मंगलटार हलेसी तुवाचुङ नगरपालिकाकै सम्पन्न वडा



प्रसिद्ध पाशुुपत क्षेत्र हलेसी महादेव गुफाको उत्तर–पश्चिमतर्फ सिमाना जोडिएको हलेसी तुवाचुङ नगरपालिकाको एउटा वडाको नाम हो– मंगलटार । ऐतिहासिक राज्य पुनःसंरचनाअघि मंगलटार गाउँ विकास समितिका रूपमा रहेको यस भूगोल हाल हलेसी तुवाचुङ नगरपालिकाको ६ नम्बर वडाका रूपमा रहेको छ ।

नामकरणको हिसाबले यस भूगोलको नाम मंगलटार कसरी रहन गयो ? भन्ने विषयमा एकमत पाइँदैन । एकाथरीको भनाइलाई सुन्ने हो भने यस्तो छ, ‘यहाँ रहेको ठूलो र फाँटिलो मगरको टार भन्ने शब्दबाट अपभ्रंश हुँदै मंगलटार भएको हो ।’ अर्काथरीको भनाइ मान्ने हो भने, ‘यहाँका फाँटिला उर्वर, मलिला टारबाट अपभ्रंश हुँदै कालान्तरमा मंगलटार नामकरण हुन गएको हो ।’

समुद्री सतहबाट १२०० मिटर उचाइमा रहेको ११.५८६ वर्गकिमि क्षेत्रफलमा फैलिएको यस वडामा उर्वरका हिसाबले अब्बल माटो रहे पनि सिँचाइ अभावका कारण आशातीत खेतिपाती तथा उत्पादन गर्न सकिएको छैन । जातीय हिसाबले क्षेत्री, राई र मगरको त्रिकोणात्मक र सन्तुलित जनसंख्या रहेको यहाँ दमाई, कामी, सार्की, नेवार र सीमान्तकृत समुदायका रूपमा रहेका माझीको समेत बसोवास छ ।

रमेश राउत

अण्डाकारजस्तो देखिने आकर्षक भू–बनोटलाई तीनतिरबाट घना जंगलले ढाक्नुको साथै अर्कातिर दूधकोसी नदीको बहावक्षेत्र र खुला फराकिलो बगर क्षेत्रले घेरेको यस वडामा विभिन्न अलौकिक किंवदन्ती र इतिहास बोकेका सत्यश्वर महादेव गुफा, किरातेश्वर महादेव गुफा, भालेश्वर महादेव गुफासँगै ५० भन्दा बढी देवीदेवता तथा शक्तिपीठ रहेको पवित्र दैवीय भूमिका रूपमा मंगलटारलाई लिन सकिन्छ । हलेसीसँगै मंगलटारले पनि पर्यटकीय महत्व र सम्भावना बोकेको क्षेत्र हो । विभिन्नप्रकारको प्राकृतिक, धार्मिक, सांस्कृतिक स्रोत र सम्पदाका कारण वडाको सम्भावना चित्रण गर्न सकिन्छ ।

धार्मिक पर्यटनको सम्भावना

हलेसी महादेव गुफाबाट चार किमि दूरीमा हलेसी गुफाजस्तै आकार र प्रकृति भएका सत्यश्वर महादेव गुफा र किरातेश्वर महादेव गुफा मंगलटारमा रहेका छन् । हलेसी महादेव गुफाको किंवदन्तीसँग जोडिने पवित्र दुई गुफा जसमध्ये किरातेश्वरमा महादेवले किराती रूप (पारुहाङ) रूपधारण गरी तपस्या गरेका थिए भन्ने विश्वास गरिन्छ ।

सत्यश्वर गुफामा शिवलाई भष्मासुर राक्षसले लखेट्दा यहाँ लुक्नेक्रममा एकरात वास बसेको भन्ने विश्वास छ । जसमा नाग आकार, शंख, मादलजस्तै बजाउन सकिने वाद्यवादन शिव, पार्वती र गणेशका शिला आकृति विभिन्न आकार र प्रकारका देवल र गुफाभित्र बाह्रै महिना मूर्तिमाथि तपतप पानी चुहिरहने, हेरिरहँदा विभिन्न आकार र प्रकृतिको कल्पना गर्न सकिने प्रशस्त देवल यहाँका आकर्षण हुन् । सत्यश्वर, किरातेश्वर गुफाका साथसाथै विभिन्न किंवदन्ती र कथा बोकेका लक्ष्मीदेवी, रत्नकालिका देवी, महंकला संकला (६ कन्या) देवी, महादेवी, भालेश्वर महादेवसँगै ५० भन्दा बढी दैवी शक्तिपीठ (थान) यहाँ छन् । पूजा आरधानाका हिसाबले विभिन्न विशेषता बोकेका यी शक्तिपीठमा मकैको फूल चढाउनेदेखि बलि दिनेसमेत पर्छन् । यी शक्तिपीठमा विशेषगरी वैशाखे पूर्णिमा, मंसिरे पूर्णिमा, पञ्चमी र अन्य समयमा उपयुक्त तिथि जुराएर पूजा–आरधाना गरिन्छ ।

आफैंमा सानो र साँघुरो भूगोलमा रहेको वडाभित्र यत्तिका संख्यामा देवीदेवताका शक्तिपीठ र मन्दिर, गुफा रहनुले मंगलटार नगरपालिकाकै धेरै दैवी शक्तिपीठको वासस्थान रहेको भूमिका रूपमा लिइन्छ । जसलाई धार्मिक आस्थाको महत्वपूर्ण गन्तव्य बनाउन सकिन्छ ।

