मेरो मोबाइलमा के दोख छ कुन्नि ? रोमनमा ‘घर’ टाइप गर्दा जहिल्यै ‘घाट’ देखापर्छ । म घर न घाट भएर लेख्नै छाडिदिन्छु ।
आज बलराम बानियाँको मलामी गएर आएपछि बुझ्दै छु, घर र घाटको निस्सीम सम्बन्ध । घरबाट घाटसम्म जाने बाटो छ । घाटबाट घरसम्म फर्कने बाटो छैन । जिन्दगीभरि बाटैबाटा छन्, चिताबाट उता बाटै छैन ।
छक्क पर्छु, कुनै दिन बलराम दाइको मलामी जानुपर्ला भनेर मैले सोचेकै रहेनछु ।
साँच्चै भन्ने हो भने बलराम दाइसँग मेरो सम्बन्ध ‘हाई हेलो’ मात्रै हो । न नजिक, न त टाढा । यस्तो किन सम्भव भयो भने म कसैसित नजिकिनै सक्दिनँ । ननजिकिएपछि टाढिनु पनि परेन ।
यस्तो सम्बन्ध हुँदाहुँदै पनि मलाई कसैको हार्दिकता गुमेजस्तो, कसैको प्यार छुटेजस्तो अप्रिय अनुभव भइरह्यो ।
यत्ति हो, मलाई उनी अनुजको स्नेह गर्थे, म उनलाई अग्रजको सम्मान ।
यो किन पनि भयो होला भने उनीजस्तै म छु अन्तर्मुखी । आत्मविज्ञापित हुन नचाहने लुकुवा ।
आज आर्यघाटमा छोरा सुप्रिम बानियाँको खौरेको टाउको देखेपछि म कहालिएँ । छोरी सुस्मिताको आत्मबल देखेर मुग्ध पनि भएँ । यस्तो सुन्दर घरसंसारलाई अलपत्र छाडेर भाग्न पाइन्छ र बलराम दाइ ?
म प्रायः जमघटमा जान्नँ । जमघटमा अनिच्छापूर्वक आफ्नो नामथर बताउँदा कतिपयले भनिदिन्छन्, ‘तपाईंको समाचार कान्तिपुरमा पढेको छु बलरामजी ।’
म बानियाँ बलराम होइन, राजकुमार हुँ भनेर अभद्रता देखाउन आँट गर्न सक्दिनँ । फोसामा बलरामको क्रेडिट पाउँछु । यो कुरा मैले उनलाई कहिल्यै सेयर गरिनँ ।
बलराम दाइसँग ‘के छ ?’ ‘ठीक छ’ भन्दा धेरै अगाडि जान सकिनँ । पहिले कान्तिपुर पब्लिकेसन्समा काम गर्दा पनि त्यस्तै भयो । नागरिकमा केही वर्ष सँगै काम गर्दा पनि त्यस्तो स्मरणीय बसाउठी केही रहेनन् ।
उनी नागरिकको राजनीतिक ब्युरोमा प्रमुख थिए । म त्यसकै डेस्क एडिटर । उनका समाचार लामा हुन्थे । विज्ञापनका कारण कहिलेकाहीँ मुटु–कलेजो समेत निकालेर फाल्न तयार हुनुपर्थ्यो नै । विज्ञापन पनि छाप्नुपर्ने, समाचार पनि छाप्नुपर्ने स्थितिमा त्यस्तो हुन्थ्यो । उनी भनिरहन्थे, ‘त्यसरी अंगभंग बनाउनुको साटो भोलि छापेको भए हुन्थ्यो नि ।’
उनको र मेरो हिमचिम नहुनुको कारण उनैले खोले, ‘मलाई त तपाईं कम्युनिस्ट हो कि भन्ने लागेको थियो ।’ ‘म भूपू कम्युनिस्ट हुँ’, मैले भन्नैपर्ने बाध्यता भयो । कम्युनिस्टहरु अलि चर्का हुन्छन् भन्ने उनलाई लागेको थियो सायद ।
हाकिमगिरी कहिल्यै देखाएनन् उनले । सदैव लो प्रोफाइलको जीवन बिताए । अति सामान्य लवाइखुवाइमै रहे । काठमाडौँको पत्रकारिता उनले चप्पल पड्काएर चलाए, हिँडेरै चलाए । तैपनि सामाजिक न्याय र सुशासनको आवाज उठाउन छाडेनन् ।
पत्रकारिताको धर्म निर्वाहका क्रममा उनीबाट केही भूलचूक भयो पनि होला । तर चाटुकारिता र छट्टुकारितामा उनले विश्वास गरेनन् । सिर्फ पत्रकारिता गरे ।
उनले दिनहुँ दुईतीनवटा समाचार लेखेकै हुन्थे । उनी मातहतका पत्रकार भने हप्तादिनसम्म केही पनि लेख्दैनथे । डेस्कको नाममा नाली सोहर्न अभिशप्त म उनका शीर्षक, लिडदेखि भाषा र हिज्जेसम्म मिलेको समाचार पाउँदा मख्खिने नै भएँ ।
अल्पभाषी बलरामले कहिलेकाहीँ चिया गफमा जोक्स चाहिँ धाराप्रवाह दिएको देखेर म छक्क पर्थें ।
पछि उनी नागरिकबाट कान्तिपुरमा फर्किए, केही समयपछि मैले पनि उनकै पदचाप पछ्याएँ ।
कहिलेकाहीँ लिफ्टमा भेट हुन्थ्यो, कहिलेकाहीँ क्यान्टिनमा । यसो हेर्दा उनी आफैँ बिरामीजस्ता देखिन्थे तर मलाई स्वास्थ्यमा ख्याल गर्न भनिरहन्थे । यस्तो विरोधाभासबीच पनि म द्रवित हुन्थेँ मनमनै ।
साँच्चै भन्ने हो भने बलराम दाइको सादगीबाट म प्रभावित थिएँ । कुनै दिन आत्मीय गफ गर्ने दिन जुर्ला जस्तो लागेको थियो । जुरेन । यस्तै भयो ।
दाजु राजेन्द्र बानियाँसँग सपत्नीक शिक्षण अस्पताल महाराजगन्जबाट उनको निवास कान्तिपुर मार्ग, तीनकुने पुग्दा म अझै भक्कानिएँ । भाउजूको अवचेतन मन बोलिरहेको थियो, ‘म त्यस्तो सोझो मान्छे गुमाएँ । त्यस्तो इमानदार मान्छे गुमाएँ । जसले जिन्दगीभरि परिवार भनेन, साथीभाइ मात्रै भनिरह्यो, आज साथीबाटै धोका भयो ।’
उनको अन्तर्मुखी स्वभावबारे आमाले भनेकी थिइन् रे, ‘मैले छोरा त पाएँ, तर उसको आत्मामा के छ ? अहिलेसम्म थाहा पाएकी छैन ।’
बलराम दाइको दुर्घटना, आत्महत्या या हत्या म जान्दिनँ । त्यो मेरो काम पनि होइन । आर्यघाट पुगेर फर्केपछि मैले भन्नैपर्छ, बलराम दाइको मृत्यु चाहिँ पक्का हो ।
साह्रै खेद छ, अब मैले बलराम बानियाँको समाचारको क्रेडिट पाउँदिनँ ।
स्केचः रवीन्द्र मानन्धर