स्थानीय सरकारको जोडबल, घर–आँगनमै कोभिड अस्पताल



दुर्छिम (खोटाङ) । स्वास्थ्यभन्दा ठूलो सम्पत्ति अरू हुनै सक्दैन । विश्वव्यापी महामारी कोरोना संक्रमित बीसको उन्नाइस नभएको अवस्थामा जोकोहीलाई स्वास्थ्यभन्दा ठूलो सम्पत्ति अरू हुनै सक्दैन भन्ने लागेकै हुनुपर्छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना संक्रमण जटिल बन्दै गएको अवस्थामा कोभिड अस्पताल सञ्चालनमा आउँदा कसको मन प्रसन्न नहोला । स्थानीय सरकार खुसीले त्यत्तिकै पुलकित भएको छ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम कोटगैरा खोटाङमा रहेको दुर्छिम स्वास्थ्यचौकीमा मंसिर ११ गतेदेखि अस्थायी कोभिड अस्पताल सञ्चालनमा आएपछि नगरवासी झन् पुलकित भएका हुन् ।

हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राई र उपप्रमुख बिमला राईले संयुक्त रूपमा कोभिड अस्पताल उद्घाटन गर्दा कार्यक्रममा सहभागीले परर्र ताली बजाए । सहभागीले बजाएको ताली पर–परसम्म सुनिएको थियो ।

‘हामीले आजदेखि ऐतिहासिक कामको थालनी गरेका छौं,’ कोभिड अस्पताल उद्घाटनपछि हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले सामाजिक सञ्जाल फेसबुकमार्फत खुसी व्यक्त गरे, ‘आजको दिन तपाईं–हाम्रा लागि ऐतिहासिक हुनेछ ।’

संघीय सरकारको नीति तथा कार्यक्रमअनुसार तीन महिनाका लागि अस्थायी कोभिड अस्पताल सञ्चालनमा आएको हो । ‘त्यसपछि पनि अस्थायी कोभिड अस्पतालले निरन्तर सेवा प्रवाह गर्नेछ,’ नगरप्रमुख राईले प्रतिबद्धता व्यक्त गरे, ‘यसलाई स्थायी बनाउन बाँकी स्रोत, साधन र जनशक्ति नगरले जुटाउँदै परिचालन गर्नेछ ।’

हलेसी तुवाचुङ नगरपालिका उपप्रमुख बिमला राईको अनुहारमा खुसी पोतिएको प्रस्टै देखिन्थ्यो । ‘नागरिकको स्वास्थ्य सुरक्षाका लागि अस्थायी कोरोना अस्पतालले दुर्छिमबाट सेवा सुरु गरेको छ,’ उपप्रमुख राईले फेसबुकमार्फत जानकारी गराइन्, ‘कोरोनाबाहेक अन्य सेवा पनि प्रवाह गरिनेछ ।’

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका वडाध्यक्ष रमेश तिवारीले कोभिड अस्पतालका डा. कृष्णकुमार राउतलाई स्वागत अनि अस्पताल सञ्चालनका लागि सहयोग र समन्वय गर्ने सबैलाई धन्यवाद दिएका थिए ।

संघीय सरकारको १० लाख रुपैयाँ लागतमा सञ्चालित अस्थायी कोभिड अस्पतालमा तत्कालका लागि पाँच शय्या रहनेछन् । आइसोलेसनका लागि शय्या तय गरिएको अस्पतालले जनाएको छ । मंसिर ११ देखि सञ्चालित अस्पतालमा सघन उपचार कक्ष र भेन्टिलेटरसहितको उपकरण थपिनेछन् ।

अस्पताल सञ्चालनार्थ नगरपालिकाले आवश्यक बजेट व्यवस्थापन गर्ने नगरप्रमुख इवन राईले वचन दिएका छन् । नगरप्रमुख राईका अनुसार अस्पतालबाट प्रवाह गरिने सेवा जनमुखी बनाउन नगरपालिकाले एमबीबीएस डा. कृष्णकुमार राउतसहित एक स्टाफ नर्स नियुक्त गरेको छ ।

अस्थायी कोभिड अस्पताल सञ्चालनमा आएपछि कोरोना संक्रमित भएमा नगरवासीले घर–आँगनमै रहेको अस्पतालमा उपचार गर्न पाउने भएका छन् । ‘घर–आँगनमै कोभिड अस्पताल सञ्चालनमा आउँदा सामान्य रोग र कोरोना संक्रमित लाभान्वित हुनेछन्,’ जसपा हलेसी तुवाचुङ नगरपालिका अध्यक्ष मविन्द्र राईको भनाइ छ, ‘अब हजारौं खर्चेर उपचारका लागि टाढा–टाढा जाने बाध्यता रहेन । डा. कृष्णकुमार राउतलाई स्वागत छ । डाक्टरको पहल–कदमी गर्नुहुने प्रकाश घिमिरेलगायतलाई पनि धन्यवाद छ ।’

दुर्छिममा कोभिड अस्पताल सञ्चालनमा आएपछि नगरवासीलगायत धेरैले सामाजिक सञ्जाल फेसबुकमा खुसी साटासाट गरेका छन् । त्यसमध्येका एक हुन्– राजन राई । ‘आजको आवश्यकता भनेको गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्नु हो । यो महत्वपूर्ण र चुनौतीपूर्ण कामलाई नगरप्रमुखले जुन ढंगबाट योजनाबद्व रूपले अगाडि सार्दै हुनुहुन्छ, यसले पूर्वकै ऐतिहासिक र जनप्रिय कामको योगदान हुनेछ भन्ने हामीले ठानेका छौं,’ राईले फेसबुकमा लेखेका छन्, ‘यो साझा खुसीलाई हामीले स्वीकारेका छौं । आगामी दिनहरूमा स्वतःस्फूर्त यस्तै जनप्रिय, लोकप्रिय काम हुँदै जानेछ । बधाइ छ मेयरज्यू ।’

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका चाम्लिङ एसकेको भनाइ छ, ‘महत्वपूर्ण कामको सुरुवात भएकोमा हामी नगरवासी अत्यन्तै हर्षित छौं ।’

‘उद्घाटनमा मात्र सीमित नरहोस्,’ हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारनिवासी निरेश राईको सुझाव छ, ‘सेवा प्रवाहमा जोड दिइयोस् । राम्रो कामको सुरुवाती भा’को छ मेयर साप ।’

स्थानीय सरकारबाट सम्पादन भएको यो काम उत्कृष्ट नमुनामध्ये एक हो भनेर युवराज जोशीले स्थानीय सरकारको प्रशंसा गरेका छन् ।
‘बधाइ छ मेयरज्यू,’ सुनील चाम्लिङ राई भन्छन्, ‘हतुनपाका जनताले थोरै भए नि सुविधा पाउने भए ।’

शुभम फाउन्डेसन संस्थापक सदस्य सूर्य राईले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘बधाइ छ, हलेसीवासीलाई ।’

सबै तस्बिर : सयन्द्र राई

प्रतिक्रिया दिनुहोस्