बोझेओडारको अजिङ्गर बाहिर निस्के अशुभ



बोझेओडारमा अजिङ्गर बस्ने गर्छ । त्यहाँ रहेको अगिङ्गर समय–समयमा बाहिर निस्कन्छ । अजिङ्गर बाहिर निस्क्यो भने अशुभ हुन्छ । बोझेओडारको प्रसंग आउनसाथ हलेसी भेगका वृद्धवृद्धाले परापूर्वकालदेखि यस्तै कथा सुनाउँथे । अहिले पनि सुनाउँछन् ।

‘किरात राई समुदायले अजिङ्गरलाई पितृका रूपमा पुज्न थालेको धेरै भइसकेको छ । मुन्दुममा अजिङ्गरलाई रुङ्जी भनिन्छ । नियामा (नियामा भनेको किराती पुर्खाले खेतीपाती गर्न थालेको थलो)देखि नै हामीले अजिङ्गरको पूजा गथ्र्यौं,’ मुन्दुम अध्येता भोगीराज चाम्लिङले इतिहास कोट्याए, ‘त्यतिबेलादेखि नै हामीले चुला पूजा गथ्र्यौं । त्यतिबेलादेखि नै हामीसँग ढोल–झ्याम्टा थियो । हामी त अजिङ्गरपूजक हौं । त्यहाँ अजिङ्गर हुनु भनेको बोझेओडारको प्राचीनता र ओडारसँग जोडिएको सम्बन्धले किरातीको जीवन्त इतिहास छर्लंग पार्छ ।’

किराती आदिम पुरुष खोक्चिलिपा र बोझेओडारको सम्बन्ध त्यत्तिकै पुरानो छ । खोक्चिलिपाले सिकारमात्रै खेलेनन्, कैयौं रात बोझेओडारमा बिताएका थिए । माइती (खोक्चिलिपा)लाई छाडेर तुवाचुङबाट हिँडेपछि किराती आदिम महिला तोयामा र खियामा हलेसीनजिकै रहेको ककनीडाँडा, बोझओडार, भुम्जु हुँदै ओखलढुंगाको लिब्जुसम्म पुगेका थिए । उनीहरू त्यहाँबाट फर्कंदा पहिले हिँडेकै बाटो भएर पुनः तुवाचुङ फर्केका थिए ।

ऐतिहासिक तथा सांस्कृतिक विरासतसँग सम्बन्धित प्राकृतिक बोझेओडार बदलिँदै गएको छ । सडकछेउमै मन्दिर देखिन्छ । मन्दिरको नाम कर्णेश्वर हो । बोझेखोला पुगेका जोकोहीले सडकमै कर्णेश्वर मन्दिर देख्छन् । मन्दिरआसपासमा बस्ती बाक्लै विस्तार भएको छ । पहिले बोझेखोला सुनसान थियो । मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएपछि बस्ती विस्तार भयो । बस्ती विस्तार भएपछि यहाँको चहलपहल बढेको हो । मन्दिर बनेको पनि धेरै भएको छैन ।

मन्दिरको नाम कर्णेश्वर राख्नुको पनि अर्थ छ । मन्दिरनजिकै बोझेओडार छ । ‘बोझेओडारमा सत्यदेवीको कान पतन भएको किंवदन्ती प्रचलित छ,’ बोझेओडार प्राथमिक विद्यालय प्रधानाध्यापक केदारप्रसाद पौडेल भन्छन्, ‘यहाँ सत्यदेवीको कान पतन भएकाले मन्दिरको नाम कर्णेश्वर राखिएको हो ।’

सामान्य मानिसलाई कर्णेश्वर मन्दिरबाट बोझेओडार पुग्न दुई मिनेट लाग्छ । मोटाघाटाले पाँच मिनेट समय खर्चनुपर्छ । ओडारसम्म पुग्न त्यति सजिलो छैन । भित्ता र पाखाका बुटा समात्दै ओडारसम्म पुग्न सकिन्छ । गुफा पसेपछि तीनतिर जाने बाटा छन् । ‘तेर्सो बाटो जाँदा एउटा गुफा पुगिन्छ । उँभो लाग्दा अर्कै गुफा देखिन्छ,’ प्रधानाध्यापक पौडेलले थपे, ‘उँधो झर्दा तेस्रो गुफा पुग्न सकिन्छ । अन्धकार भएकाले टर्चलाइटविना उँधो झर्न सकिँदैन । टर्चलाइट नहुँदा कतिपय स्थानीय राँको बालेर बोझेओडार पसेका थिए ।’

एउटै ओडारभित्र तीन–तीनवटा गुफा देख्दा जोकोही अचम्म मान्छन् । गुफाभित्र के–के देखिएलान् ? ‘ओडारभित्र शिव–पार्वती, गणेशको आकृति देखिन्छन् । तर, नियालेर हेर्नुपर्छ । ओडारको दायाँपट्टि रहेको गुफामा मानिसका करङ र गाई–गोरुको नलीहाडजस्तो आकृति देखें,’ बोझेओडारबाट फर्केपछि शिक्षक तेजकुमार राईले बेलिविस्तार लगाए, ‘त्यतिमात्रै होइन, ओडारको सबैभन्दा तल्लो भागमा रहेको गुफामा महादेव कुर्सीमा बसेजस्तो आकृतिसमेत देखेको थिएँ । त्यहाँबाट माथितिर हेर्दा आँखीझ्यालबाट बाहिर नियालेजस्तो आकाश देख्न सकिन्छ । एकैपटक दुई सयजना अटाउने क्षेत्रफल रहेको त्यहाँ चिसो हावा चल्छ ।’

