राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारीको बाल्यकाल



मेरो जन्म विक्रम संवत् २०२१ मंसिर ११ गते साबिक सिम्पानी गाउँ विकास समिति–१ बर्रे खोटाङमा भएको हो । बुवा छविलाल अधिकारी र मुमा दिव्यश्वरा अधिकारीका नौ (६ छोरा ३ छोरी) मध्ये म माइलो सन्तान हुँ ।

मेरा बुवा खेतिकिसान गर्थे । हाम्रो आफ्नै खेतबारीमा उब्जाउ अन्नपातबाट परिवार पालिएको थियो । ब्राह्मण परिवारका हुनाले बुवाले पुरेत, जजमान पनि गर्थे । मुमा विशुद्ध गृहिणी ।

मलाई बुवाले अक्षर चिनाए । धुलौटे पाटीमा लेख्नुपथ्र्यो । अहिलेका नानीबाबुलाई खान, लगाउन, पढ्न जुन सुविधा छ, ऊबेला त्यस्तो थिएन । लेख्नलाई न पेन्सिल न त कापी नै । विद्यालय जानेले छुट्टै पोसाक (डे«स) लगाउनुपर्छ भन्ने अनिवार्य थिएन । पढ्नेजति सबै एकठाउँ जम्मा भएपछि ठुल्ठूला आवाजमा स्वर मिलाएर कपुरी क, आँखे ख पढ्थ्यौं । अक्षर चिन्न सक्ने भइसकेपछि श्री कृष्ण प्राथमिक विद्यालय बर्रेबाट मैले औपचारिक शिक्षा थालेको सम्झना ताजै छ । घरबाट आधा घन्टा पैदल दूरीमा विद्यालय थियो ।

प्राविको अध्ययन छिचोलेपछि श्री सिम्पानी माध्यमिक विद्यालय धाउनुपथ्र्यो । विद्यालय पुग्न डेढ घन्टा पैदल हिँड्नुपथ्र्यो । माध्यमिक तह पढ्ने गाउँकै एक्लो हुनाले विद्यालय जाँदा आधा घन्टाको बाटो एक्लै हुन्थें । त्यसपछि मात्रै साथीहरू भेटिन्थे । म त्यतिखेर सामान्य विद्यार्थी थिएँ । जति–जति माथिल्लो कक्षा पुग्थें, अन्यत्र विद्यालयबाट आएकासँग पढ्दा उत्साहित हुन्थें । म प्रथम नै हुन्थें । सात, आठ, नौ र दस कक्षामा पनि त्यस्तै संयोग भयो ।

त्यतिबेला भलिबल खेल्न असाध्यै रमाइलो लाग्थ्यो । दैनिक विद्यालय छुट्टीपछि शिक्षकसँग भलिबल खेल्थ्यौं । कहिलेकाहीं त जून लागुन्जेल भलिबल खल्थ्यौं । त्यसो भएपछि घर फर्कन गाह्रो हुन्थ्यो । हिजोआजजस्तो टर्चलाइट थिएन । म राँको बालेर घर फर्कन्थें ।
ऊबेला गाउँघरमा जे काम गरिन्थ्यो, जसरी पढिन्थ्यो, अहिले सम्झँदा एकादेशको कथाजस्तो लाग्छ । आँपको मौसममा कर्द (चक्कु) खल्तीमा बोकिन्थ्यो । रूखमाथि चढेर आँप टिप्दै अघाउँजी खाइन्थ्यो । चाडबाड मनाउँदा असाध्यै रमाइलो लाग्थ्यो । तिहारमा आ–आफ्नो समूह बनाएर देउसी–भैलो खेल्थ्यौं । श्रीस्वस्थानी व्रतकथा साङ्गेको रात जाग्राम बस्न भजनकीर्तन गाउँथ्यौं । कतिपय घरमा मैले कथा पढिदिनुपथ्र्यो ।

विद्यालयमा हुने जिल्लास्तरीयदेखि क्षेत्रीयस्तरका खेलकुद, कविता र हाजिरीजवाफ प्रतियोगितमा सधैं भाग लिन्थें । फुच्चे भए पनि आफूसम्बद्ध सदनको नेतृत्व गर्थें ।

किसानका छोरा भएकाले पढाइका अलावा गोठालो, खेतालादेखि घरमा आइपरेसम्मका सबैखाले काम गर्थें । अतिरिक्त क्रियाकलापका लागि प्राथमिक तह पढ्दा पदम विश्वकर्मा र माध्यमिक तह पढ्दा शिक्षक परशु कार्की असाध्यै राम्रा थिए । कक्षा नौदेखि ऐच्छिक गणित पढ्ने पाइयो । सिरहाका चौधरी (आईएस्सी) सर बीएस्सी पढ्न हिँडेपछि ऐच्छिक गणित र विज्ञान पढाउने भएनन् । दस कक्षा पढ्ने बेला पनि चौधरी सरको विषय पढाउन कोही नआएपछि ऐच्छिक गणितको सट्टा ग्रामीण अर्थशात्र लिएर पढ्यौं । त्यतिबेला सिम्पानी माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेश अधिकारी थिए ।

विद्यालयमा दृष्टिविहीन शिक्षक गोपी पोखरेलले पनि पढाउँथे । कक्षा प्रवेश गर्नासाथ शिक्षक पोखरेल भन्थे, ‘ल भन त महाप्रसाद आज हामी कुन पाठ पढ्छौं ?’ मैले ‘फलानो पाठ सर’ भनेपछि उनले व्याख्या गरिदिन्थे ।

संवत् २०३९ मा मैले एसएलसी दिँदा श्री सरस्वती माध्यमिक विद्यालय खोटाङबजारमा परीक्षा केन्द्र तोकिएको थियो । परीक्षा दिन घरबाटै धाउँथें ।

एसएलसी उत्तीर्ण गरेपछि नमुना मच्छिन्द्र क्याम्पस ललितपुर लगनखेलमा आईकममा भर्ना भएँ । ०४१ मा राष्ट्र बैंकको सहायकका लागि परीक्षा दिएँ । परीक्षा पास गरें । जागिर खाँदै नेपाल कमर्स क्याम्पस मीनभवनबाट स्नातक र शंकरदेव क्याम्पस पुतलीसडकबाट स्नातकोत्तर गरें ।

त्यसैबीच सीए पढ्न भारतको चेन्नईमा रहेको साउदर्न इन्डिया रिजनल काउन्सिल पुगें । सीए गर्दा तीन वर्ष पढाइभन्दा अभ्यास (अडिट) धेरै गर्नुपथ्र्यो ।

सन् १९९३ मा भारतबाट फर्केपछि पुनः राष्ट्र बैंककै काम (०५० देखि ०७२ सम्म) मा जोडिएँ । यस अवधि (०६७ देखि ०७२ सम्म)मा पाँच वर्ष डेपुटी गभर्नरको जिम्मेवारी सम्हालें ।

यसैगरी, चार वर्ष लगानी बोर्डको सीईओको भूमिका निर्वाह गर्ने मौका पाएँ ।

संवत् ०७६ चैत २४ देखि राष्ट्र बैंक गभर्नरको भूमिकामा छु ।

प्रस्तुति : इन्दु अधिकारी ढकाल

(मुना मासिकबाट)

प्रतिक्रिया दिनुहोस्