अर्काको किताब हुबहु सारेर लेखक


पुस्तक लेखनले एक निश्चित उद्देश्य बोकेको हुन्छ । पुस्तक लेख्दा लेखकले निश्चित पाठकवर्ग वा समुदायलाई लक्षित गरेर लेख्छ । पुस्तक लेख्नुको मूल उद्देश्य विभिन्न लेखकले लेखेको पुस्तकबाट पाठक वर्गले प्राप्त गर्न नसकेको थप सन्देश प्रवाह गर्नु हो ।

लेखकले पुस्तक लेख्दा सन्दर्भ सामग्रीका रूपमा अरूको पुस्तक प्रयोग गर्छ । सन्दर्भ सामग्रीका लागि प्रयोग गरिने पुस्तकको पाठबाट सार खिचेर लेखकले मौलिक रूपमा व्याख्या गरेर पुस्तक तयार गर्छ, हुबहु उद्धरण गरिँदैन । कसैको पुस्तकको पाठलाई हुबहु प्रयोग गर्नुपरेमा लेखकको नाम र पुस्तकको विवरण खुलाइन्छ ।

उद्धरण गरिएको पाठको पृष्ठसमेत उल्लेख गरिन्छ । कसैको पुस्तकबाट साभार गरेर उद्धरण गरिने पाठलाई सकारात्मक वा नकारात्मक पक्षबाट लेखकले विश्लेषण गरेर पाठकसामु प्रस्तुत गर्न सक्छ । कसैको पुस्तकमा लेखिएको वाक्य वा हरफ लेखकलाई उचित वा अनुचित लाग्नु स्वाभाविक कुरा हो । यसो गरेर पाठक वर्गलाई उध्दृत पुस्तक पढ्न अभिप्रेरित गर्छ । कसैको लेखको प्रशंसा वा आलोचनाले पाठक वर्गलाई चिन्तन मनन गर्न नै मदत गर्छ ।

प्रकाशित भइसकेको पुस्तकहरूमा समेटिन नसकेको विषयवस्तुमाथि अतिरिक्त अध्ययन र अनुसन्धान गरेर शोधपत्र तयार गर्छन् । तर, कुलुङ समुदायका लेखकलाई चाहिँ प्रकाशित पुस्तकमा देखिने सकारात्मक र नकारात्क पक्ष केलाएर पाठकसमक्ष समालोचना, आलोचना र प्रशंसा प्रस्तुत गरिरहनु नपर्ने रहेछ ! कलकारखानामा उत्पादन गरिने वस्तुमा एकरूपता भएजस्तै कुलुङ लेखकहरूले लेखेको पुस्तकमा भिन्न मौलिकता झल्किनु नपर्ने रहेछ ! कुन पहिले र कुन पछाडि प्रकाशित भएको पुस्तक हो भन्ने पनि देखाउनु नपर्ने रहेछ !

सन्दर्भ “कुलुङ सांस्कृतिक अध्ययन-२०५७” र “किराती कुलुङ-२०७४” पुस्तकको हो । यी दुईटा पुस्तकको आवरण हेर्दा भिन्नाभिन्नै लेखकले लेखेको पुस्तक हो भन्ने स्पष्ट बुझिन्छ । तर, पुस्तकको भित्री पाठ पढ्दा यी दुई कीर्ति भिन्न हुन् भन्ने अनुभूति गर्न सकिँदैन । केवल पुरानो पुस्तकको पाठ सारेर अर्को नाम राखेर नयाँ पुस्तक प्रकाशन गरिएको देखिन्छ ।

नयाँ पुस्तकका लेखकले मौलिकता पुष्टि गर्न सकेको देखिँदैन । त्यस्तै कसको पुस्तकबाट पाठ उद्धरण गरिएको हो भन्ने उल्लेख छैन । कसैको पुस्तकबाट साभार गरिएको पाठप्रति लेखकले सहमति वा विमति जनाउन पाउँछ तर “किराती कुलुङ-२०७४” मा कुन पुस्तकको पाठ उद्धरण गरिएको हो भन्ने सम्बन्धमा लेखक मौन रहेका छन् ।

दुवै पुस्तक पढ्न पाएको पाठकले पुरानो पुस्तकबाट पाठ सारिएको हो भन्ने राम्ररी बुझ्न सक्दछन् । यस्तो क्रियाकलापलाई बौद्धिक चोरी भनौं भने “नयाँ लेखक”को मानहानि होला । सभ्य भाषामा भन्दा पुरानो पुस्तकको पाठ “नयाँ लेखक”ले सारेको भन्नुपर्ने हुन्छ ।

तस्बिरमा देखिएको दुवै पुस्तकको नाम र प्रकाशन समय फरक छ, विषयवस्तु र पाठ फरक छैन । यसमा देखिने अन्तर भनेको पाठ संयोजन अगाडि र पछाडि पारिएको छ । लेखको पाठ एउटै भए पनि पुस्तकको नाम भिन्न भएपछि लेखकको दर्जा प्राप्त भइहाल्छ ! यसलाई एकदमै बढी समझदार भएर जातीय एकता, सांस्कृतिक एकता र भाषिक एकता कायम राख्न लेखकहरूको लेखमा एकता ल्याउन खोजिएको हुन सक्छ भनेर भन्न पनि सकिएला । तर, मौलिकता र अस्तित्वलाई उखालेर कृत्रिम ढङ्गको एकता बनाउने कार्ययोजनाले कदापि एकता प्राप्त गर्न सकिँदैन । यस्तो कार्यले दिशाहीन लक्ष्य बोकेर चौबाटोमा उभिएको दृश्य छर्लङ्ग उदाङ्गो भएको छ ।

दुवै किताब पढेपछि यति लेख्न बाध्य बनायो । पहिलो किताबको लेखक भूपध्वज थोमरस हुन् भने दोस्रो किताबका लेखक इन्द्रबहादुर कुलुङ रहेका छन् । किराती कुलुङ-२०७४ पुस्तकले प्रतिलिपि ऐन तोडेको छ ।

प्रतिक्रिया दिनुहोस्