उत्पत्तिकालमा ओडार जलमग्न हुनुपर्छ भनेर सहजै अड्कलबाजी काट्न सकिन्छ । ओडारभित्र रहेका गुफामा देखिने आकृतिले ओडारको शोभा बढाएको छ । ‘त्यतिबेला लोभलाग्दा देखिने प्राकृतिक आकृति हिजोआज बुच्चै देखिन्छन्,’ पौडेलले दुःखेसो पोखे, ‘खै कसले भाँचेर लगे । त्यतिबेला रेखदेख गर्न सकिएन । अहिले थकथक मानेर के गर्नु ।’

हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेमा रहेको बोझेओडार नगरका सम्भावित पर्यटकीय स्थलमध्ये एक हो भन्नेको कमी छैन । ‘बोझेओडार साँच्चै भ्रमणयोग्य लाग्यो,’ शिक्षक राईले सुझाए, ‘सम्भावित पर्यटकीय स्थललाई दृष्टिगत गर्दै प्रवद्र्धन गर्न ढिला गर्न हुँदैन ।’
बोझेओडारलाई पर्यटकीय स्थल बनाउन ४ नम्बर वडाका जनप्रतिनिधि र वडावासी लागिपरेका छन् । ‘बोझेओडारलाई पर्यटकीय स्थल बनाउन वडास्तरीय पहल भइरहेको छ,’ हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका वडाध्यक्ष किशोरकुमार बस्नेतको भनाइ छ, ‘वडास्तरीय पहलले मात्रै सम्भव हुँदैन । नगरपालिकाको ध्यानाकृष्ट हुनुपर्छ ।’

‘बोझेओडारसम्म पुग्न सजिलोका लागि सर्वप्रथम सिँढी बनाउनुपर्छ । सिँढीसँगै रेलिङ लगाउनुपर्छ । त्यतिमात्रै गर्न सकियो भने आवतजावत गर्न सजिलो हुने थियो,’ वडाध्यक्ष बस्नेतले भने, ‘ओडारभित्र रहेका तीन गुफाको प्राकृतिक अवस्था नबिग्रनेगरी ओहोरदोहोर गर्न सजिलोका लागि सिँढी बनाउन र बिजुलीबत्ती व्यवस्था गर्न आवश्यक छ ।’

त्रिधार्मिक स्थल हलेसी दर्शन गर्न जाँदै गरेकालाई सर्वप्रथम बोझेओडारको दर्शन नगरे यात्रा अधुरो हुने सन्देश प्रवाह गर्न सके बाह्य पर्यटकलाई बोझेमा केही समय अल्मलाउन सकिन्छ ।

बोझेओडारको माथिल्लो भाग चट्टानै चट्टानले ढाकेको छ । चट्टान कालो छ । बडहरेमा फैलिएको महालंगुर शृंखला (बोझेढाड) भएर पैदल यात्रा गर्नेले यहाँको ढुंगाको चर्चा गर्थे । यहाँको ढुंगा सिमेन्टका लागि उपयुक्त होला कि भनेर चर्चा गरिन्थे । यहाँको ढुंगा सदुपयोग गरी सिमेन्ट उद्योग खोल्न पाए स्थानीय लाभान्वित हुन्थे भनेर कतिपयको तर्क थियो । सिमेन्ट बनाउन यहाँका ढुंगा उपयुक्त छ कि छैन भनेर हलेसी तुवाचुङ नगरपालिकाको पहलमा परीक्षणसमेत गरिएको थियो ।

बोझेओडार पुग्नेले दक्षिणतिर सुनकोसी, उत्तरतिर हेर्दा दूधकोसी र हिमशृंखला देखिन्छन् । चाँदीझैं टल्केका हिमशृंखला देख्दा जोकोही आनन्दित हुन्छन् । सल्लाका रूखले बोझेओडारको सुन्दरता थपेको छ । चैत, वैशाखमा बोझेओडार पुग्नेले आफ्नै हातले टिपेर ऐंसेलु खानुको आनन्द शब्दमा व्यक्त गर्न सजिलो छैन । ओडारआसपासका खरपाखा रहरलाग्दो देखिन्छ ।

बोझेओडारको नामकरण कसरी रहन गयो होला ? जोकोहीले सोध्न सक्छन् । ‘उहिले बोझेओडारआसपासमा बोझो नै बोझो पाइन्थ्यो रे,’ शिक्षक पौडेलले जानकारी गराए, ‘बोझो नै बोझोले ढाकेकाले ओडारको नाम बोझेओडार रहन गएको हो ।’

ओडारछेउमा रहेको खोलालाई बोझेखोला भनिन्छ । एउटै खोला उत्तर र दक्षिणतिर फैलिएको छ । पानी पर्दा उत्तरतिर बग्ने बोझेखोला दूधकोसी पुगेर मिसिन्छ भने दक्षिणतिर फैलिएको बोझेखोला सुनकोसीमा मिसिन्छ । एउटै खोला दुई कोसीसम्म फैलिएको सुन्दा जोकोही तीनछक पर्छन् ।

बोझेओडारमा बालाचतुर्दशी, कृष्ण अष्टमी, तीज र शिवरात्रिमा मेला लाग्छ । कर्णेश्वर मन्दिरआसपासमा लागेको मेला कम्ती सुन्दर देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्