कपास खेतीले धानेको खाँडी व्यवसाय



याम्खा (खोटाङ) । खाँडीको कपडा बुन्ने र लगाउने चलन हराउँदै गएको छ । यसलाई दृष्टिगत गर्दै याम्खाका महिला खाँडी व्यवसाय व्युँताउन कस्सिएका छन् । बाबुबाजेको पालादेखिको व्यवसाय हराउँदै गएपछि गाउँका महिला एकजुट भई संरक्षणमा जुटेका स्थानीय सत्यवती राईले बताइन् ।

पहिले–पहिले याम्खाका प्रत्येक घरका महिलाले खाँडीको कपडा बुन्थे । केही समयपहिले गाउँभरि खाँडीका कपडा बुन्न जान्ने महिला चार/पाँचजनामात्रै थिए । हिजोआज बढ्दै छन् । आमा समूहले अभियान थालेपछि हिजोआज स्थानीय महिलाले चर्खा, उइँटा, रासी र जुवा चलाएर खाँडीका कपडा बुन्न जान्ने साबिक याम्खा–९ की शकुन्तला राईले बताइन् ।

याम्खाका पुरुषले लगाएका खाँडीका दौरासुरुवाल अजम्बरी आमा समूहले तयार पारेका हुन् । दुईदेखि तीन दिनमा तयार पारिने १८ हाते खाँडीका कपडाको मूल्य दुईदेखि तीन हजार रुपैयाँसम्म पर्छ । गाउँमै उत्पादित र सुनसरीको धरानबाट ल्याइएका कपासबाट तयार खाँडीका कपडा जिल्लाको दिक्तेल, रतन्छा, लफ्याङबाहेक जिल्लाबाहिरका प्रमुख सहरमा खपत हुने बताइन्छ ।

खाँडी व्यवसाय गर्न चाहने गाउँका महिलालाई आमा समूहले ऋण उपलब्ध गराउँदै आएको छ । याम्खाली महिलाको उत्साहलाई ‘क्यास’ गर्न सके खाँडीजन्य पेसालाई व्यवसायमूलक बनाउन सकिने खोटाङ उद्योग वाणिज्य संघ अध्यक्ष उपिन राईको भनाइ छ । ‘हराउनै लागेको बेला स्थानीय आमा समूहले खाँडी व्यवसायमार्फत स्थानीय महिलालाई आत्मनिर्भर बनाएको छ,’ अध्यक्ष राईले थपे, ‘पुख्र्यौली पेसासमेत जोगाएको छ ।’

प्रतिक्रिया दिनुहोस्