नेपालको कृषि प्रणाली र सरकारी नीति



नेपालमा कृषिलाई पेसा बनाउने कम छन् । यहाँ कृषि प्रणाली परम्परागत रूपमा गर्दै आएको पाइन्छ । यसबाट खासै उत्पादन राम्रो नभए पनि नेपालका हरेक गाउँ, बस्ती, तराई, पहाड र हिमालमा विभिन्नप्रकारका खाद्य तथा नगदेबाली स्थान, हावापानीअनुसार लगाइँदै आएको पाइन्छ । यतिमात्र होइन, पशु–पक्षीपालन पनि पराम्परागत रूपमा प्रत्येक घरमा दुई–चारवटा पाल्ने गरेको पाइन्छ । यसरी गाई, भैंसीपालन गर्दा आफ्नै खेतीबारीमा प्रयोग हुने गोबरको आवश्यकता पूरा हुने, दूध, दही खान पाइने र बचेको दूध बेचेर अलि–अलि घर खर्च टार्न सकिने कारणले थोरै गाई, बाख्रा, भैंसीपालन गरेको किसानहरू बताउँछन् ।

देशमा व्याप्त बेरोजगारी समस्या सही तरिकाले सरकारले सम्बोधन गर्न नसकेकाले दैनिक हजारौं युवा विदेशमा पसिना बगाउन बाध्य छन् । उनीहरू विदेश गएर पनि अदक्ष कामदारका रूपमा मात्र छन् । विदेशमा गएर पनि प्राविधिक ज्ञान नहुनेका लागि तल्लोस्तरको काम मात्र लगाइन्छ । विदेश गएर फार्म हाउसमा केही वर्ष काम गरेका युवा नेपाल फर्किएपछि यही माटोमा पसिना बगाउनुपर्छ भन्ने सोचसाथ नेपालका विभिन्न ठाउँमा गाईपालन, बाख्रापालन, माछापालन, हाँसपालन व्यावसायिक रूपमा गर्न सुरु गरेका छन् । यसैगरी, यही प्रेरणाबाट देशका धेरै ठाउँमा युवा समूह बनाई या एकल रूपमा व्यावसायिक पशु–पक्षीपालन या तरकारी खेती गर्न थालिएको छ । यसबाट राम्रो आम्दानी हुने गरेको छ । यसका कारण देशबाट ३० लाख युवा शक्ति बिदेसिएको अवस्थामा केही कमी आउने देखिन्छ । बेरोजगार भएर यताउता भौंतारिएर हिँड्ने युवाशक्ति केही मात्रामा भए पनि व्यावसायिक पशु–पक्षी वा तरकारी खेतीतिर आकर्षित हुन थालेको छ ।

व्यावसायिक होस् वा परम्परागत रूपमा गरिने तरकारी खेतीमा अत्यधिक मात्रामा विषादी प्रयोग गरिएको पाइन्छ । यसरी अत्यधिक विषादी प्रयोग गर्दा वातावरणमा असर पर्न गई मानव स्वास्थ्यमा प्रतिकूल असर परेको छ । विषादी प्रयोगले हाम्रा मित्र जीवको नाश हुँदै गइरहेको छ भने माटो बिग्रिएको, हावापानीमा असर परेको छ ।

देशका जुन ठाउँमा तरकारी खेती धेरै हुन्छन्, त्यही ठाउँमा यसको प्रत्यक्ष असर परेको पाइन्छ । यी ठाउँमा काठमाडौं उपत्यका, काभ्रेको पाँचखाल, धादिङलगायत तराईका विभिन्न ठाउँ मकवानपुरमा किसानलाई क्यान्सरजस्तो जघन्य रोग लागेको सरकारी तथ्यांकले देखाउँछ । यसमा पनि काभ्रेको पाँचखालमा धेरै असर परेको छ भने काठमाडौंको एउटा गाउँमा ५०–५५ घरधुरी बसोबास गर्ने ठाउँमा पाँच–सात वर्षभित्रमा ६ जनालाई क्यान्सर भइसकेको र पाँचजनाको मृत्युसमेत भएको छ । यसरी हामीले पिउने पानी सफा भएन भने, हावा सफा भएन भने हामीले अकालमा ज्यान गुमाउनुपर्छ । खेतबारीवरिपरि पानीको मुहान भएमा विषादी प्रयोग गर्नुहुँदैन ।

