्पादन हुने गुल्म जातिको वनस्पति अदुवाको पात बाँसको पातजस्तो हुन्छ ।

अदुवामा भिटामिन ‘ए’, ‘बी’ र ‘सी’ पाइन्छ । यसको तेलमा जिन्जी बेरिन तथा जिन्जिबराल तत्व पाइन्छ ।

अदुवाको स्वाद विशिष्ट गुणले भरिपूर्ण हुन्छ । तसर्थ, चियामा समेत अदुवा प्रयोग गरिन्छ । चिसो मौसममा अदुवा हालेको चिया धेरैले मन पराउँछन् । तरकारीमा मसलाका रूपमा प्रयोग गरिन्छ । यसको सेवनले मानिसको नशामा उत्तेजना पैदा हुन्छ । यसबाट बाथ, कफ, खोकी लागेकालाई फाइदा हुन्छ । यसको सेवनले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ ।

सुकेको अदुवा आयुर्वेदिक औषधिमा अनिवार्य प्रयोग गरिन्छ । ग्यास (वायु) पीडित मानिसलाई सुकेको अदुवा उपयोगी मानिन्छ ।

अदुवा सेवन गर्दाको पाँच फाइदा

– अदुवाको सुप पिउनाले भोक बढ्छ । सुप बनाउन दस ग्राम अदुवालाई टुक्रा पारेर २०० मिलिलिटर पानीमा उमाल्ने । ५० मिलिलिटरजति बाँकी रहेपछि चियादानीमा छान्ने र त्यसमा कागतीको रस र बीरेनुन थोरै मिसाउने ।

– ३०० मिलिलिटर दूधमा पाँच ग्राम सुकेको अदुवाको चुर्ण र मिश्री मिलाएर उमाल्ने । यसलाई मनतातो भएपछि पिउनाले मूत्रनलीसम्बन्धी समस्या समाधान हुन्छ ।

– कहिलेकाहीँ कान दुखेर हैरान हुन्छ । यस्तो अवस्थामा अदुवाको रस र बीरेनुनलाई एकछिन पकाएर सफा कपडाले छानेर कानमा एक/दुई थोपा हाल्नाले दुखाइ हट्छ ।

– पेट दुख्दा अदुवाको रस र दूध समान मात्रामा मिलाएर सेवन गर्नाले राहत हुन्छ ।

– निमोनिया लागेमा अदुवाको रस, पुरानो घिउ र कपुर मिलाएर छातीमा मालिस गर्नाले रोगीलाई फाइदा हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्