पेटिकोटको पछि दौडने राजनीतिककर्मीलाई विश्वास गर्न नसकिने


चौथो महाधिवेशनपछि पार्टीभित्र सैद्धान्तिक, राजनीतिक र संगठनात्मक विषयमा उज्ज्वल परम्परा र वैज्ञानिक दृष्टिकोण स्थापना हुन थालेका लक्षण प्रशस्त देखा पर्दै गइरहेछन् । यो पार्टीको ज्यादै गहकिलो उपलब्धि हो । तर, यतिमात्र क्रान्तिनिम्ति पर्याप्त हुन सक्दैन । ‘विनाक्रान्तिकारी सिद्धान्त’ जसरी ‘कुनै पनि क्रान्तिकारी आन्दोलन सफल हुन सक्दैन’, त्यसरी नै ‘क्रान्तिकारी व्यवहारसित सम्बन्ध नभएको सिद्धान्त निरुद्देश्य हुन्छ ।’ सिद्धान्तलाई क्रान्तिकारी व्यवहारसित जोड्नु जटिल एवम् कठिन कार्य हो, यसलाई चाहे जसरी तुरुन्तै पूरा गर्न सकिँदैन । बाङ्गाटिङ्गा, कठिन र अप्ठ्यारा स्थितिसँग जीवनभरि जुध्न सक्ने धैर्य, लगन, अनुशासन, त्याग र बलिदानपछि नै सिद्धान्त क्रान्तिकारी व्यवहारसित गाँसिन्छ । यसरीमात्र क्रान्ति सफल पार्न सकिन्छ ।

यी सम्पूर्ण कुरा पूर्ति गर्न कम्युनिस्टहरूमा उच्च कोटिको सैद्धान्तिक एवम् राजनीतिक ज्ञान भएरमात्र पुग्दैन, उत्तिकै रूपमा माथिल्लो तहको नैतिक आचरण र निष्ठाको पनि जरुरी हुन्छ । यसलाई साँचो कम्युनिस्टले व्यवहारको अभिन्न अंग बनाउनैपर्छ ।
पार्टीमा हुन थालेको द्रुतत्तर विकास एवम् प्रगतिका साथसाथै विभिन्न क्षेत्रमा नयाँ–नयाँ प्रश्न उठ्न थाल्नु स्वाभाविक हो । यस्तै प्रश्नबीच विवाहसम्बन्धी कतिपय प्रश्न पनि उठ्न थालेका छन् । यस्ता प्रश्न वा समस्या वास्तविक जीवनका समस्या नै हुन् । यस्ता समस्यालाई हामीले भागेर होइन, जुधेर समाधान गर्नुपर्छ । यसबारे प्रस्ट दृष्टिकोण र उज्ज्वल परम्परा स्थापना गर्ने उद्देश्यले यहाँ केही कुरा प्रस्ट पार्ने प्रयत्न गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको ३० वर्षको लामो पार्टी इतिहासमा विवाहसम्बन्धमा पार्टीले खास नीति निर्धारण गरेको र निर्णय लिएको हामीलाई थाहा छैन । तथापि अन्तर्राष्ट्रिय भाइचारा पार्टी र आफ्नै परम्परा पनि के रहने गरेको छ भने विवाहेच्छुक कार्यकर्ताले आफू सम्बन्धित पार्टी समितिमा स्वीकृति दिई विवाह गर्नुपर्छ । सामान्य रूपमा पार्टीभित्र विवाहसम्बन्धी यो नियम लागू भएको छ । यसलाई अझ ठोस रूपमा लागू गर्ने प्रयत्न भइरहनुपर्छ ।

