माझकिरातका ‘कार्ल मार्क्स’


‘कार्ल मार्क्सजस्तै देखिन्छौ भन्दा पटक्कै चित्त बुझ्दैन,’ कोटेश्वर, काठमाडौंमा भेटिएका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कोसी प्रदेश कमिटी सदस्य विनोद आचार्यले सुनाए, ‘मेरो दारी मजस्तै छ । र, हुनुपर्छ ।’

नेकपा (माओवादी केन्द्र) कोसी प्रदेश कमिटी सदस्य आचार्यलाई देख्ने/भेट्ने कतिपयले कवि शिरोमणि लेखनाथ पौडेलको जस्तो दारी भन्छन् । उनलाई त्यसो भनेको सुन्न नपरोस् जस्तो लाग्छ । तर, सुन्न परिहाल्छ ।

‘वर्ष दिनअघि काठमाडौंको गौशालाबाट सार्वजनिक यातायातमा यात्रा गर्दा एक महिलाले अटो लिनु थियो भनिन्,’ महिलाले अटो लिनुका कारणबारे उनले प्रस्ट्याए, ‘ती महिलाले मलाई चेतन सापकोटा ठानेर त्यसो भनेकी रहिछन् ।’

जर्मनी र रसियनले फ्रेन्च कट दारी पाल्छन् । नेता आचार्यले पनि फ्रेन्च कट दारी पाल्ने भएकाले पत्रकारसमेत रहेका दार्शनिक कार्ल मार्क्सजस्तो देखिनु अस्वाभाविक होइन । जस्तो देखियो भनेर भन्नेले भन्न छाडेका छैनन् । उनले पनि सुन्न नपरे हुन्थ्यो भनेर चाहना व्यक्त गर्न छाडेका होइनन् ।

फ्रेन्च कट दारी पाल्न रुचाउने उनले कहिलेकाहीं दारी छोटो पनि बनाउँछन् । छालालाई सुरक्षा दिने दारीले मानिसलाई परिपक्वसमेत देखाउँछ भन्नेको कमी छैन । ‘गालामा दारी र काँधमा जिम्मेवारी’ भन्ने प्रचलित नेपाली उखानले उल्लिखित भनाइ पुष्टि गर्छ ।

‘परिपक्व देखिन दारी पालेको होइन,’ उनले थपे, ‘छालालाई सुरक्षा देओस् भन्ने लोभ पनि छैन । केवल सोखका लागि पालेको हुँ ।’ उनले सातामा एकपटक दारी मिलाउँछन् । महिनामा चारपटक मिलाउँदा दुई हजार रुपैयाँ खर्च हुन्छ । दारी मिलाउन हजामकहाँ पुग्नैपर्छ ।

दिनभरि जे–जे गरे पनि बेलुका दारी पखाल्नुपर्छ । ‘कपाल दुई दिनमा पखाल्दा हुन्छ,’ उनले भने, ‘तर दारीलाई त्यसो गर्न मिल्दैन । दैनिक दुईपटक पखाल्नैपर्छ । नत्र मुलायम देखिँदैन ।’ दारी पखाल्ने स्याम्पु छुट्टै हुन्छ । दारी पखाल्ने सस्तो स्पाम्पु ५० रुपैयाँमा पाइन्छ । एउटाले चारपटक दारी पखाल्न सकिन्छ ।

‘दारी काट्दा ८० देखि १०० मा हुन्छ,’ उनको भनाइ छ, ‘मिलाउन गाह्रो । दारी मिलाउन कम्तीमा एक घन्टा लाग्छ । एकपटक मिलाउँदा ३०० लाग्छ । हजामले हत्तपत्त दारी मिलाउन मान्दैनन् ।’ दारी जति लामो हुन्छ, खर्च बढ्छ । तर पनि व्यर्थमा खर्च गरें भन्ने लाग्दैन ।

१७/१८ वर्षको हुँदा पातलो दारी आएको बताउने उनले जनयुद्धताका हुलिया परिवर्तन गरिरहन कहिले दारी पाल्थे त कहिले काट्थे । लकडाउनअघि उनको कपाल र दारी छोटै हुन्थ्यो । लकडाउनपछि कपाल र दारी काटेनन् ।

कार्ल मार्क्स

कपाल र दारी लामो देखेपछि कतिपयले काट्न सुझाए । एक जँड्याहाले उनलाई हाकाहाकी भने, ‘हिजो हँसियाले कपाल रेट्दै हिँड्नेले आज पालिरहेको छ । यसको पनि कपाल उखलम् ।’ जँड्याहाले त्यसो भन्दा उनलाई अनौठो लागेन । परिस्थिति परिवर्तन भइसकेको छ । जँड्याहालाई त्यसरी बोल्न माओवादीले ल्याएको परिवर्तनले सिकाएको त हो नि ।

कपाल र दारी काटे भने उनलाई थोरैले मात्रै चिन्छन् । आफूलाई धेरैले चिनून् भनेर कपाल र दारी पालेको पनि होइन ।

राजनीतिमा लागेका ‘होलटाइमर’ले दारी मिलाउने पैसा कहाँबाट ल्याउलान् भनेर धेरैलाई जिज्ञासा लाग्ला । युवा नेता विनोद आचार्यलाई खान, बस्नलाई समस्या छैन । नेता आचार्य राजनीतिक कामबाट फुर्सद पाउँदा श्रम गर्छन् । लकडाउनमा आफैंले बुनेको डोको, डालो, ढाकी, मान्द्रो र थुन्से बेचेर ६० हजार रुपैयाँ कमाए । यी र यस्तै काम गरेर आम्दानी गरेको रुपैयाँ सञ्चित गरेर दारी मिलाउन खर्चिन्छन् ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ बेसेखा खोटाङनिवासी युवा नेता विनोद आचार्यको दारी कार्ल मार्क्सको जस्तो आकर्षकमात्रै देखिँदैन, घरको परिवेश त्यत्तिकै लोभलाग्दो देखिन्छ । नेता आचार्यको घरमा सुँगुर पालेको, रक्सी पकाको देख्ने त झन् आश्चर्यमा पर्छन् । उनका बुवा चन्द्रप्रसाद आचार्यले सरकारी जागिरबाट अवकाश पाएपछि १४ हजार लठ्ठी बनाएर निःशुल्क बाँडेको सुन्दा अचम्मित नहुने को होलान् ?

प्रतिक्रिया दिनुहोस्