दुरालाई तालिम गराउँदा मिश्र दंग


लमजुङ । सुन्दरबजार नगरपालिकाका नगरप्रमुख जनकराज मिश्रले दुरा समुदायका युवा तथा महिलालक्षित तालिम आयोजना गरिएकोमा खुसी व्यक्त गरेका छन् ।

जलवायु परिवर्तन, आदिवासी जनजातिको दिगो स्वनिर्धारित विकास तथा नीतिगत पैरवीसम्बन्धी तालिमको उद्घाटनसत्रमा नगरप्रमुख मिश्रले भने,  आफ्नो छुट्टै पहिचान भएको संस्कृतिले धनी समुदाय दुरा हो । दुराडाँडा क्षेत्रका उहाँहरू आफैंले प्राकृतिक स्रोतसाधन व्यवस्थापन गरिरहनुभएकोमा गौरवान्वित छु । 

नगर कार्यपालिकाले पारित गरेको वनसम्बन्धी कानुनले स्रोतमाथिको दुरा समुदायको प्रथाजनित कानुनलाई मान्यता दिएको उनले बताए । सुन्दर बजार नगरपालिकाले हालै पारित गरेको वनसम्बन्धी कानुनमा आदिवासी जनजातिको प्रथाजनित व्यवस्थामार्फत प्राकृतिक स्रोत व्यवस्थापनलाई मान्यता दिइएको छ । यसका लागि सिप्रेडले दुरा समुदाय र नगरपालिकासँग समन्वय गरेको थियो ।  

नगर कार्यपालिका सदस्य सुरेशकुमार दुराले नगरपालिकाले पारित गरेको वनसम्बन्धी कानुनी व्यवस्थाले आदिवासी जनजाति दुराले लामो सययदेखि आफ्नै प्रथाजनित कानुनमार्फत व्यवस्थापन गर्दै आएको वनलाई मान्यता दिएको बताए । दुराडाँडामा दुरा समुदायले आफ्नै रीतिथितिमार्फत एक हजार हेक्टर वन क्षेत्र व्यवस्थापन गर्दै आएका छन् । 

यसैगरी, दुरा सेवा समाजका अध्यक्ष देव दुराले दुरा युवा तथा महिलालक्षित तालिम सञ्चालन भएकोमा खुसी व्यक्त गरे । सिप्रेडसँग मिलेर हामीले यसअघि पनि दुरा समुदायका लागि विभिन्न कार्यक्रम गर्दै आएका छौं, उनले भने, अहिलेको विषम परिस्थितिमा तालिम गर्न पाउनु दुरा समुदायका लागि खुसीको कुरा हो । 

तालिममा जलवायु परिवर्तनले निम्त्याएका चुनौती र अन्तरसांस्कृतिक दृष्टिकोणबारे डा. पासाङ शेर्पा, मानवअधिकार, आदिवासी जनजाति अधिकार तथा आदिवासी जनजातिको दिगो स्वनिर्धारित विकास र नीतिगत पैरवीबारे पत्रकार खिम घले, आदिवासी जनजाति महिलाको मूलप्रवाहीकरण तथा मानवअधिकारबारे इन्दिरा श्रेष्ठ र जलवायु परिवर्तनले आदिवासी जनजातिमा पारेको असरबारे पूर्वकर्णेल गोकुल दुराले सहजीकरण गरेका थिए । 

त्यस्तै, सिप्रेडका आङनिमा शेर्पा र प्रीति गुरुङले जलवायु परिवर्तनले दुराडाँडा र विशेषगरेर दुरा समुदायमा परेको असर पहिचान गरेका थिए । 

तालिम समापन समारोहमा सुन्दरबजार नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष प्रेमबहादुर दुराले दुरा समुदायलाई आफ्नो अधिकारप्रति सचेत गराउन तालिम अपरिहार्य रहेको सुनाए । सिप्रेडले गराएको तालिमले दुरा समुदायको आयआर्जनमा सघाउ पुग्नेमा वडाध्यक्ष दुरा ढुक्क छन् । 

दुरा समुदायको अधिकार स्थापनाका लागि तालिमलगायतका क्षेत्रमा सिप्रेडले सघाइरहेको छ । हामीले दुरा समुदायले आफ्नो प्रथाबाट व्यवस्थापन गर्दै आएको स्रोत–साधनमा उहाँहरूकै अधिकार स्थापित होस् भन्ने चाहेका हौं,सिप्रेडका अध्यक्ष डा. पासाङ शेर्पाले भने, उहाँहरूले जुन माया र साथ हामीलाई दिनुभएको छ,  हामी पनि उहाँहरूसँग मिलेर थप काम गर्न उत्साहित छौं ।  

दुरा समुदायका युवा तथा महिलालाई आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र (सिप्रेड)ले जलवायु परिवर्तन तथा अधिकारमुखी तीनदिने तालिम आयोजना गरेको थियो । जलवायु परिवर्तन, आदिवासी जनजातिको दिगो स्वनिर्धारित विकास तथा नीतिगत पैरवीसम्बन्धी तालिम दुरा सेवा समाजको संयोजनमा आयोजना गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्