पार्टीको प्राथमिक अवस्थादेखि नै विवाहसम्बन्धमा पार्टीभित्र दुई किसिमका गलत धारणा रहने गरेको र कतिपय कार्यकर्ता यसको सिकार बनेको पाइन्छ । एकथरि साथीले पार्टी कार्यकर्ताको विवाह पार्टी कार्यकर्तासँग मात्र हुनुपर्छ भन्ने ज्यादै कट्टरपन्थी अडान लिन पुगेका छन् भने अर्काथरिले चाहिँ विभिन्नखालका समस्या र तर्कका आडमा जुनसुकै वर्गभित्र पनि विवाह गर्न सकिने ज्यादै फितलो र लचिलो धारणा अघि सार्छन् । यी दुइटै सोचाइ हाम्रो परिस्थितिअनुसार गलत छन् । पहिलो सोचाइ संकीर्णतावादी मनोवृत्तिको द्योतक हो भने दोस्रो उदारतावादी मनोवृत्तिको । यी दुइटै सोचाइले कार्यकर्तालाई पार्टीबाट विचलित बनाउन र पार्टीलाई विस्तार हुन नदिने ठूलो भूमिका खेल्छन् । पार्टीभित्र रहेका अविवाहित युवकयुवती जीवनसाथी बन्ने उद्देश्यद्वारा प्रेरित भएर प्रेमसूत्रमा बाँधिइन्छन् र यसबाट पार्टीलाई हानि पुग्दैन भने यसमा पार्टीले आपत्ति प्रकट गरिरहनुपर्ने आवश्यकता रहँदैन । तर, कतिपय ठाउँमा यसैलाई आधार बनाउनु ज्यादै अव्यावहारिक तथा कठिन हुन जान्छ । यसरी कार्यकर्ता जीवनभरि अविवाहित नै रहनुपर्ने स्थिति आइपर्न सक्छ । पार्टी इतिहासले यसलाई प्रमाणित गरिसकेको छ । यतिमात्र होइन, पार्टीको हुन सक्ने विस्तारसमेत अवरुद्ध गर्छ । अर्कोथरिको सोचाइलाई व्यवहारमा ल्याउँदा कतिपय माथिल्ला वर्गका युवकयुवतीले आफूसँग विवाहमा गाँसिएको कार्यकर्तालाई दिनैपिच्छेको व्यावहारिकक्रममा पार्टीबाटै विमुख गराएको, लोभलालचमा फसाएको तथ्य हाम्रासामु प्रशस्त छन् । यसकारण यस्ता दुवै सोचा हटाउँदै वर्गीय अडानलाई आधार बनाउने एवम् जनताका पंक्तिभित्र पर्ने मित्रशक्तिभित्र विवाह गर्ने परम्परालाई स्थागपना गर्नु आवश्यक छ । माथिल्लो वर्गमा विवाह गर्ने चाहनाको प्रबल विरोध गर्नुपर्छ । विवाहपछि सन्तान हुनासाथ होलटाइमर साथीहरू पार्टी छाड्न बाध्य भएका घटना पार्टी इतिहासमा थुप्रैै घटेका छन् । विवाहेच्छुक कार्यकर्ता दुवै पक्षले विवाह गर्दा पार्टी कार्यलाई प्राथमिकता दिने कुरामा सचेत हुन नसक्दा विवाह मात्र व्यक्तिगत स्वार्थको गर्तमा जाकिने कुरालाई राम्ररी हृदयङ्गम गर्नुपर्छ ।

‘विवाह गर्ने नै त हो नि !’ यस्तो निच किसिमको सोचाइ नराखी प्रेममा गाँसिएका साथीहरूले तत्कालै विवाह गरिहाल्ने बानी बसाल्नुपर्छ । नत्र भने कार्यकर्तासहित पार्टीको समेत बदनाम हुने अवस्था आउन सक्छ । यस्तो स्थिति आउन नदिन ज्यादै चनाखो हुनुपर्छ । विवाहअघि यौनसम्बन्ध कुनै पनि हालतमा राखिनुहुँदैन ।

कार्यकर्ता वास्तवमा जनताका लागि उदाहरण बन्न सक्नुपर्छ । नैतिकता, आचरण एवम् यस्तै अन्य विभिन्न क्षेत्रमा कार्यकर्ताले जनताका अघि आफूलाई आदर्श प्रमाणित गर्नुपर्छ । यसकारण उसले अनुचित रूपबाट दुई विवाह गर्ने वा व्यभिचार गर्ने कुरो आउँदैन । तर, विवाहित जोडीमध्ये कुनै एकले जीविकोपार्जनका निम्ति सम्पत्ति नकमाएको वा यसबाट रिसाएको बहाना वा विचार नमिलेको बहानामा अर्को विवाह गर्न खोज्ने प्रवृत्ति पनि कहिलेकाहीं पार्टीभित्र देखापर्छ । वास्तवमा पुँजीवादी वा प्रतिक्रियावादी विचार नै यस प्रवृत्तिको स्रोत हो । यस्तो प्रवृत्तिको विरोध प्रबल रूपमा गर्नुपर्छ । वास्तवमा परम्परागत ढंगबाट गरिने विवाहभन्दा सिद्धान्तलाई प्राथमिकता दिई प्रेमविवाह गर्नाले विचार नमिल्ने वा यस्तै अन्यखालका अड्चन नआउन सक्छन् । खासमा यही प्रगतिशील पद्धति कम्युनिस्टले विकसित गर्नुपर्छ । विवाह भइसकेपछि अन्य नचाहिँदो बहाना गरी अर्काे विवाह गर्न खोज्नु कम्युनिस्ट नैतिकताबाहिरको कुरा हो ।

