भाषा, संस्कार, संस्कृतिबारे पूर्वका भुजेल अनभिज्ञ



खोटाङ ।  साकेला गाउँपालिका अध्यक्ष अर्जुुनकुमार खड्काले आफ्ना भाषा, संस्कार, संस्कृति जगेर्ना गर्न भुुजेल समुदाय नै सक्रिय र चनाखो हुुनुुपर्ने सुुझाएका छन् ।

भुुजेल भाषा, संस्कार तथा संस्कृति प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै साकेला गाउँपालिका अध्यक्ष खड्काले भुुजेल भाषा, संस्कार तथा संस्कृति संरक्षणार्थ साकेला गाउँपालिकाले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाए ।

भुजेल संस्कार, संस्कृति संरक्षक तथा केन्द्रीय सदस्य बालकुमार भुजेलले आफ्ना भाषा, संस्कार, संस्कृतिबारे सबै भुजेल समुदाय जानकार हुनैपर्ने बताए । सुनसरीनिवासी भुुजेलले नेपालको पश्चिमी जिल्लाका भुुजेलले भाषा, संस्कार, संस्कृति जोगाइरहे पनि पूर्वका भुजेल भने आफ्ना भाषा, संस्कार, संस्कृतिबारे अनभिज्ञ रहँदा आफूलाई दुःख लागेको सुनाए ।

भुजेल समाज सेवा खोटाङ सचिवालय सचिव उमेश भुजेलले सम्बन्धित समुदायले आफ्ना भाषा, संस्कार, संस्कृति जगेर्ना गर्न आफैं जागरुक हुनुपर्ने औंल्याए ।

‘खोटाङमा भुजेल बन्धुहरू धेरै हुनुहुन्छ । तर, भुजेल भाषा, संस्कार–संस्कृतिबार भुजेललाई नै थाहा छैन,’ भुजेल समाज सेवा साकेला गाउँपालिका संस्कार, संस्कृति संरक्षण संयोजक प्रजाकुमार भुजेलले भने, ‘तसर्थ, हामी भुुजेललाई आफ्नो भाषा, संस्कार, सस्कृतिबारे गहिरो ज्ञान हुनुुपर्छ ।’

कोरोना कहरबीच स्वास्थ्य मापदण्ड अपनाई साकेला गाउँपालिका खोटाङमा भुजेल भाषा संस्कार तथा संस्कृति (पुजारामे)बारे चारदिने प्रशिक्षण गरिएको थियो. । भुजेल समाज सेवा खोटाङको सहजीकरण, भुजेल समाज सेवा साकेला गाउँपालिकाको आयोजना र साकेला गाउँपालिका खोटाङको आर्थिक सहयोगमा आयोजित पुजारामे प्रशिक्षण आयोजना गरिएको भुजेल समाज सेवा साकेला गाउँपालिका संस्कार, संस्कृति संरक्षण संयोजक भुजेलले जानकारी दिए ।

चारदिने प्रशिक्षण कार्यक्रममा भुजेलको जन्म, विवाह, मृत्यु संस्कारलगायत जन्मदेखि मृत्युसम्मका संस्कारबारे प्रशिक्षण दिइएको थियो । प्रशिक्षणमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, साकेला गाउँपालिका र तेह्रथुमका सातजना भुुजेलले सहभागिता जनाएका थिए ।
भुजेल भाषा र संस्कृति, खोज र अनुसन्धान गर्न आफू लागिपरेको जानकारी गराउँदै आफ्नै गाउँठाउँमा पुजारामेसम्बन्धी प्रशिक्षण लिन पाउँदा अत्यन्तै खुसी लागेको प्रशिक्षार्थी प्रकाशकुमार भुजेलले बताए । भुुजेलले प्रशिक्षणमा सिकेको ज्ञान व्यवहारमा लागू गर्ने प्रतिबद्धता जनाए ।

भाषा, संस्कार संरक्षण र प्रर्वद्धनमा साकेला गाउँपालिकाले देखाएको चासो र सहयोगको भुजेल समाज सेवा साकेला गाउँपालिका अध्यक्ष कुमारसिंह भुजेलले प्रशंसा गरेका थिए ।

जिल्लाका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा र रावाबेंसी गाउँपालिका–६ हौंचुरमा मृत्यु संस्कार लागू भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्