नेकपा (एस)को केन्द्रीय कमिटी बैठक असोजमा


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत–समाजवादी) केन्द्रीय कमिटी बैठक आगामी असोज ५ गते काठमाडौंमा बस्ने भएको छ ।

पार्टीलाई प्रभावशाली ढंगबाट देशभर सञ्चालन गर्न संगठन विस्तार, समसामयिक राजनीतिक अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा राजनीतिक गतिविधि सञ्चालन गर्न आवश्यक रणनीति तयार पार्न बैठक बस्न लागेको हो । बैठक भदौ २९ मा बस्ने तयारी गरिए पनि गृहकार्य अपुग भएकाले केही दिनपछि सारिएको पार्टीले जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट वैचारिक असहमति प्रकट गर्दै वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहितका केही नेता अलग भएर हालै गठन भएको उक्त पार्टीको केन्द्रीय कमिटी बैठक पहिलोपटक बस्न लागेको छ ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा हालै स्थायी कमिटीका साथै सचिवालय, प्रदेश इन्चार्ज तथा केही विभाग गठन गरिएको छ । पार्टीका केही प्रदेश, जिल्ला तथा स्थानीय तहमा भेला, बैठक बसेर राजनीतिक कार्यक्रम सञ्चालन भइरहेका छन् ।

युवा तथा विद्यार्थी संगठन स्थापना भइसकेका छन् भने प्रेस संगठन चाँडै घोषणाक्रममा छ । मजदुर संगठनलगायत अन्य भ्रातृ संस्था निर्माणका लागि तयारी भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्