कल्पवृक्ष भनेर चिउरी अत्यन्त गुणकारी र लाभदायक वनस्पति हो । यसको पात, फल, फूल, रुखलगायत सबै उपयोगी हुन्छन् । यसको प्रयोग स्थानविशेषका रीतिरिवाज र आवश्यकताअनुसार विभिन्न समुदायले फरक–फरक ढंगले प्रयोग गर्छन् ।
चिउरीको पात डालेघाँसका रूपमा समेत प्रयोग गरिन्छ । यसको पातबाट दुना, टपरी बनाउन सकिन्छ । धेरै ठाउँमा गाईबस्तुका लागि पत्कर सोहोरेर गोठमा हाल्ने अनि यसलाई कम्पोस्ट मलका रूपमा सदुपयोग गरिन्छ ।
यसको फूल माहुरी, चराचुरुंगी र पुतलीका लागि रोजाइमा पर्छन् । फूलमा भएको रस अत्यन्त गुलियो हुँदा मौरीलाई मात्र होइन, यसको फूलबाट रस झारेर मानिसले सिधै पिउने अनि रोटीमा पनि प्रयोग गर्छन् । यसको रसमा चिनीको मात्रा ४० प्रतिशतभन्दा बढी हुन्छ । प्रकृतिमा रहेका अन्य बिरुवाका तुलनामा यसको फूलको रस अत्यन्त गुलियो हुने र लामो समयसम्म रहनाले मौरीपालक किसानले यसको फूल फुल्ने समयमा चार/पाँचपटकसम्म मह काढ्छन् ।
बोटबाट टिपेर सिधै चुसेर खान सकिने यसको फल अत्यन्त आकर्षक, पोषिलो र गुलियो हुन्छ । यसको फल निचोरेर जुसका रूपमा पिउन सकिन्छ । जुसमा पाइने दुधको मात्रा अधिकतम हुनाले आमा गुमाएका बच्चालाई खुवाउने चलन छ । कतिपय स्थानमा यसको रसबाट जाँड र फलबाट रक्सी बनाइन्छ । यसको छोक्रा गाईबस्तुलाई खुवाइन्छ ।
बहुपयोगी चिउरीको फलभित्र बियाँँ हुन्छ । बियाँबाट तेल बनाउन सकिन्छ । वनस्पतिबाट उत्पादित तेल शुद्ध हुने हुनाले मन्दिर तथा गुम्बामा बत्ती बालिन्छ । कतिपयले भुटुनका रूपमा मात्रै होइन, सेलरोटी पकाउन प्रयोग गर्छन् । भनिन्छ, ‘बियाँबाट कुल तौलको ४० प्रतिशतसम्म तेल निस्कन्छ । हातखुट्टा नरम बनाउन, अनुहारका दाग हटाउन क्रिमका रूपमा प्रयोग गरिन्छ ।’
धानबालीमा कम्पोस्ट मल र कीटनाशकका रूपमा यसको पिना प्रयोग गरिन्छ । जमिनको कीरा, कमिला मार्न, पुतली, गभारोबाट जोगाउन अत्यन्त उपयुक्त यसमा ५ प्रतिशत नाइट्रोजन पाइन्छ । चेपाङ समुदायले पिनासँग धान तथा चामल साट्ने परम्परा नयाँ होइन ।
गाईबस्तुलाई पेटमा कीरा लागेको र पानीजुकाले खाएको बेला यसको बोक्रा खुवाउने गरिन्छ । यसको पात तथा हाँगाबाट आउने चोपलाई लिसो बनाउन प्रयोग गरिन्छ । जसले कीरा, मुसा मार्न र अन्य काम गर्न सहयोग गर्छ ।
चिउरीको काठ बलिया र तथा दाउरा राम्रो मानिन्छ । हरियो चिउरी काटेर प्रयोग गरिँदैन । आफैं मरेका, हावाहुरी र चट्याङले ढालेका रुखबाट काठ तथा दाउराका लागि प्रयोग गरिन्छन् ।
जरासमेत प्रयोगमा ल्याउन सकिने चिउरीका बिरुवा क्षतिग्रस्त भूमि पुनःस्थापनाका लागि त्यत्तिकै महत्वपूर्ण मानिन्छ । कमजोर क्षमताका भूमिमा पनि सहजै बाँच्ने यसले भूक्षय र माटो बग्नबाट रोक्ने सघाउ पुर्याउँछ ।