काँग्रेसमा ‘युवा’ पुस्ताको बहस



नेपाली काँग्रेसभित्र नेतृत्व हस्तान्तरणको चर्चा निकै जोडतोडसाथ हुन थालेको छ । एकथरीले शेरबहादुर देउवाको विकल्पका रूपमा मात्रै यो प्रश्न उठाएका छन् भने अर्काथरीले पुस्तान्तरणको प्रश्न उठाउन थालेका छन् । तर, पुस्तान्तरणको माग गर्ने जमातमा कुन पुस्ताको कुरा गरेका छौं भन्ने नै अन्योल छ । नेपाली काँग्रेसका दुई सभापतिले पदसँगै आर्यघाट पुग्ने संस्कार बसालिदिएर पुरानो पुस्तालाई सजिलो बनाइदिएका छन् । आफूलाई ‘युवा’ पुस्ताका भनेर पार्टी नेतृत्वविरुद्ध वक्तव्यबाजी गर्नेहरू नै ५० देखि ६० वर्ष उमेरका छन् । पछिल्लो समय १२ भाइका नाममा आएका ‘युवा नेता’हरूको सूचीमा ६४ वर्ष पुगेका (रत्ना शेरचन, जन्म २०१३ साल) को नाम पनि देखिएको छ ।

तीमध्येका ६० वर्ष लागेका एक ‘युवा’ नेताले आफ्नो उमेरको पहिचान भएपछि उमेरले मात्र ‘युवा’ होइँदैन, सोच, विचार र सक्रियताले मानिसलाई ‘युवा’ बनाउँछ भनेर प्रतिक्रिया जनाए । उनलाई यो थाहा नभएको होइन, गिरिजाप्रसाद कोइराला राष्ट्रपतिको आकांक्षी नबन्दासम्म काँग्रेसका सबैभन्दा जुझारु नेता थिए । २०५० को उपनिर्वाचनमा पार्टी सभापति कृष्णप्रसाद भट्टराईविरुद्ध गिरिजाप्रसादको घोषित असहयोगपछि पार्टीले निर्णय नै गरेर उनीहरू दुईजनाका अतिरिक्त तत्कालीन पार्टी महामन्त्री महेन्द्रनारायण निधिले अब संसदीय निर्वाचन नलड्ने र पार्टीमा अभिभावकको भूमिका निर्वाह गर्ने भनेको थियो । त्यसबेला कोइरालाको उमेर ७१ वर्ष भइसकेको थियो । तत्कालीन पार्टी विवादलाई साम्य पार्न त्यसलाई स्वीकार गरेका गिरिजाप्रसादले ०५६ सम्म संसद् र ०६२ सम्म पार्टीको चुनाव लड्न छाडेनन् । भट्टराई ०५६ मा संसद्को उम्मेदवार बने । निर्णयको पालना गर्ने निधिमात्रै बने ।

अहिले पुस्तान्तरणको माग गर्ने नेताहरू आफैंलाई थाहा छैन । कुन समयावधिका आधारमा उनीहरू यो माग गर्दै छन् ? बेलाबखत वक्तव्यबाजीमा रमाउने आठ वा १२ भाइ (बहिनीसमेत) मा सामेल भएकाहरूको उमेर ०१३ देखि ०३३ सालसम्मको छ । १३ र ३३ को २० वर्ष अन्तरको पुस्ता पक्कै पनि एउटै होइन । त्यसो हो भने ००३ का शेरबहादुर देउवाबारे ०२३ का धनराज गुरुङले प्रश्न उठाउनुको कुनै अर्थ रहँदैन । अहिले काँग्रेस कार्यसमितिमा भएकामध्ये १२ नेताबाहेक अरू सबै ०१० पछि जन्मेका छन् । अर्थात् ४४ देखि ६६ वर्षबीचका केन्द्रीय सदस्य रहेको काँग्रेसमा कुनचाहिँ ‘युवा’ पुस्ता हो ? पार्टी केन्द्रीय समितिमा यति शक्तिशाली रूपमा उपस्थित ४४ वर्ष कटेका ‘युवा’मा आफ्ना १२ नेतालाई ‘ट्र्याक’मा हिँडाउने क्षमता र साहस रहेन । बैठकमा औचित्यका आधारमा नेतृत्वका क्रियाकलाप र निर्णयप्रति असहमति जनाउन सुरु गरेका हुन्थे भने नेतृत्वमात्रै एक्लै हिँड्नसक्ने पक्कै थिएन ।

