साहित्यमा युवकत्व


 

रजनीशले जुनबेला भारतमा युवाहरू देखेनन्, त्यसको दोष उनले महात्मा गान्धीलाई पनि दिएका थिए । सारा संसार खासगरी युरोप आधुनिक प्रविधितिर थियो, तर भारत भने आदि प्रविधि भन्न सकिने चर्खामा रूवा तुन्दै थियो । आधुनिक विज्ञान तथा प्रविधि हुँदै युरोप कहाँ हो कहाँ पुग्दै गरेको बेला भारतीयहरू चाहिँ जाबो चर्खा चलाउन बसे । सम्झिने नै हो भने यौटा गजबको “फेन्टासी” जस्तो पनि हुने रहेछ । तर, रजनीशले भनेजस्तो भारतीयहरूले रूवा कातेका मात्रै थिएनन् । त्यहाँ उनीहरूको आफ्नो अहम्, राष्ट्र वा राष्ट्रियताको निर्मितिको महत्वपूर्ण आन्दोलन पनि थियो– त्यो । अहिले सम्झिन्छु म गान्धी र चर्खा आन्दोलनलाई । वास्तवमा चिन्तक गान्धीको उक्त चर्खा आन्दोलन, माथि भनिएजत्ति मात्रै सायद हुँदै होइन । त्यसको आध्यात्मिकता एवं दार्शनिकतातिर फर्केर हामीले सोच्ने हो भने अर्को गम्भीर विषयलाई पनि अठ्याउनसक्ने छौं । त्यो हो– उक्त चर्खाको घुमाइसित रहने आत्म–केन्द्रितता अथवा स्वचिन्तनको बाटो । चर्खाको घुमाइले दिने जुन “मेडिटेसन” छ, त्यसले आम भारतीय नागरिक आफ्नो र राष्ट्रको बारेमा गहिरो सोचुन् ताकि सुदूर रहेको आफ्नो भविष्य सुरक्षित बन्न सकोस् । तर, आज अघि रजनीशले भनेजस्तो मात्रै भारत कहाँ रहेको छ र ? आज भारतसित प्रशस्तै युवाहरू छन् । अब भारतका जोगी, सन्यासी, माग्ने वा दरिद्र नागरिकहरू मात्र छैनन् । त्यस हरेक क्षेत्रमा हलाहल युवाहरू भएको हामीले प्रत्यक्ष महसुस गरिरहेछौं । युवाहरूमा हुने जुन प्राकृतिक क्रान्तिकारिता हुन्छ, जसले समाज वा राष्ट्रको पारम्परिक अवस्था वा समाजको जडतालाई सिर्जनात्मक ढङ्गले विखण्डित पार्न सक्ने सामथ्र्य हुन्छ ।

भारतमा युवाहरू जन्मिएछन् भन्ने गतिलो प्रमाण त भर्खरै गरिएको आणविक क्षेप्यास्त्र प्रक्षेपणलाई पनि लिन सकिन्छ । त्यसैगरी पाकिस्तानमा पनि उत्तिकै युवाहरू जन्मेका रहेछन् । दसौं सार्क सम्मेलनमा श्रीलङ्काकी राष्ट्रपति बन्दरानाइकेको भाषण सुन्दा श्रीलङ्कामा पनि थोर–बहुत युवाहरू जन्मेका रहेछन् भन्ने सङ्केत मिलेको छ । तर, हाम्रा प्रधानमन्त्रीले भने केही सुइँको दिनुभएन हाम्रो देशमा युवाहरू जन्मेका छन् कि छैनन् त ? छिमेकी राष्ट्र भारतले युवाहरू जन्मिएका छन् भन्ने सोझो र सामान्य प्रमाण त जब त्यहाँ रेल र बसको टिकटमा पन्ध्र पैसा भाडा बढ्दछ, तब सडकमा हेर्नुपर्छ स्वतः थाहा हुने रहेछ । तर, हाम्रो मुलुकमा चामल, मट्टितेल, दाल र आलुको डबलै मूल्य बढे पनि तीन सहर (काठमाडौं, ललितपुर, भक्तपुर) मा युवाहरू कहिलयै भेटिन्नन् । अरू के कुरा गर्ने ? यी सबै विचार गर्दा हाम्रो, कविताजस्तो नालापानीको त्यो गौरव, त्यो इतिहासमा सर्वोच्चतामाथि नै शङ्का गर्नुपर्ने ठाउ“ उब्जन्छ । भोलि कुनै पनि बखत भारतीय युवाहरूले आफ्नो बैंस पोख्न यतातिर हाम्फाले भने हाम्रो के हविगत हुने हो ? उहिल्यै साम्राजयवादी मङ्गोलियनहरूको प्रतिरक्षामा जापानलाई उसका प्रकृतिको युवकत्वले साथ दिएजस्तो वा अङ्ग्रेजहरूलाई यहाँको भीर, जङ्गल, औलो र जाडोहरूले लखेटेजस्तो अब अवश्यै हुने छैन । त्यतिबेला पशुपतिनाथसित शक्ति मागेर वा लुम्बिनीमा निर्वाण प्राप्त गर्न बसेर संभवतः केही हुनेवाला छैन । दुई राष्ट्रको यति लामो इतिहासमा नजाने कति युवाहरूले पशुपतिनाथ गुहारे ? कतिले इसु गुहारे ? स्व. सांसद मिर्जादिल सादवेगले पनि अवश्यम्भावी अल्लाह पुकारेकै थिए होलान् ।

