नेपालमा ‘जातीय विश्वविद्यालय’ छैनन् भन्दा चिनियाँ प्राध्यापक तीनछक



चीनमा नेपाली भाषा पढाउन जाने कुरा सुनाउँदा कतिपय मानिस अचम्म मान्थे । हुन पनि चीनजस्तो शक्तिसम्पन्न देशका विद्यार्थीलाई नेपाली भाषा किन पढिरहनुपर्ने होला भन्ने लाग्नु स्वाभाविकै हो । आजको दुनियाँमा अंग्रेजी भाषाले संसार पिटेको छ । नेपालमा पढेलेखेको मानिसले अंग्रेजी पढ्न, लेख्न जानेन भने उसलाई खिसीट्युरी गरिन्छ र शिक्षित हुनुको पर्यायका रूपमा अंग्रेजी भाषा जान्नुलाई लिने गरिएको छ । तर, अंग्रेजी भाषाको सन्दर्भलाई छाडेर हेर्ने हो भने नेपालमा भाषा, साहित्यको पढाइलाई अध्ययनको विषय नै नठान्ने र अझ तल्लोस्तरको ठान्ने मानसिकता व्याप्त छ । उही एउटै विश्वविद्यालयबाट उही समय, प्रक्रियाबाट पढिने अंग्रेजी भाषा र अन्य विषयको डिग्री उच्चस्तरको ठानिने अनि नेपाली, मैथिली, नेवारी आदि भाषाको डिग्रीलाई तल्लोस्तरको ठान्ने मनोविज्ञान जोसुकै पढालेखाहरूसँग छ । अरू विषय पढ्न नसक्नेले नेपाली वा अन्य भाषाका विषय पढेका हुन् भन्ने प्रकारको मनोविज्ञान देखिन्छ । अंग्रेजी भाषालाई छाडेर हेर्दा भाषा, साहित्यको एमए के एमए ? भाषा, साहित्यको पीएचडी के पीएचडी ? भाषा, साहित्यको प्राध्यापक पनि के प्राध्यापक ? भन्ने आमसोचाइ छ । विडम्बना, यस्तो सोचाइ तत्तत् मातृभाषी वक्ताहरूमा झन् बढ्ता छ ।

नेपाली विषयमा एमए, नेपाली विषयमा पीएचडी र नेपाली विषयको प्राध्यापक भनेर आफूलाई परिचय गराउँदा कतिपय उपबुज्रुकहरूको गर्ने उपेक्षा र खिसीट्युरी सहन अभ्यस्त भइसकेको मैले नेपाली विषय पढाउन चीन जाँदै छु भन्दा ‘नेपाली जाबो पढेर तिनले के गर्छन्, खासाको व्यापार ?’ भनेर खिसीट्युरी गर्ने केही उपबुज्रुक प्राध्यापक मित्रहरूको खिसीट्युरीलाई हाँसीहाँसी पचाएर यतिबेला म चीनमा आई नेपाली भाषा पढाइरहेको छु । नेपालका नेपाली मातृभाषी उपबुज्रुकहरूले त उपेक्षा र खिसीट्युरी गर्ने विषय, त्यसमाथि एउटा गरिब देश नेपालको भाषा नेपालीको प्राध्यापकलाई चीनको विश्वविद्यालयमा के इज्जत देलान् र भन्ने पूर्वानुमान बोकेर आएको म, पूर्वानुमानविपरीत सम्मानित अनुभूति गरिरहेको छु र यहाँ म निर्धक्कसँग नेपाली भाषा, साहित्यको विद्यावारिधि हुँ, नेपालको सबैभन्दा ठूलो र पुरानो विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालयमा नेपाली भाषा, साहित्य पढाउने सहप्राध्याक हुँ भन्न सक्छु र त्यसो भन्दा यहाँका प्राध्यापक र विद्यार्थी इज्जत गर्छन् । यसबाट स्पष्ट हुन्छ– कुनै पनि देशको विकासमा त्यहाँको शिक्षा प्रणालीको कति महत्त्व हुन्छ भन्ने कुरा ।

भाषा, साहित्यलाई विषय नै नठान्नेले एकपटक चीनका विश्वविद्यालयमा आइदिए हुने भन्ने लागेको छ । नेपालमा भाषाका विषयमात्र होइन, इतिहास, संस्कृति, भूगोल र अझ भन्नुपर्दा सिंगो मानविकी तथा सामाजिकशास्त्रका विषयलाई उपेक्षित छन् । यहाँ चीनमा विज्ञान प्रविधिलाई जोड दिने दिइन्छ तर भाषा, इतिहास, संस्कृति, दर्शनजस्ता विषयलाई पनि त्यत्तिकै महत्त्व दिइँदोरहेछ । त्यतिमात्र होइन, भारतीय योगको विषयलाई बडो महत्त्व दिएर पढाइँदोरहेछ । चीनले आफूलाई चाहिने कुरा जस्तै : विज्ञान, प्रविधि, चिकित्सा, इन्जिनियरिङ सबै–सबै ज्ञान विज्ञानका कुरालाई चिनियाँ भाषामा उपलब्ध गराएको छ । उसका नागरिकले अंग्रेजी भाषा नजाने पनि जुनसुकै विषय पढ्न सक्छन् । अंग्रेजी र गुगलको उपयोग नगरीकनै ज्ञानविज्ञानका सबै कुरा चिनियाँ भाषा र चीनको आफ्नै इन्टरनेट प्रविधिमा उपलब्ध छन् । यति हुँदाहुँदै पनि चीनले अंग्रेजीको अध्ययनलाई पनि उत्तिकै जोड दिएको छ । साथसाथै हिन्दी, नेपाली, उर्दूृ, बर्मेली, थाई, मलाया, तमिल, प्रविधि सबै–सबै ।