०१७ अघि जन्मेकालाई पुरानो पुस्ता मान्ने हो भने पहिलोपटक पार्टी महामन्त्री बनेका डा. सशांक कोइराला र पूर्णबहादुर खड्कादेखि नेविसंघको नेतृत्वबाट आएका विमलेन्द्र निधि, बलबहादुर केसी, डा. प्रकाशशरण महत, डा. मीनेन्द्र रिजाल, प्रकाशमान सिंह, रमेश रिजाल, फरमुल्लाह मन्सुर तथा पारिवारिक हैसियतमा उठेका सुजाता कोइराला र सीतादेवी यादवले पनि राजनीतिक सन्न्यास लिनुपर्ने हुन्छ । १९९२ मा जन्मेका कुलबहादुर गुरुङमा अब राजनीतिक महत्वाकांक्षा पक्कै नहोला । अन्यथा ००१ का रामचन्द्र पौडेलदेखि ०१६ का हृदयराम थानी पुराना पुस्तामा गनिन्छन् । ००७ का डा. शेखर कोइरालाले पनि ती ‘युवा’हरूको नेतृत्व गर्ने प्रश्न आउँदैन । त्यसपछिको नेतृत्व भनेको ०१७ मा जन्मेका बालकृष्ण खाँड र पुष्पा भुसालमा आउने देखिन्छ ।

अहिले पुस्तान्तरणको जुन प्रश्न उठेको छ, ०३३ का सबैभन्दा कान्छा केन्द्रीय सदस्य गगन थापालाई सम्भावित सभापतिका रूपमा चर्चा गर्ने गरिन्छ । गगन थापालाई सभापति बनाएर काँग्रेसले काँचुली फेर्ने ‘युवा’ सपना हो भने ०१७ पछिको समूह बनाएर त्यसभन्दा अघिको पुस्तालाई चुनौती दिने साहस गर्नुपर्छ । अघिल्लो पुस्तालाई अभिभावकत्व लिन अहिलेसम्मको अवस्थामा यी आफूलाई ‘युवा’ ठान्ने र नेतृत्वलाई निकम्मा देख्ने पुस्ता शेरबहादुर, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा. शेखर वा डा. सशांक कोइराला वा प्रकाशमान सिंहका पछाडि उभिएर आफ्नो भविष्य खोज्दै छन् । यो तरिकाले काँग्रेसको नेतृत्वमा पुस्तान्तरण हुँदैन । हुन सक्दैन । यो सत्य हो, आज ६० वर्षमा हिँड्दै गरेका चन्द्रकान्त भण्डारीले अहिले पनि काँग्रेसमा नेतृत्वका लागि दाबी नगर्ने हो भने अब कहिले गर्ने ? किनकि अर्का दुई महाधिवेशनपछि उनी पनि ७० को दशकमा पुग्ने निश्चित छ । त्यसबेला गिरिजाप्रसादका झैं आफूलाई ‘युवा’ दाबी गर्नुबाहेक उहाँसँग कुनै नैतिक आधार बाँकी रहने छैन ।

काँग्रेसको पुरानो रोग भनेको गुट खडा गर्ने र अर्कालाई कमजोर बनाउने हो । आज नेतृत्वलाई कमजोर देख्ने कुनै ‘युवा’ले शेरबहादुर देउवा वा रामचन्द्र पौडेल वा कृष्ण सिटौलालाई उनीहरूले लिएका राम्रा अडानमा साथ र गलत अडानमा असहयोग गरेका होइनन् । उनीहरू केवल एउटा नेताका पछाडि कुदेर आफूलाई हिरो बनाउने प्रयत्नमा मात्रै लागे । त्यसैले आज कुनै ‘युवा’ समूह बन्दै गर्दा नेतृत्व लिन सक्ने देखिएका सबै सम्भावित ‘युवा’ समेटिने सम्भावना देखिँदैन । यो भनेको समान पुस्ताबीचको प्रतिस्पर्धामा गुट खडा गर्ने प्रयत्न नै हुने हो । अन्यथा यी ‘युवा’ले आफूलाई कुनै अमूक नेताको पछाडि नउभ्याई सामूहिक आधारमा पार्टी नेतृत्व बनाउने समझदारी बनाउन सक्नुपर्छ । आफ्ना बुतामा केन्द्रीय सदस्यसमेत जित्न नसकेको तीतो अनुभवका आधारमा के उनीहरू कुनै गुट छाड्न तयार होलान् ? यो उनीहरूका लागि चुनौती हो । चुनौतीलाई अवसरमा बदल्न नसक्नेले काँग्रेसजस्तो पार्टी हाँक्ने सम्भावना छैन ।