निकै पहिले एक–अर्काथरि विकृत यौनवादी क्रान्तिको अपव्याख्या गरेर छाडा यौनवादी विचार प्रकट गर्ने गर्थे । उनीहरूको सोचाइमा ‘यौनतुष्टि प्राकृतिक आवश्यकता हो । यसको पूर्ति भएन भने क्रान्तिकारीहरू अनियन्त्रित, उत्तेजित वा निराश हुन्छन् । तसर्थ क्रान्तिकारीको यौनतुष्टि गरिदिनाले तिनीहरू सक्रिय, सक्षम र साहसी हुन्छन् । यस अर्थमा उनीहरूको आवश्यकताअनुसार जोसँगबाट पनि यौनतृप्ति गर्नु उचित हो किनभने यो क्रान्तिको हितमा हुन्छ ।’ यतिमात्र होइन, यसलाई आधार बनाएर दुई पत्नी हुने कमरेडसँग एउटी पत्नी पार्टीलाई यस्तो कामका लागि सुम्पने कुरोसमेत यिनीहरूबीच चलेको थाहा पाइएको छ । सामन्तवादी, पुँजीवादी नैतिकताले क्रान्तिकारी खोल ओढेर क्रान्ति एवम् क्रान्तिकारीको चरित्रहत्या गर्ने उपायकै यो मिहिन पारा हो । यस्ता डरलाग्दा प्रवृत्तिबाट सर्वहारा नैतिकताको रक्षा गर्न सबै पार्टी सदस्य सधैंभरि चनाखो रहनुपर्छ । यससम्बन्धमा लेनिनको निर्देशनलाई हामीले सधैं मनमा राख्न आवश्यक हुन्छ ।

‘व्यक्तिगत रोमान्स (प्रेमालाप)लाई राजनीतिसँग जोड्ने ती आइमाईहरूको विश्वसनीयता र अविचलितताको ग्यारेन्टी म गर्न सक्तिनँ,’ लेनिन भन्छन्, ‘त्यस्तै हरेक पेटिकोटको पछि दौडने ती पुरुषको विश्वसनीयता र अविचलितताको पनि ग्यारेन्टी गर्न सक्तिनँ । अहँ, क्रान्तिसँग यस्तो खेलवाड चल्दैन ।’

यसपछि लेनिनले अझ जोड दिंदै थपे, ‘क्रान्तिले आमजनता र प्रत्येक व्यक्तिबाट एकाग्रता, रगत र पसिना एकत्र गर्ने माग गर्छ । यौनसम्बन्धी रंगरेलीलाई अनुमति दिन सकिँदैन । यौनसम्बन्धी मामलामा सुस्ती देखाउनु पुँजीवादी कुरा हो । यो पतनको चिह्न हो ।’
उल्लिखित भनाइअनुसार हामीले अहिल्यै पार्टीभित्र उच्च किसिमको सर्वहारा नैतिकताको उज्ज्वल परम्परा र अनुशासन स्थापना गर्न असमर्थ भयौं भने घृणित सामन्ती पुँजीवादी नैतिकताको बोलवाला पार्टीमा हुनेछ । पार्टीले तिनको बाटो समात्नेछ । यस स्थितिमा त सिद्धान्त, राजनीति र संगठन जीवित रहन सक्छ न त क्रान्ति नै पूरा हुन्छ । उल्टो प्रतिक्रियावादको जित साम्यवादको हार हुन्छ ।

त्यसकारण हामी सबै पार्टी सदस्य र समर्थकले कहीं ‘म आफैंभित्र सामन्ती पुँजीवादी नैतिकताले त काम गरेको छैन ?’ नारीलाई कमारी ठान्ने सामन्ती समाज र नारीलाई उत्पादनको साधन ठान्ने पुँजीवादी समाजको असरबाट हामी कम्युनिस्ट मुक्त भइसकेका छांै भन्ने झुटो अहम् हामीले राख्नुहुँदैन । छाडा यौनवादीले क्रान्तिको हितमा भनी यौनसम्बन्धको जुन अपव्याख्या गर्छन्, त्यसभित्र नारीलाई कमारी वा उत्पादनको साधनमात्र ठान्ने प्रवृत्ति लुकेको हुन्छ । यस्तो डरलाग्दो प्रवृत्तिसँग लडेरमात्र सर्वहारा नैतिकताले सुसज्जित बलियो र ठोस पार्टी निर्माण गर्न सकिनेछ । यसनिम्ति यस दिशातिर हामीले सततः प्रयत्नशील रहनुपर्छ ।

(प्रस्तुत आलेख, २०३५ सालमा लेखिएको थियो ।)

प्रतिक्रिया दिनुहोस्