५० वर्षअघि ‘आदिवासी’ शब्द लेख्ने थुलुङ



नेपालमा आदिवासी शब्द लेख्न थालिएको ५० वर्ष भएको छ । ५० वर्षपहिले आदिवासी लेख्ने व्यक्ति को होलान् ? धेरैलाई जिज्ञासा लाग्नु स्वाभाविकै हो । तपाईंले ठम्याइसक्नुभयो होला– आदिवासी लेख्ने पहिलो व्यक्ति जनजाति कुल र मूलमै जन्मेको हुनुपर्छ । त्यस्तो सोच्नुभएको हो भने तपाईं बिल्कुल सही हुनुहुन्छ ।

आजभन्दा ५० वर्षअघि अर्थात् संवत् २०१८ सालमा ‘आदिवासी’ शब्द लेख्ने पहिलो व्यक्ति हुन्– नारदमुनि थुलुङ । थुलुङले ०१८ मा ‘आदिवासी’ शब्द लेखेका थिए । दक्षिण एसियाकै पुरानोमध्ये एक गोरखापत्र दैनिकमा उनले ‘नेपाल र आदिवासी किरात’ शीर्षाकृत आलेख लेखेका थिए । सो आलेख ०१८ साउन २ गते सोमबार गोरखापत्रमा प्रकाशित छ ।

प्रकाशित आलेखमा किरात को थिए ? भन्ने विषयलाई लेखकले तथ्यगत आधार पेस गर्न प्रयत्न गरेका छन् । किरातको सभ्यता मोहेन्जोदाडो र हडप्पा सभ्यतासँग जोड्दै कैलाश पर्वत पुगी नेपाल (काठमाडौं उपत्यका)मा उनी आइपुग्छन् । मोहेन्जोदाडो शब्दमा प्रयुक्त अक्षरलाई विभाजन गरी त्यसलाई किरातमा प्रचलित भाषामा अनूदित गरी उनले अथ्र्याएका छन् । उनकै दाबीअनुसार ‘मा’ अर्थात् आमा ‘हाङ’ राजा अर्थात् हाङको महारानी र ‘जो’ वा ‘जोड’को अर्थ तहसिल (अड्डा अदालत र ‘दरो’ वा ‘दाडो’को अर्थ महल हुन्छ ।

उल्लिखित तर्क सिन्धुघाँटीको सभ्यतालाई थुलुङले किरातसँग जोडेका छन् । त्यहाँ आक्रमण भएपछि वा किरातलाई दास बनाउन खोजिएपछि उनीहरू पर्वतमालातिर लागेर कैलात, कैरात वा किरात कहलाए । सिन्धलाई पछि हिन्द भनियो भन्ने तर्क गर्दै उनले कैलातवासी कैलाती अर्थात् किराती र कैलातबाट कैलाश हुन गयो भन्ने विश्लेषण गरेका छन् । यसैगरी, काठमाडौं दखल गरेपछि यहाँ आवाद भई उनीहरूले ग्राम नगर बसाए । यसलाई ‘ने वा ल’ भनियो । यसबाट नेपाल पर्न गयो भन्ने उनको धारणा छ ।

राणा शासन ढाल्न हतियार उठाउन आँट गर्ने उनले यहाँका किरातीलाई आदिवासीका रूपमा औंल्याउँदै लेखेको आलेखका आधारमा उनलाई पंक्तिकारले ‘आदिवासी’ शब्द सार्वजनिक वा प्राज्ञिक रूपमा प्रयोग गर्ने पहिलो लेखक वा व्यक्ति मानेका छन् ।

आफूले जानेको प्रविधि प्रयोग गर्दै नेपालमा रेडियो प्रसारण सम्भव तुल्याउने नारदमुनि थुलुङमा सैन्य र प्राविधिक ज्ञान प्रचुर थियो । त्यतिमात्रै होइन, उनमा जातीय, सांस्कृतिक र इतिहाससम्बन्धी प्राज्ञिक ज्ञान त्यत्तिकै थियो ।

प्रतिक्रिया दिनुहोस्