सुन्दर, शान्त, शीतल शेषनारायण


सधैं शीतल । सधैं शान्त । मनोरम दृश्य । यो फर्पिङको विशेषता हो । दक्षिणकाली नगरपालिकाको ५ नम्बर वडामा फर्पिङ पर्छ । चार नारायणमध्ये एक शेषनारायण फर्पिङमा रहेको छ ।

यहाँ सालिन्दा हरिबोधनी एकादशीमा भव्य मेला लाग्छ । हरिबोधनी एकादशीमा शेषनारायणको दर्शन गरे रोगव्याधिबाट मुक्त हुने जनविश्वास रहेको छ । त्यतिमात्रै होइन, पारिवारिक सुख, शान्ति तथा समृद्धि प्राप्त हुने धर्मभीरूको भनाइ छ ।

प्राचीनकालमा भगवान् विष्णुले विभिन्न रूप धारण गरी शेषनारायण मन्दिरमा टेकेको विश्वास छ । हिन्दु धर्मावलम्बीले ब्रह्मा सृष्टिकर्ता, विष्णु पालनपोषणकर्ता र महेश्वरलाई संहारकर्ता मानिन्छ । उनीहरूले विष्णुको अर्को रूपलाई नारायण भनेर आस्था प्रकट गर्छन् । तसर्थ, शेषनारायाण मन्दिरमा नारायणको मूर्ति प्रतिस्थापन गरिएको छ ।

काठमाडौंको रत्नपार्कबाट १५ किलोमिटर दूरीमा शेषनारायण मन्दिर रहेको छ । बौद्ध धर्मावलम्बीले समेत विशेष महत्वसाथ शेषनारायण मन्दिरको दर्शन गर्छन् ।

प्रतिक्रिया दिनुहोस्