काँग्रेसमा जतिबेलासम्म बीपी कोइराला रहे, उनले एकल नेतृत्व गरे । आफ्नो जीवनको उत्तराद्र्धमा तीन नेताको अवधारणा बनाएर बीपीले पार्टी नेतृत्व हस्तान्तरण गरेका थिए । यसले सामूहिक निर्णयका आधारमा पार्टी चलाउने परम्परा सुरु गर्यो तर जब गिरिजाप्रसाद पार्टी सभापति भए । उनले आफ्ना दुई अग्रज कृष्णप्रसाद र गणेशमान सिंहलाई किनारा लगाए । र, फेरि एकल नेतृत्व प्रारम्भ गरे । उनलाई शेरबहादुर देउवाले नै चुनौती दिन सुरु गरेका हुन् । सुशील कोइरालाले सामूहिकतामा जान नसक्दा निर्णय गर्न सकेनन् । आफ्ना कुराको सुनुवाइ नै नहुने अवस्था आएपछि देउवाले राजीनामा दिने धम्कीसमेत दिनुपर्यो । त्यो विवादबीच सुशील कोइराला अरूलाई स्वीकार्न नसक्ने र आफ्नालाई पनि राख्न नसक्ने अवस्थामा पुगे । शेरबहादुरले पनि सामूहिकतामा जाने नाममा आफ्नालाई पनि समय घर्केपछि मात्रै समेट्ने प्रयास गरे ।

काँग्रेसमा कोइरालावंशको समाप्तिपछि गुट र भेदभावको राजनीति अन्त्य हुने अनुमान थियो । तर, हुन सकेन । नेपाली काँग्रेस र नेपाली काँग्रेस प्रजातान्त्रिक एकीकरण हुँदै गर्दा ६०/४० को भागबन्डा स्वाभाविक थियो तर त्यसपछि पनि त्यही परम्परालाई निरन्तरता दिँदा सुशील र शेरबहादुरको कार्यकाल सोचेजसरी अगाडि बढ्न सकेन । कम्तीमा सुशीलपछि शेरबहादुरले ६०/४० को भागबन्डाको राजनीति अन्त्य गर्नुपथ्र्यो । उनले चुनावी नारामा पनि गुटको राजनीति अन्त्य गर्ने बताएका थिए । पदाधिकारी चयन गर्दा आफूअनुकूलको नियुक्ति गर्नु स्वाभाविक थियो । विधानले सबै पदाधिकारी निर्वाचित नगर्नुको आसय पनि यही हो तर विभाग र समिति बनाउनेक्रममा आफ्ना र अर्काका भनेर भाग लगाउँदा उनले सहमतिको राजनीति गर्दै गरेको छु भन्ने ठाने । तर, पदाधिकारीमा भाग खोज्ने पक्षले विभाग र समितिमा शेरबहादुरको आग्रहअनुसार कुनै कार्यकर्ताको नाम कहिल्यै सिफारिस गरेन । यसको परिणाम पार्टी संगठनलाई चुस्त–दुरुस्त बनाउन नसकेको आरोप उनीमाथि लाग्यो । ठीक व्यक्तिलाई उचित जिम्मेवारी दिएर विभाग र समितिमा राख्ने र बस्न नचाहनेलाई जिम्मेवारीमुक्त गरेर अर्कोलाई अवसर दिने रणनीति बनाएको भए सायद गुटको राजनीति गरेको आरोपमुक्त हुने अवसर उनलाई मिल्थ्यो ।

पछिल्ला नेतृत्वका कमजोरीलाई दोहोरिन नदिने प्रयास गर्न नसक्नु अहिलेको कार्यसमितिमा रहेका दुईतिहाइ ‘युवा’को पनि कमजोरी हो । नेतालाई गाली गरेर नेतृत्व लिनेभन्दा नेतृत्वलाई सच्याएर पार्टीलाई बलियो बनाउने अभियानमा उनीहरूले आफ्नो क्षमता र हैसियत देखाउन सकेनन् । त्यसैले गाली गर्नु र जिम्मेवारीबोध गर्नुबीचको अन्तर के हो भनेर तल्ला तहका कार्यकर्ताले पनि उनीहरूको पक्कै मूल्यांकन गरेका होलान् । युवा, तरुण वा प्रौढको राजनीति छाडेर काँग्रेसमा गुटको अन्त्य गर्ने अभियान चलाउन जरुरी छ तर सबै पार्टीमा जरो गाड्दै गएको गुटगत प्रवृत्ति काँग्रेसमा मात्र अन्त्य हुन्छ भनेर विश्वास गर्न त्यति सजिलो छैन ।

(गोरखापत्र दैनिकबाट)

प्रतिक्रिया दिनुहोस्