जाँड–रक्सी खाने र बेच्नेलाई ढुंगा बोकाइने



डोटी । केआईसिंह गाउँपालिका–७ सलेनाले मदिरा खाने र बेच्नेलाई ढुंगा बोकाउने निर्णय गरेको छ । सलेनाले मदिरा खानेलाई १५ दिन र बेच्नेलाई वडा कार्यालयसम्म महिना दिन ढुंगा बोकाउने निर्णय गरेको वडाध्यक्ष दिलबहादुर बलायरले जानकारी दिए ।

वडामा मदिरा बेच्दै आएका व्यापारी तथा वडावासीसँगको छलफलपश्चात् सो निर्णय गरिएको हो । वडामा सञ्चालित गाडीमा मदिरा ओसारपसार गर्नेलाई समेत महिना दिन गाडी ‘होल्ड’ राख्नुपर्ने निर्णयसमेत गरेको वडा कार्यालयले जनाएको छ ।

जिल्लाकै आदर्श गाउँपालिकाले साउन १ गतेदेखि मदिरा खान र बेच्न पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष गणेश खड्काले मदिरा ओसारपसार गर्नेलाई ४० हजार जरिवाना तथा बेच्नेलाई ३० हजार जरिवाना गर्ने निर्णय गरेको जानकारी दिए ।

मदिरा खानेलाई पहिलोपटक २ हजार ५०० र दोस्रोपटक खानेलाई ५ हजार जरिवाना तोक्ने निर्णय गरिएको छ ।

सायल गाउँपालिकाले पनि पालिकाभरि मदिरा खान र बेच्न पूर्ण रूपमा रोक लगाएको गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले बताए ।

जिल्लामा नौवटा स्थानीय तह रहे पनि अन्य पालिकामा भने मदिरा खान, बेच्न र ओसारपसारमा कुन किसिमको कारबाही गर्ने भनेर छलफल भइरहेको जनाएको छ । कतिपय स्थानीय तहमा लाइसेन्स लिएर मदिरा बेचिएकाले तिनीहरूलाई के गर्ने र कस्तो निर्णय गर्ने भन्ने विषयमा छलफल भइरहेको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी खड्काले सुनाए ।

प्रतिक्रिया दिनुहोस्