हुन त नेपालका विश्वविद्यालयहरूले अनेक विषय पढाइरहेका छन् । प्राविधिक विषयको अध्ययनलाई निकै जोड दिइरहेका छन् । तर, नेपालको आवश्यकता के हो ? देशको मौलिकता र पहिचान के हो ? अनि तिनको प्रवद्र्धन र विकासका के गर्ने भन्नेबारेमा हाम्रो सरकार बेखबर छ र आफ्नो मौलिकता, पहिचान र आवश्यकतासँग शिक्षालाई जोड्ने कुरामा सरकार पूरापूर बेखबर देखिन्छ । हाम्रा विश्वविद्यालय र क्याम्पसहरूले अस्ट्रेलिया, जापान, युरोप आदि विदेशका लागि जनशक्ति उत्पादन गरिरहेका छन् । तर, चिनियाँ विश्वविद्यालयहरूले आफ्नो आवश्यकताका लागि जनशक्ति उत्पादन गर्छन् । पढाउने नाममा विषयको थुप्रो लगाउने काममात्रै विश्वविद्यालयको होइन । आफूले उत्पादन गरेका जनशक्तिले देशका लागि के गर्छन् भन्नेबारेमा हाम्रा विश्वविद्यालयहरूसँग कुनै पूर्वयोजना छैन । तर, चिनियाँ विश्वविद्यालयमा भने यसमा स्पष्ट योजना देखिन्छ । यहाँका प्रान्तीय विश्वविद्यालयहरू आफ्नो प्रान्त तथा सिङ्गो देशको आवश्यकतासँग जोडिएर त्यहीअनुरूप जनशक्ति निर्माणको स्पष्ट उद्देश्यबाट सञ्चालित देखिन्छन् । राष्ट्रिय आवश्यकता अनि राष्ट्रिय हितलाई केन्द्रबिन्दु बनाएर यहाँका विश्वविद्यालयहरू सञ्चालित छन् । मैले पढाउने युनान मिन्चु विश्वविद्यालयले दक्षिण–पूर्व एसियामा ‘एक बेल्ट र एक सडक’, दक्षिण–पूर्व एसिया रेडिएसन केन्द्रको निर्माण अनि युनान स्वतन्त्र व्यापार क्षेत्रको निर्माणका लागि जनशक्ति उत्पादन गरिरहेको भनी आफ्ना प्रकाशनहरूमा सगर्व लेख्छ ।

चीनका विश्वविद्यालयहरूमा आफ्ना स्वदेशीय भाषाको अध्ययन त गराउँछ नै साथसाथै विदेशी र अझ छिमेकी देशका भाषाको अध्ययनमा पनि उत्तिकै जोड दिएको देखिन्छ । मैले पढाउने युनान मिन्चु विश्वविद्यालयमा एकातिर विदेशी विद्यार्थीलाई चिनियाँ भाषा पढाइन्छ भने अर्कातिर चिनियाँ विद्यार्थीलाई विदेशी भाषा पनि पढाइन्छ । यहाँ स्नातक तहमा पढ्ने विद्यार्थीले ऐच्छिक विषयका कुनै एउटा विदेशी पढ्न सक्छन् । यस विश्वविद्यालयमा युनान प्रान्तमा रहेका आदिवासी जनजाति समूहका भाषा, संस्कृतिको अध्ययनमा जोड दिनका साथै ती जातिका विद्यार्थीलाई पढाइमा विशेष सुविधा दिई तिनीहरूलाई विभिन्न क्षेत्रका विशेषज्ञ बनाउने काममा जोड दिइएको देखिन्छ । यस विश्वविद्यालयले आफूलाई विशेषगरी दक्षिण–पश्चिम चीनमा, जातीय मुद्दाहरू र जातीय सम्बन्ध अध्ययन गर्ने महत्वपूर्ण केन्द्रका रूपमा दाबी गरेको छ ।