राजनीतिसित देखिने युवाहरूलाई “युवा” भन्न सुहाउ“दैन, उनीहरू शारीरिकरूपमा युवा भए पनि मानसिक रूपमा बृद्ध नै हुन् । म पनि युवा हुन्छु भनेर युवा हुन खोजेका युवाहरू असली युवा होइनन् । स्वतः स्फूर्त युवा हुनका लागि प्रकृति आफ्नो हैकममा हुनुपर्दछ । तसर्थ, कालापानीमा केही युवाहरू पुगे भनेर हामी आफ्नो युवकत्वमा पूर्णरूपले विश्वस्त हुने कुनै कारण सुरक्षित छैन । त्यसोभए हामी हाम्रो साहित्यमा चाहिँ युवक छौं कि छैनौं त ? केही समयअघि भारत आइपुगेका प्रो. ज्याक डेरिडाले भनेछन्– ‘यहाँ राज्यले भ्रम फैलाइरहेको छ कि भ्रमले राज्य गरिरहेछ ?’ नितान्त चिन्तनको विषय नै थियो– त्यो । तर, उहिल्यै हाम्रा ऋषिमुनिहरूले भनिसकेका कुराहरू नै भनियो भनेर डेरिडाको युवकत्वलाई स्वीकार्न नसक्ने भारतीय पण्डितहरूले एक प्रकारको रतीय–गैरता प्रदर्शन गरेको हामीले अखबारहरूमै पढ्यौं । विचारहरूको सापेक्षमा भन्नुपर्ने त सबै भनिसकिएकै हुन्छन् कसरी भन्ने ? खासगरी तेस्रो मूलुकहरुमा त डेरिडाको उक्त उक्ति सापेक्षित रहेको अनुभव हामीले बनाएको अभिनेता असलमा अभिनेता नरहेको स्थिति हामीले पूजा गर्ने गरेको आस्था वा विश्वासहरू विघटित भइरहेको परिप्रेक्ष्यबाट माथिको उक्ति मनन् गर्न लायक बन्दछ ।

साहित्य स्वयम् पनि सामाजिक प्राणीजस्तै त हो, हामीद्वारै निर्मित हाम्रो साहित्य पनि विश्वसाहित्यको समकक्ष छ, भन्नु केवल भनिदिनु हो । केवल आत्मरति गाउनु नै हो भनेर हाम्रा खाँटी साहित्यकारहरूले भनिरहेकै छन् । राज्यसत्ताले बनाएको कुनै इमानदार दलाल, ठेकेदार, व्यापारी प्रवृत्ति जहाँ पनि हुन्छ, जेमा पनि हुन्छ– साझा स्वार्थको रूपमा विश्वास गर्ने नगर्ने हाम्रो स्वविवेकमा निर्भर रहन्छ ।
साहित्यमा युवकत्वको अनुभूति एक शास्त्रसम्मत दृष्टिकोण पनि हुनसक्छ । यसलाई शास्त्रकारहरूले आधुनिक, मौलिक, समय सापेक्षित वा कालचैतनिक अनेकौं भन्लान् । वाल्मीकिकृत रामायणद्वारा निर्मित भानुभक्त कति युवक हुन ? उनको युवकत्व जाँच्न कुमाले प्रवृत्तिको हाम्रो मस्तिष्क उपयुक्त हुँदैन । त्यसैगरी देवकोटा, सिद्धिचरण, रिमाल, भूपि, बैरागी काइँला, बल्लभ, कोइराला, साकार, बल, विमल र विष्णुविक्रमसम्म आइपुग्दा कति युवकहरू भेट्टाउन सक्छौं साहित्यका ? प्रश्न निरूत्तर रहन सक्दछ । अफसोच लाग्छ– वाल्मीकि नजन्मी भानुभक्त नजन्मिएकोमा सेक्सपियर, वर्डस्वर्थ र शैलीहरू नजन्मी देवकोटा, सिद्धिचरण र समहरू नजन्मिएकामा । इलियट वा लोर्काहरू नजन्मी काइँला, कोइराला, बल्लभहरू नजन्मिएकामा । आज हामी जो जे लेखिरहेछौं, हाम्रो बैंस भत्काउन इतिहासका बाटोहरूमा त्यस्ता असङ्ख्य महा–युवहरूले जन्म लिइसकेका रहछन् । जसको सोझो संसर्गद्वारा हामीलाई युवक रहने प्राकृतिक अधिकार नै सुरक्षित छैन ।

