निर्वाचनको मुखैमा गाउँपालिका उपाध्यक्ष एमालेबाट निष्कासित


बैतडी । शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्दलाई एमालेले कारबाही गरेको छ । उसले चन्दलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरेको हो ।

संवत् २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचित चन्दले पार्टीको हितविपरीत काम गरेको भन्दै साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरिएको हो ।

मंगलबार जारी गरिएको प्रेस विज्ञप्तिमा राष्ट्रियसभा निर्वाचनमा अन्तर्घात गरेको भन्दै कारबाही गरेको उल्लेख छ । माघ १२ गते भएको राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका पाँच प्रमुख र उपप्रमुखले अन्तर्घात गरेको निष्कर्ष निकाल्दै एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले जिल्लालाई छानबिन गरी कारबाही गर्न निर्देशन दिएको थियो ।

“पार्टीको निर्देशनबमोजिम पदीय आचरण र भूमिका निर्वाह नगर्ने र बेवास्ता गर्दै हिँड्ने, सामाजिक सञ्जालमा पार्टीको नीति, नेतृत्वविरुद्ध जाने र विरोधी पार्टीसँग साँठगाँठ गरी पदीय आचरणको दुरुपयोग गरेको भेटिएको छ,” जिल्ला अध्यक्ष सुरेन्द्र पाल र सचिव चक्र कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “हाल पनि विरोधी पार्टीसँग हिमचिम गरेकाले पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरिएको छ ।”

यस्तै, पार्टीलाई बुझाउनुपर्ने लेभीसमेत नबुझाएको, पार्टीको हितविपरीत काम गरेको र स्पष्टीकरण सोध्दासमेत नदिएकाले चन्दमाथि कारबाही गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्