भाषा मानव सभ्यता विकासको एउटा महत्त्वपूर्ण आधार हो । ज्ञान विज्ञानका हरेक कुरालाई आफ्नो भाषामा राख्न सकेकाले अंग्रेजहरू किन संसारमा सबैभन्दा शक्तिशाली भए । चिनियाँ , जापानीहरूले पनि आफूलाई चाहिने सारा कुराहरू आफ्ना भाषामा भन्न, पढ्न र लेख्न सक्ने बनाएका छन् र संसारमा अगाडि छन् । चीनका राष्ट्रपति नेपालमा गएर निर्धक्क आफ्नो भाषामा बोल्छन् र आफ्नै देशका नागरिकलाई नेपाली भाषामा अनुवाद गर्न लगाएर भन्छन्, ‘भर्खरै तपार्इंको भाषामा नमस्ते भनें, त्यो त्यति राम्रो छैन होला ।’ चिनियाँहरूले जाबो नेपाली पढेर के गर्छन्, खासाको व्यापार भनेर नेपाली विषयको शिक्षक भनी मलाई खिसी गर्ने नेपाली मातृभाषी प्राध्यापक मित्रलाई भेटेर सोध्न बाँकी छ, ‘चिनियाँ राष्ट्रपतिको भाषणको नेपाली अनुवादमा रहेका शब्दको अर्थ तपाईंलाई थाहा छ ?’ अनि उनलाई यो पनि सोध्नु छ, ‘के चिनियाँ राष्ट्रपतिले अंग्रेजी नजानेर चिनियाँ भाषामा बोलेका हुन् र नेपालका नेताहरूले अंग्रेजी बुझ्दैनन् भनेर राष्ट्रपतिको भाषणलाई अंग्रेजीमा नभएर नेपालीमा अनुवाद गरेको हो ?’

सहप्राध्यापक धनप्रसाद सुवेदी

चीनमा करिब ५६ जातीय समूह छन्, तीमध्ये ५५ जाति अल्पसंख्यक छन् । जाति वा जातीयलाई चिनियाँ भाषामा मिन्चु भनिन्छ । चीनका विभिन्न प्रान्तमा मिन्चु वा जातीय विश्वविद्यालयह छन् । ती विश्वविद्यालयहरूमा भाषा, साहित्य तथा संस्कृतिको अध्ययनमा जोड दिइन्छ साथसाथै ज्ञानविज्ञानका अन्य विषयको पनि पढाइ हुन्छ । चीनको युनान प्रान्त बहुजातीय प्रान्त हो । यस प्रान्तमा २५ जातीय समूह छन् । युनान प्रान्त पूर्वी तथा दक्षिण एसियाको सिमानामा छ । त्यसैले युनानमा जातीय विश्वविद्यालय खोलिएको अनि यहाँको चीनका आफ्नै भाषा संस्कृतिका साथै १५ भन्दा बढी पूर्वी तथा दक्षिण एसियाली भाषाहरू पढाइन्छ । यसरी स्थानीय, राष्ट्रिय, क्षेत्रीय, अन्तर्राष्ट्रिय आवश्यकताअनुरूप विश्वविद्यालयहरू खोल्ने र तिनले त्यो आवश्यकता पूरा गर्ने तरिका चीनमा रहेछ । आफूलाई चिन्ने अनि अरूलाई चिन्ने यहाँको तरिका रहेछ । नेपालमा १२५ जाति, १२३ भाषा छन् भनेर राष्ट्रिय जनगणनाले भन्छ ।

नेपालमा विश्वविद्यालय तहमा नेपाली, नेवारी र मैथिली भाषा पढाइन्छ तर ती भाषा पढ्ने र पढाउनेले अपराधीले झैं मुन्टो लुकाएर हिँड्नुपर्ने अवस्था छ । एकजना चिनियाँ प्राध्यापकसँगको भेटमा उनले सगर्व भने, ‘चीनमा ५६ जाति छन् ।’ मैले अझ नाक ठूलो पारेर भनें, ‘नेपालमा १२५ जाति छन् ।’ मेरो कुरा सुनेर उनी आश्चर्य चकित हुँदै सोधे, ‘अनि त्यहाँ मिन्चु तासोय् (जातीय विश्वविद्यालय)हरू कति छन् ?’ अब मेरो फुलेको नाक सुकेर दाप्सो भयो र चिटचिट पसिना आयो । त्यै पनि मैले समालिएर भनें, ‘नेपालमा मिन्चु तासोय् त छैनन् तर भएका तासोय्हरूमा भाषा, संस्कृतिको पनि पढाइ हुन्छ ।’ मेरो कुरा सुनेर उनले भने, ‘त्यति धेरै जाति, भाषा र संस्कृति हुनु भनेको ठूलो देशका लागि ठूलो सम्पत्ति हो, गौरव हो । त्यसको अध्ययनका लागि मिन्चु तासोय्हरू खोल्नुपर्छ ।’ मैले सहमतिको मुन्टो हल्लाएँ । भाषा, साहित्यको विषय पनि विषय हो र ? भन्दै हामीलाई खिसीट्युरी गर्ने उपबुज्रुकहरूलाई ती प्राध्यापकसँग भेट्टाइदिन पाएको भए !

प्रतिक्रिया दिनुहोस्