कारण म जसको बीजद्वारा (साहित्यमा) अङ्कुरित छु, स्वयम् उक्त बीजको शुद्धताअघि नै क्षय भइसकेको हुनेछ । अब हामीले खोजेको त त्यही विचार र लेखन प्रविधिहरूकै शुद्धता हो । तिनै शुद्धताहरूको समकक्षमा उभिएको हुन्छ– लेखनकलाको युवकत्व, युवकत्वले परम्परा वा आदतहरूको बहिष्कार गर्न सक्नुपर्छ । उही बिछ्यौना, उही श्रीमती, उही निद्रा र उही मृत्युसित थाकेका डी.एच लरेन्सको अभिव्यक्तिको जिन्दगीजस्तो हो युकत्व । अथवा लेखनको युवकत्व जर्ज बर्नाड शाले भनेकोजस्तो प्राकृतिक दासत्वबाटको उन्मुक्तिजस्तो पनि ।
अचेल साहित्यिक सभा, समारोहमा जाँदा अक्सर म साहित्यका युवकहरू खोज्दछु । एकैलहरमा आसिन व्यक्तित्वहरू आफ्नो सिर्जनाहरूमा युवक लाग्छन् । मलाई यद्यपि शारीरिकरूपले मात्रै बृद्ध हुन खोजेका हुन् उनीहरू । युवकत्वको अनुभव उनीहरूको रचनाहरूले भइरहेको लगत्तै जब हामी शरीरले युवाहरू उभिन्छौं रचना लिएर तब मभित्र एक्कासी भय सल्बलाउ“छ । हामी ठेट्नाहरूले बालक देखिइनु प्राकृतिकता हो, तर जब ईश्वर बल्लभभन्दा बृद्ध भएको आभास हुन्छ भने त्यो सरासर अप्राकृतिकता नै हो । त्यहीबेला हामीले हाम्रो लेखनलाई फर्केर हेर्नुपर्ने हुन्छ, सोच्नैपर्ने हुन्छ– आफ्नो युवकत्वप्रति ।

लेखनका दृष्टिकोणलाई मेरा समकालीन मित्रहरूमा पनि यो नियति रहेको मैले अनुभव गरेको घटना हो । युवकत्व हेर्ने आँखाहरूमा निर्भर रहन्छ– कामा सौन्दर्यको विशिष्टीकरण ती आँखाहरूको हेराइको द्वन्द्वात्मकताले पनि निर्धारण गरेको हुन्छ नै । तर, अब हामी माधव घिमिरे र दिनेश अधिकारीलाई एकैलहरमा हेर्न अभ्यस्त भइरहेका छौं । नारायणगोपाल र रामकृष्ण ढकाललाई समान लहरमा हेर्न अभ्यस्त भइरहेका छौं । तर, खतरा त लेखनाथ पौडेललाई होइन लालगोपाल सुवेदीलाई नै हुनुपर्ने हो । बल्लभ दाइलाई होइन, खुमनारायणलाई नै हुनुपर्ने हो । भीष्म उप्रेती, उपेन्द्र सुब्बा, स्व. स्वप्निल स्मृति, राजन मुकारूङ, हाङयुग अज्ञात, विमल भौकाजी, रोशन शेरचन, रमेश श्रेष्ठ, रमेश क्षितिज, रमेश केसी, विप्लव ढकाल र श्रवण मुकारूङहरूलाई नै हुनुपर्ने हो । तसर्थ, साहित्यमा हाम्रो युकत्व, हाम्रो चिन्तन र सिर्जनधर्मिताको गतिमान निजत्व वा आफ्नोपनले नै निर्धारण गर्दछ भन्ने विश्वास पनि हामीसित रहेकै हुनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्