पर्यटनको प्रचुर सम्भावना

बाह्रै महिना बगिरहने पवित्र नदी दूधकोसीको पाँच किमिभन्दा बढी बहाव क्षेत्र मंगलटारमा पर्छ । यहाँ चार किमिभन्दा धेरै दूधकोसीले बगर क्षेत्र बनाएको छ । यति लामो र फराकिलो रमणीय बगर क्षेत्रले पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने सम्भावना त्यत्तिकै छ । दूधकोसीमा र्याफ्टिङ (डुंगा विहार) गर्ने जल पर्यटनको प्रचुर सम्भावना छ भने खुला बगर क्षेत्रले वनभोज स्थल, मनोरञ्जन पार्क, स्वीमिङ पुल निर्माण, फिसिङ पोन्ड र ठूला खेलमैदान निर्माण गर्न सकिन्छ ।

सँगसँगै खगोलीय हिसाबले आश्चर्यखालका किंवदन्ती बोकेको ताराखसे स्थल यस वडामा पर्छ । वरिपरि सल्ला, लालीगुराँसको जंगलले घेरी बीचमा रहेको यो ठाउँ अनुसन्धान, अवलोकन, भ्रमण, वनभोज स्थल, खेलमैदान र घुमघाम गर्ने प्राकृतिक पार्क निर्माणका लागि सम्भावना बोकेको स्थल हो । यसकारण मंगलटार पर्यटकीय गन्तव्यस्थल बन्न सक्छ ।

सांस्कृतिक सम्भावना

क्षेत्री, राई, मगर, दमाई, कामी, सार्की, नेवार र माझी जातिको बसोवास रहेको यहाँ संख्यात्मक हिसाबले क्षेत्री जातिको जनसंख्या बढी छ । जसमा बस्नेत, राउत, कार्की, कटुवाल, बुढाथोकी र खड्का रहेका छन् । प्राकृतिक मस्टपूजक हिन्दु संस्कृति मान्ने क्षेत्री जातिको कुलपूजा (देवाली) यहाँको प्रमुख आकर्षण बन्न सक्छ । प्रत्येक तीन–तीन वर्षमा ठूलो समूहको धामीझाँक्रीसाथ यहाँका बस्नेत र राउत जातिमा २०० भन्दा बढी घरले ४०० भन्दा बढी बोका बलि दिएर एकसाथ प्राकृतिक मस्टपूजा गर्छन् ।

यसैगरी, जनजाति समुदायअन्तर्गत राई र मगरको अधिक बसोवास रहेको मंगलटार मा भाषिक हिसाबले मगर भाषा आकर्षण र अनुसन्धानको केन्द्रबिन्दु बन्न सक्छ भने लोप हुँदै गएको राई भाषा र संस्कृति उँभौली र उँधौलीलाई अहिलेको पुस्ताले पुनर्जीवित गर्दै लगेको छ । यो पनि अर्को महत्वपूर्ण आकर्षणको केन्द्र बन्न सक्छ । यसको अलावा वडावासी शिल्पी समुदायले नौमती बाजा संरक्षणलाई निरन्तरता दिएका छन् । चाडबाडअनुसार फरक ताल र भाकामा बजाइने यो बाजा सिल्पी समुदायभित्रको उत्कृष्ट आकर्षण बन्न सक्छ । यसका साथै शक्तिपीठको विभिन्न प्राकृतिक पूजा आरधाना, माझी समुदायको अनौठो प्रकृतिको पितृ र अन्य शिल्पी, सीप र उत्पादनका कारण मंगलटार सांस्कृतिक आकर्षणको आकर्षक गन्तव्य बन्न सक्छ ।

प्राकृतिक स्रोत र सम्पदाको सम्भावना

धार्मिक, सांस्कृतिक र पर्यटनसँगै विभिन्न प्राकृतिक स्रोत र सम्पदा यस वडामा प्रचुर सम्भावना रहेको छ । यहाँको भौगोलिक सिमानाभित्र पर्ने दूधकोसीको बहाव क्षेत्र पाँच किमि रहेकाले बोरिङ र पम्पिङबाट यस क्षेत्रलाई सिँचाइ गर्न सकिन्छ । बगरमा गिटी, बालुवा, ढुंगा, चिप्स खानी उद्योग सञ्चालन गरी नियमित आम्दानी, रोजगारी र राजस्वको भरपर्दो स्रोत बनाउन सकिन्छ ।

यसका साथसाथै यहाँ अधिक संख्यामा पाइने सल्ला (काठ फर्निचर निर्माणमा प्रयोग), खोटो (विभिन्न औद्योगिक प्रयोजनमा प्रयोग गरिने), खयर, सखुवाको फर्निचर तथा औद्योगिक सामग्री उत्पादनमा प्रयोग गरी आम्दानी र राजस्व बढाउन सकिन्छ । यसरी अधिक प्राकृतिक स्रोत–साधन उपयोग गर्न आन्तरिक तथा बाह्य औद्योगिक लगानीकर्ताका लागि पनि महत्वपूर्ण गन्तव्य बन्न सक्छ ।

उल्लिखित विषय प्राकृतिक, धार्मिक, सांस्कृतिक र मनोरञ्जनात्मक पर्यटनसँगै फाँटिला र मलिला टार परेका बसोवास र खेतीयोग्य जमिनका कारण पनि मंगलटारलाई बजारीकरण र घना बस्तीमा विकास गर्न सकिन्छ ।

प्रशस्त मात्रामा रहेको प्राकृतिक, धार्मिक, सांस्कृतिक स्रोत र सम्पदा उपयोग गर्न सकियो भने मंगलटार नगरपालिकाकै सम्पन्न वडा बन्नेछ । जसको सार्थक उपयोगको ढोका खोल्न हामी निरन्तर अघि बढ्दै छौं ।

(लेखक, हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका वडाध्यक्ष हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्