कागुनी १० हजार वर्ष पुरानो बाली


तस्बिर सौजन्य : सजल स्थापित

संवत् २०५५/०५६ सालतिर साबिक डिकुवा गाउँ विकास समिति (हाल : हलेसी तुवाचुङ नगरपालिका–२) मा सचिव थिएँ । एक दिन कामविशेषले गाविस अध्यक्ष लालकेशर राईसँगै गाउँ घुम्न निस्क्यौं । त्यतातिर विशेषतः पाहुनालाई कागुनीको खाना खुवाउने चलन रहेछ । मैले पहिलोपटक कागुनीको खाना खाँदै थिएँ । खाना त नरम र मीठो हुँदोरहेछ । तर, खाना खानेक्रममा मलाई माकुराको अन्डाको याद आइरह्यो । जसले गर्दा मैले बडो जबरजस्ती केही खाएँ । पूरै खान सकिनँ ।

हिजोआज पनि वाम्बुले राई (जसले आफूलाई पहिला–पहिला राबुङ भन्थे) ले ढ्वाङ्कुम गर्दा कागुनीको भात पकाएर पितृलाई चढाउँछन् ।
हाम्रै गाउँ हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम (बोहेम्मा) मा पनि चौधरिम्मा हजुरआमा (बजु) थिइन् । उनले आफ्ना बारीमा जहिल्यै दुई÷तीन थरिका कागुनी लगाउँथिन् । तर, उनको निधनसँगै कागुनीको बीउ पनि मासियो । अहिले पो कागुनीको महत्व थाहा पाउँदै छु । तर ‘हगिसक्यो दैलो देख्यो’ भनेजस्तो ।

सालिन्दा पितृलाई नयाँ अन्न चढाउने छौवा गर्दा केही अन्न अनिवार्य चाहिन्छ । ती अन्नमा कागुनी, कोदो, घैयालगायत पर्छन् ।

मुन्दुमअनुसार अन्नहरूको राजा हो– धिरिचा । जसलाई सायुङ्मा पनि भनिन्छ । त्यसलाई सामा पनि भनिन्छ । यो एकप्रकारको कागुनी हो । त्यस्तै साप्पाफेंरो भन्ने अर्कोथरि कागुनी हुन्छ । जुन छौवामा अनिवार्य चाहिन्छ । यो कागुनी अन्न किरातीको प्राग्ऐतिहासिक अध्ययनका लागि ज्यादै महत्वपूर्ण छ ।

कसरी भने कागुनी अन्नको खेती विश्वमै सबैभन्दा पहिला चीनको ह्वाङहो (यल्लो रिभर) र याङ्जे नदी उपत्यकामा आजभन्दा ९,००० देखि १०,००० वर्षपहिले सुरु भएको मानिन्छ । जुन अन्न किरात राई समुदायका लागि संस्कार–संस्कृतिमा अनिवार्य छ ।

अर्को कुरा, चिनियाँ भाषामा कागुनीलाई ‘फ्रें’ भनिँदोरहेछ । चाम्लिङ राई भाषामा बोलचालमा ‘फेंरो’ भनिन्छ । यसरी संस्कारले मात्र होइन, भाषाले पनि कागुनीसँग किरात राई समुदायको हजारौं वर्ष पुरानो सम्बन्ध रहेछ भन्ने थाहा हुन्छ । हामीले कागुनीलाई बिर्सियौं भने नौ÷दस हजार वर्ष पुरानो प्राग्ऐतिहासिक समय पनि भुल्ने रहेछौं ।

लिखित तथ्यहरूमा आधारित हुने इतिहासभन्दा अझ अगाडिको अलिखित युगको कुरा थाहा पाउने भनेको संस्कृति, भाषा, मुन्दुमजस्ता मौखिक ज्ञान र पुरातात्विक उत्खननबाट प्राप्त हुने वस्तु नै हुन् । त्यस हिसाबले किरात राईहरू पुरातात्विक वस्तुबाहेकमा ज्यादै समृद्ध जाति हुन् । अहिले पनि सांस्कृतिक अभ्यासका अवशेषका रूपमा यस्ता भव्य तथ्य–प्रमाण समाजमा विद्यमान छन् । जुन कुनै पनि हालतमा जोगाउन सकियो भने उनीहरूको प्राग्इतिहासका धेरै तथ्य खुलस्त हुने पक्का छ । त्यसैले यी सिंगै नेपाली समाजका पनि बौद्धिक सम्पदा हुन् ।

प्रतिक्रिया दिनुहोस्