नेपालमा सरकारी स्तरबाटै कृषिसम्बन्धी नीति ल्याएर यसको ठोस कार्यान्वयन हुनु जरुरी छ । हरेक बजेट भाषणमा कृषिका लागि यति बजेट छुट्याइयो भनेर भन्ने मात्र गरिन्छ । तर, त्यसको कुनै सुधार भएको पाइँदैन । यसरी खेती गर्दा कुनै प्रकारका विषादी प्रयोग नगरी प्रांगारिक तरिकाबाट घरेलु औषधि प्रयोग गर्नुपर्छ । सरकारले अर्गानिक खेतीलाई जोड दिन जरुरी छ । यसरी अर्गानिक खेतीबाट उत्पादित तरकारी विदेशसमेत निर्यात गर्न सकिन्छ, यसलाई प्रोत्साहन गर्नु जरुरी छ । कृषि प्रणालीलाई आधुनिकीकरण गरिनुपर्छ । देशका सबै गाउँ विकास समिति र नगरमा कृषि तथा पशुसेवा केन्द्र खोलेका छन् । त्यसमा भएका प्राविधिक न त कुनै किसानका घर, खेतमा गएका छन्, उनीहरू त्यही सेवाकेन्द्रमा बसेर वा जिल्लामा हाजिर भएर तलब, भत्ता पचाएर बसेका छन् । किसानले लगाएका बालीमा वा पशुपक्षीमा रोग–कीरा लागेमा प्राइभेट प्राविधिकसँग चर्को मूल्य तिरेर सेवा लिनुपर्ने हुन्छ । त्यसैले सरकारले यसमा विशेष ध्यान दिनु जरुरी छ ।

व्यावसायिक कृषिलाई अगाडि बढाउनलाई सरकारले किसानले उत्पादन गरेका वस्तुको उचित मूल्य तोकिनुपर्छ । यसले मूल्यमा एक रूपता हुन जान्छ । पशु स्वास्थ्य बीमा अनिवार्य गरिनुपर्छ । पशुको उपचार वा स्वास्थ्य परीक्षण गरिनुपर्छ । पशु चिकित्सक वा प्राविधिकलाई अनिवार्य रूपमा गाविसमा बस्ने वातावरण मिलाउनुपर्छ । पशु–पक्षीको मृत्यु भएमा त्यसको उचित क्षतिपूर्ति दिनुपर्छ । महामारीका रूपमा फैलने रोग समयमा नियन्त्रण वा लाग्न नै नदिन सुपथ मूल्यमा भ्याक्सिनेसन उपलब्ध गराउनुपर्छ । कृषिलाई आवश्यक रासायनिक मल उचित मूल्यमा समयमै उपलब्ध गराउनुपर्छ । पशुको उन्नत जातका पालन गर्न नश्ल सुधार गर्नुपर्छ । यसरी कृषि तथा पशुपालनलाई व्यावसायिक रूपमा अगाडि बढाएर बढ्दो बेरोजगार वा विदेश पलायन हुने युवाशक्ति रोक्ने हो भने सहुलियत दरमा (कमभन्दा कम) ब्याज दरमा ऋण उपलब्ध गराई प्राविधिक ज्ञान वा सहयोग पुर्याएमा मात्र देशले काँचुली फेर्नेछ, नत्र भने सबै कुरा कागजमा मात्र सीमित हुनेछ ।

अर्गानिक खाऔं, स्वस्थ बनौं !
आफूमात्र होइन, अरूलाई पनि भनौं !

 

प्रतिक्रिया दिनुहोस्