नामजस्तै कामलाई माया गर्ने ममता



नामजस्तै कामलाई माया गर्नु ममता थुलुङ राईको विशेषता हो । नाच्न सिक्नु र सिकाउनु राईको नियमित रुटिन छँदै छ । त्यतिबेला उनलाई ‘जो नाच्छ, ऊ धेरै बाँच्छ’ भन्ने भनाइसम्म थाहा थिएन । आफूले गरेको कामप्रति विश्वस्त उनले नाच्न कहिल्यै छाडिनन् ।

‘दाजुले प्रत्येक शनिबार सोलुखुम्बु सदरमुकाम सल्लेरीबाट फिल्मको सीडी ल्याउनुहुन्थ्यो,’ राईले विगत सम्झिन्, ‘घरको टीभीमा फिल्म हेथ्र्यौं । नायिका निरुता सिंहको अभिनय असाध्यै मन पथ्र्यो । नायिका सिंहले गरेकोजस्तै नृत्य अभिनय गर्ने अभ्यास गर्थें । यो संवत् २०६४ तिरको कुरा हो ।’

आठ कक्षासम्मको अध्ययन पार लगाएर उनी ०६५ मा काठमाडौं झरिन् । मणिराम थुलुङ राई र कमला थुलुङ राईले कान्छी छोरीलाई काठमाडौं पठाए । नौ कक्षादेखि काठमाडौंमा अध्ययन थालिन् । संवत् ०६७ मा एसएलसी पूरा गरिन् । घरपरिवार, आफन्त र शुभचिन्तकले भविष्यमा के बन्ने भनेर सोध्थे । उनको ‘रेडिमेड’ उत्तर हुन्थ्यो, ‘नर्स ।’ नर्स बन्न ब्रिजकोर्ससमेत गरिन् । ‘आफूले पढ्न चाहेको कलेजमा प्रवेश परीक्षा दिँँदा नाम निस्केन,’ उनको भनाइ थियो, ‘अन्य कलेजमा पढ्न जाँगर चलेन ।’

एसएलसीको प्रमाणपत्र हात लागेलगत्तै व्यवस्थापनमा दस जोड दुईको अध्ययन थालिन् । गाउँघर तथा विद्यालयमा हुने सांस्कृतिक कार्यक्रममा नाच्नसम्म नाचेकी उनले आफूभित्रको कलाकारिता मर्न दिएकी थिइनन् । दस जोड दुईको अध्ययनसँगै रामकुमार राईसँग नृत्य प्रशिक्षण कक्षा लिन थालिन् ।

आफूलाई मन परेको विधामा रमाउनुको आनन्द अरूसँग तुलना गर्न सकिँदैन । ‘प्यासनलाई प्रोफेसन बनाउन लागिपरेकी छु,’ उनले खुसी व्यक्त गरिन्, ‘०६८ देखि निरन्तर नृत्य प्रशिक्षण कक्षा लिने र नृत्य प्रशिक्षकको भूमिकामा छु ।’ ‘प्यासन’लाई ‘प्रोफेसन’ बनाउन काठमाडौंको बागबजारमा रहेको पद्मकन्या क्याम्पसबाट नृत्यमा स्नातक तहको अध्ययन पूरा गरिन् । नृत्यमा स्नातकोत्तर गर्न हतारिएकी छन् । तर, एमबीए अध्ययनले नृत्यमा स्नातकोत्तर गर्न केही समय लाग्ने भएको छ ।

नाच्नु भनेको खुसीको मुहान भेटिनु हो भन्ने ममता थुलुङ राईहरू बढ्दै गएका छन् । नृत्य विधामा ‘करिअर’ बनाउन लागिपरेकी राईलाई पनि त्यस्तै लाग्छ । उनी आफूलाई संसारकै सबैभन्दा खुसी मानिस हुँ जस्तो लाग्छ । म्युजिक भिडियो निर्देशक, नृत्य प्रशिक्षक र कोरियोग्राफरको भूमिकामा एकसाथ अनुहारिएकी उनलाई नृत्यले आत्मविश्वासी बनाएको हो ।

परिवारका सबै सदस्य सरकारी जागिरमा संलग्न छन् । सरकारी जागिरे देख्न चाहनेको चाहना पूरा गर्न नसके पनि आफूले रोजेको विधामा उनले लोभलाग्दो परिचय बनाएकी छन् । रंगकर्ममा नृत्यको भूमिका सबैभन्दा माथि हुन्छ । तर, नृत्य सिक्नुभन्दा सिकाउन गाह्रो हुने उनको ठम्याइ छ । गाह्रो काममै फराकिलो परिचय बनाउन लोभिएकी उनले स्कुल र इन्स्टिच्युटमा नृत्य प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएकी छन् । सिकाउनेक्रममा दैनिकजसो चार घन्टाभन्दा बढी नाचेरै बित्छ । नाच्दा थकाइ लाग्नु स्वाभाविकै हो । तर, आफूले रोजेको विधा र सकारात्मक सोचले थकाइ अनुभूति हुँदैन ।

सालिन्दा अप्रिल ९ मा नृत्य दिवस मनाइन्छ । नेपालमा यो दिवस मनाउन थालिएको धेरै भएको छैन । तर, दिवस मनाउनु भनेको नृत्यको महिमा बढ्नु/बढाउनु पनि हो । जुन बाटोमा उनले हिँड्न मन पराइन् । नेपाली लोक नृत्य र भारतको शास्त्रीय नृत्य (कत्थक) मा दख्खल उनको बुझाइ छ, ‘नृत्य विधामा रमाइरहेकाले जुन–जुन नृत्य गरे पनि नेपाली लोकनृत्यबारे बुझ्नैपर्छ । जान्नैपर्छ ।’

नृत्य प्रशिक्षक उनलाई नृत्यले नाम, दाम र सम्मान दिएको छ । पछिल्लो समय ‘रियालिटी शो’, म्युजिक भिडियो निर्माण बन्ने/बनाउनेक्रम बाक्लिएपछि उनी र उनीजस्ता खुसीले पुलकित हुने नै भए ।

खोटाङको चिउरीबासमा नाच्दा जीवनमै पहिलोपटक २ हजार पारिश्रमिक पाएको हिजैजस्तो लाग्ने उनले कलाकारितामै भविष्य खोज्ने निधो गरेकी छन् । ‘यो क्षेत्रका कतिपय काम मौसमी हुन्छन्,’ उनले स्वीकारिन्, ‘र पनि, आयस्रोत राम्रै हुन्छ । तर, एज फ्याक्टरले बुढेसकालमा अलि गाह्रो होला कि भन्ने लाग्छ ।’

प्रतिस्पर्धाको जमाना छ । ‘अस्वस्थ प्रतिस्पर्धाको बोलवाला छ,’ उनले टिप्पणी गरिन्, ‘राम्रोभन्दा हाम्रोले मौका पाउँदा हीरा र जिरा छुट्ट्याउन गाह्रो हुन्छ ।’

थुलुङ राई समुदायको पहिलो महिला निर्देशक भनेर चिनिएकी उनले पाँचभन्दा बढी म्युजिक भिडियोसमेत निर्देशन गरिसकेकी छन् । नेपालमा महिला निर्देशक कमै छन् । त्यसमाथि राई समुदायका महिला निर्देशक औंलामा गन्न सकिन्छ । त्यसमध्ये नेचा सल्यान गाउँपालिका–२ दाल्दु सोलुखम्बुनिवासी ममता थुलुङ राईले नाम लेखाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्